धरान : धरानमा अहिले व्याप्त खानेपानीको हाहाकारले मेयर हर्क साम्पाङ अहिले सम्म फेसबुकमा गरेको हल्ला गलत साबित भएको प्रदेश सभा सदस्य विजय राईले बताएका छन् ।

सोमवार पत्रकार भेटघाटमा उनले भने, ‘सामाजिक सञ्जालमा कोकाहाबाट पानी ल्याएपछि धरानमा पानीको समस्या छैन भनेर जुन चर्चा गरियो त्यो गलत साबित भएको छ ।’

मेयर साम्पाङले ४२ किलोमिटर टाढा कोकाहा देखी ल्याएर धरानमा पानी छताछुल्ल बनाएको भनी युट्युबरहरू मार्फत गरेको हल्ला गलत भएको बताउँदै सांसद राईले मेयर साम्पाङ ओभर डिप्लोमेटीक भएर धरान बिगारेको आरोप समेत लगाए ।

उनले मेयर साम्पाङलाई धरानमा पानीको राजनीति मात्र भयो त्यसो नगरौँ समाधानको ठोस निकास आएन भनेर सुझाव दिएको बताए ।

आफू र अर्का प्रदेश सांसद रमेश बस्नेतको पहलमा तत्कालीन समस्या समाधानका लागि डिप बोरिङ गर्न प्रदेश सरकारबाट ४ करोड बजेट ल्याएको बताउँदै भने, ‘नयाँ डिप बोरिङको ठेक्का प्रक्रिया सुरु भएको छ, अर्को वर्ष देखि त्यसबाट पानी आउँछ ।’

अघिल्लो वर्ष भन्दा यसपालि धरानमा अझ बढी पानीको हाहाकार भएको उनले बताए । आफू बस्ने धरान-११ सिर्जना मार्गमा पानीको समस्या तेती धेरै आएको थिएन तर यस वर्ष आफूले २ पटक ट्याङ्करबाट पानी किन्न बाध्य भएको सांसद राईले बताए ।

प्राविधिक समस्या हो कि भने पलम्बरलाई भेटेर के समस्या हो समाधान गरौँ, नत्र सबैतिर समान वितरण हुनु पर्‍यो भनेर कयौँ पटक आग्रह गरेको बताए । उनले भने, ‘तर पानीको समस्या हल भएन ।’

धरानमा सहरीकरण बढेकाले अझ दिनप्रतिदिन जनसङ्ख्या वृद्धि हुँदा पानीको समस्या झन् बढ्ने बताउँदै सांसद राईले भने, ‘जनतालाई सांसद जनप्रतिनिधि सबैकोमा पानी होला भन्ने लागेको हुनसक्छ तर आफूले ट्याङ्करबाट पानी किनेर खानुपरेको छ ।’

पानी किन्ने हैसियत भएकाले ट्याङ्करको पानी किनेर खान्छ, ट्याङ्करको पानी किन्ने क्षमता नभएका जनताले कसरी दैनिक जीवन चलाउँदै छन् भन्ने गम्भीर प्रश्न उब्जेको उनले बताए ।

उनले ‘सिर्जना मार्गमा मुख धुन समेत मिनिरल वाटर किनेर धुनु पर्ने अवस्था छ ।’ भन्दै प्रश्न गरे, ‘धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोच्नु पर्दैन ?’

विश्वभर रहेका नेपालीको पैसा धरानमा पानीको नाममा सङ्कलन गरेर ल्याएको पानी कहाँ गयो ? भन्दै सांसद राईले भने, ‘धराने जनतालाई बेकुफ बनाएर बर्खामा पानी जताततै खेर गएको बेला धरान भरी पानी छ भनेर पानी सामाजिक सञ्जालमा मात्र देखाएर हुँदैन ।’

सांसद राईले मेयर साम्पाङले बिना योजना जनताको पैसा बालुवामा पानी खनाएर खेर फ्यालेको आरोप लगाए ।

पानीको दीर्घकालीन समस्या समाधान गर्न स्थानीय सरकारले मात्र चाहेर नहुने उनको भनाई छ । तिनै तहको सरकार मिलेर अगाडी बढे मात्र समस्या समाधान हुनसक्ने बताउँदै भने, ‘दीर्घकालीन समस्या हल गर्न राजनीतिक सुझबुझ चाहियो, फेसबुकमा हप्काएर हुँदैन ।’

दीर्घकालीन समस्या समाधान गर्न राज्य नै लाग्नु पर्ने बताउँदै उनले कोशी वा तमोर नै उपयुक्त विकल्प रहेको बताए । दीर्घकालीन समस्या समाधान गर्न छिटोको हिसाबले कोशी विकल्प रहेको उनको भनाई छ । उनले भने, ‘तमोर बहु उपयोगी हुने तर तमोर अलि खर्चिलो र ढिलो हुनसक्छ ।’