धरान : प्रहरीले वराहक्षेत्र-७ का १८ वर्षीय सुजन तामाङ, १८ वर्षीय पर्वत तामाङ र मोरङ बेलबारी-१ का १८ वर्षीय सारुहाङ राईलाई प्रतिबन्धित लागुऔषध सहित सोमवार पक्राउ गरेको छ ।

उनीहरूलाई अस्थायी प्रहरी चौकी बाङ्गेको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट ट्रामाडोल ९५ क्याप्सुल र स्पास्पेन ९५ क्याप्सुल बरामद गरिएको छ ।

यसैगरी बेलबारी-२ का २० वर्षीय राकेश लिम्बूलाई वडा प्रहरी कार्यालय विराटनगरले बसपार्कबाट पक्राउ गरेको छ । लिम्बुको साथबाट प्रहरीले ७९ वटा एम्पुल फेनारगन, एभिल, डाईजेपाम  बरामद गरेको छ ।

यसैबिच इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ वर्षीय सन्देश बस्नेतलाई उनकै घरबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले घरको खानतलासी लिएर ट्रामाडोल ४ हजार ९३० क्याप्सुल, स्पास्पेन ५ हजार २६ क्याप्सुल डिकोलिक ४२० क्याप्सुल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

साथै झापाको प्रहरी चौकी कुन्जिबारीको गस्ती टोलीले गौरीगंज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र किरण कोचलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट ९०० मिलिग्राम ब्राउन सुगर, नाईट्राक्रस ८० ट्याब्लेट बरामद गरेको छ ।