धरान : धरानमा खानेपानीको हाहाकार छ, यसबारे धेरै लेखिरहनु पर्दैन । खानेपानी बोर्डका अध्यक्ष समेत रहेका मेयर हर्क साम्पाङले भूमिगत जलश्रोतका लागि चारकोशे जङ्गलका वेलहरूबाट पानी तान्न बिजुली खर्चको रकम फेसबुकमा राख्ने गरेका छन् ।

तर पानीको श्रोत वेलहरूको अवस्थाका बारेमा भने लुकाउने गरेका छन् । बिजुली बढी खर्च हुन्छ भनेर पम्पहरू कम चलाइन्छ । चलेका बेलहरूबाट पूर्ण क्षमतामा पानी उत्पादन गर्न मर्मत समेत गरिएका छैनन् ।

बिग्रिएका पम्पहरू, वेलका प्राविधिक कुराहरूका कारण बिजुली खर्च गरेपनि आधा पानी जङ्गलमै खेर गइरहेको छ । जङ्गलका वेलहरूमा पम्पले न्यूनतम प्रति सेकेन्ड २७ लिटर पानी तान्ने क्षमता छ । यस हिसाबले एउटा वेलमा प्रतिघण्टा ९७ हजार २०० सय लिटर पानी उत्पादन हुन सक्छ ।

धरानमा यस्ता १३ वटा वेलहरू छन् । कुम्भी आहालमा ३ वेल र चारकोशे क्षेत्रमा १० वटा वेल छन् ।

मेयर साम्पाङले २२ घण्टा सम्म पानी तान्ने मेसिन चल्ने गरेको बताउँदै आएका छन् । त्यसरी मसिन चलेको हो भने पूर्ण क्षमतामा चल्दा एउटा वेलबाट मात्र त्यति समयमा १९ लाख ४४ हजार लिटर पानी उत्पादन हुन्छ ।

तर जङ्गलको वेल नं २ विगत ८ वर्ष देखि बिग्रिएर बन्द छ । त्यहाँका कर्मचारी ईश्वर पौडेलका अनुसार वेलको पानी तान्ने प्रणालीमै खराबी देखिएको हो । त्यसलाई अहिले सम्म मर्मत गरी चालु गर्ने काम गरिएको छैन ।

वेल नम्बर ३ को गेटबल लिकेजका कारण पानी खेर गइरहेको छ । बेलका कर्मचारी अनुसार ६ महिना अघि बिग्रेको गेटबल नबनाउँदा पम्पले तानेको आधा पानी बाहिर जाने गरेको छ । आधा पानी खेर जानु भनेको प्रति दिनरात ९ लाख लिटर भन्दा बढी खानेपानी जङ्गलमै बग्ने गरेको छ ।

त्यहाँ गेटबल मर्मत गरेमा लिकेज भएको पानीले एउटा वडालाई पर्याप्त पुग्न सक्छ ।

वेल नम्बर ४ का कर्मचारी तोर्णबहादुर थापाका अनुसार लगभग ३ महिना देखी पानी तान्दा हावा फाल्ने सेन्सर मेशिन समर्सियल हेम्बर बिग्रेको छ । कम प्रेसर दिएका कारण पानी उत्पादनमा समस्या छ ।

हेम्बरबाट पानी ओभर फ्लो भई पानी खेर गइरहेको उनले बताए । पटकपटक बोर्डमा बनाउनु पर्ने जानकारी दिएको उनको भनाई छ ।

बनाउनु पर्दा पाइपको पानी सबै सुकाएर बनाउनु पर्ने त्यसको लागि २ देखी ३ दिन लाग्ने भएकाले बनाउने काम नभएको उनले बताए ।

वेल नम्बर ४ मा मूल पाइप फुटेर बिजुली खर्च गरेर पम्पले तानेको पानी खोला झैँ खानेपानी बगेको छ । उनका अनुसार मूल पाइपबाट लगभग दैनिक ५ लाख लिटर पानी बग्छ होला ।

वेल नम्बर ८ पम्पको धाराको गेट भ्यालुम बिग्रिएर पानी लिकेज भइरहेको छ । पम्पमा जेनरेटर समेत छैन । ७ नम्बर वेल पम्प सानो रहेकाले प्रति सेकेन्ड १२ लिटर पानी उत्पादन गर्न सक्छ । जेनेरेटर नभएकाले लाईन गएको अवस्थामा पानी तान्ने काम हुदैन। 

एडिबी आयोजनाको पानी सङ्कलन गरेर पिण्डेश्वर ट्याङ्की र स्वस्तिका ट्याङ्कीमा पठाउने ठाउँमा २ वर्ष देखी कम्प्रेसर बिग्रिएको कर्मचारी विवेक राईले बताए । 

रिजर्भ ट्याङ्कीमा दैनिक १३ लाख पानी स्टोरेज हुने क्षमता छ । कम्प्रेसर बिग्रेकाले पानी ओभर फलो भई बग्ने गरेको छ । त्यसरी बगेको पानीबाट बनेको पोखरीमा दैनिक १५ वटा सम्म ट्याङ्करले पानी लैजाने गरेका छन् ।

स्वस्तिका ट्याङ्कीको २ वर्षदेखि जेनरेटर बिग्रेको छ । बिष्णुचोकको टयाङ स्थित ३२० केभीको बुस्टर बिग्रेको छ । १२५ एचपि को पम्पको सट्टामा ६० एचपिको पम्पले काम चलाइएको छ ।

उक्त स्थलगत विवरण उद्योग वाणिज्य सङ्घको टोलीले गरेको अवलोकन अनुगमनको हो । अध्यक्ष विजय श्रेष्ठ सहितको टोलीले गरेको अनुगमनको रिपोर्ट मेयर हर्क साम्पाङसँग राख्ने बताइएको छ ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा भने खानेपानीको पाइप काट्ने डढेलो लाउने कुरालाई फेसबुकमा प्रचार गर्दै आएका छन् ।

कोकाह खानेपानीले सुधार भएको दाबी गर्दै शनिवार उनले ‘पम्प ल्याएर सुधार गरियो आज, अव केही सहज हुने छ; भन्दै स्ट्याटस पोस्ट गरेका छन् । म आउनु अघि असोज देखि अभाव हुन्थ्यो ! दिन रात पाइप जलाउनेहरू धेरै नरमाउनु जस्ता पोस्ट लेखेका छन् ।

उनले खानेपानी तान्ने पम्प बिग्रिनुमा विद्युत् प्राधिकरणको दोष रहेको आरोप लगाउँदै फेसबुकमा ‘कुलमानलाई फेल गराउन कृत्रिम लोडसेडिङ गरेर पानी तान्ने पम्पको लाइन डिस्टर्व गरी हर्क साम्पाङलाई पनि फेल गराउने षड्यन्त्र त भई रा’छैन’ सम्म लेखेका छन् ।

मेयरको फेसबुक पोस्टहरूले पनि धरानमा खानेपानीको हाहाकार भइरहेको कुराको भने पुष्टि गरेको छ । चुनाव अघि उनी खानेपानीको मुद्दा उठाएर चुनाव जितेका हुन् ।

चुनाव जितेर २०७९ साल जेठ १० गते मेयर पदको शपथ खाएका उनले खानेपानी आफ्नो एकमात्र मिसन भएको बताएका थिए । करिब २ वर्षको अवधिमा उनले त्यो मिसनको ‘मेशिन’ बनाउन भने सकेका छैनन् ।

dharan khanepani hahakaar 2 1