- निनाम लोवात्ती
पाँच वर्षअघिको विश्व पर्यटन आगमन दर सन् २०१९ मा एक वर्षमा १ एक दशमलव पाँच बिलियन पर्यटकहरूले विश्वका विभिन्न देशको भ्रमण गरेका थिए । तर सन् २०२० मा ह्वात्तै घटेर केवल ४१५ मिलियन पर्यटकले भ्रमण गरे ।
सन् २०२१ मा ४०० मिलियनमा झरेको सङ्ख्या सन् २०२२ मा भने केही सकारात्मक परिवर्तन आएको थियो । अर्थात् सन् २०२२ मा एकै चोटि ९६० मिलियन मानिसहरू विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्ले ।

सन् २०२३ मा पनि विश्व पर्यटक आगमन दरमा सकारात्मक ढङ्गले बढोत्तरी भएर ९७५ मिलियन पर्यटक भ्रमण गर्न निक्लेका थिए । अब विश्व पर्यटक आगमन दर सन् २०१९ को स्तरमा पुग्नका लागि लगभग एक प्रतिशत मात्रै बाँकी रहेको छ ।
कुनै पनि देशमा विदेशी पर्यटक आगमन दर बढ्नुमा अहिलेको जस्तो सूचना, सञ्चार र प्रविधिले अति छिटो फड्को मारिरहेको पाइन्छ । पर्यटन आगमनमा सकारात्मक ढङ्गले वृद्धि हुन पर्यटन प्रवर्द्धनका लागि सूचना, सञ्चार र प्रविधिको भूमिका कस्तो रहन्छ, हुन्छ ?
त्यसरी हेर्दा सूचना, सञ्चार जुन देशको सरकार र पर्यटन व्यवसायीले पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढङ्गले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशले बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छन् भन्ने देखिन्छ ।
वि.सं २०८० पुस १९ गते यसै कारोबार दैनिकमा प्रकाशित ‘नेपाल आए २१९ मुलुकका पर्यटक’ शीर्षकको समाचारलाई एउटा उदाहरणको रूपमा लिन सकिन्छ । उक्त समाचारले देशका सरकार प्रमुख तथा पर्यटन व्यवसायीहरूले सूचना, सञ्चार र प्रविधिको प्रयोगले विश्वभरिकै पर्यटकहरूलाई आकर्षित गर्न सक्छ भन्ने देखाउँछ ।
त्यहाँ दिएको तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालमा पर्यटक भई घुम्न आउने विश्वका २१९ देशका पर्यटकहरूमध्ये ४० वटा देशका पर्यटकहरू एक जनादेखि १० जनाको सङ्ख्यामा रहेका थिए । ४१ देशका पर्यटकहरू १० जनादेखि ५० जनाको सङ्ख्यामा रहेका थिए । त्यस्तै गरेर १७ वटा देशका पर्यटकहरू ५० जनादेखि १०० जना को सङ्ख्यामा नेपाल घुम्न आएका थिए ।
सङ्ख्यात्मक हिसाबले हेर्दा विदेशी पर्यटक आगमनको सङ्ख्या एक जनादेखि एक सय जना मात्रै नेपाल आउनु भनेको कुनै गर्वको कुरो हुन नसक्ला । तर नेपाल र नेपालको जातीय विविधता, भाषिक विविधता, वेषभुषा, धार्मिक, भौगोलिक, जैविक विविधता, हिमाल, हरिया जङ्गलले ढाकेका पहाड-पर्वत, चुरे क्षेत्र, उपत्यका र मधेस, नदी, खोलानाला, चराचुरुङ्गी, वन्यजन्तु, वनस्पति आदि छन् ।
उनीहरू त्यसैको आकर्षणले आएका हुन । विश्वका ९८ देशका नागरिकहरू १ जनादेखि १०० जनासम्म पर्यटक भई नेपाल घुम्न आए । उनीहरूले त्यसरी नेपाललाई महत्त्व दिएर ‘नेपाल घुम्न वा हेर्न आउनु’ भनेको गर्व गर्न लायक कुरो हो । यसको सकारात्मक सन्देश आगामी दिनमा हामीले बिस्तारै देख्न सकिने छ ।
सन् २०२३ मा २१९ देशका पर्यटकहरू जो नेपालमा पर्यटक भई घुम्न आए । ती पर्यटकहरू आफैले पछिल्लो पटक विकसित सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर नेपाल भन्ने देश गुगलमार्फत सर्च गरेर पत्ता लगाएर आफै आएका हुन सक्छन् ।
निश्चय नै त्यसमा केही देशका पर्यटकहरू साथीभाइ र आफन्त तथा नातागोताको अनुरोधमा वा आग्रहमा पनि नेपाल भ्रमण गर्न आएका हुन सक्छन् । किनभने अहिले त सूचना, सञ्चार र प्रविधि विकासले गर्दा विश्व नै एक गाउँ ग्लोबल भिलेज भएको छ ।
तर अझै पनि हामी नेपालीहरूमा स्वदेश तथा विदेश घुम्ने त्यसरी आफ्नै देश वा विदेश घुमेर त्यहाँको प्राकृतिक सुन्दरता, जातजाति, भाषाभाषी, संस्कार, संस्कृति, वेषभुषा आदिबारे अनुभव र अनुभूति गर्ने भन्दा पनि चल-अचल सम्पत्ति जोड्नमै ध्यान जाने गरेको छ ।
विकसित र विकाशशील देशका मानिसहरूमा भने स्वदेश तथा विदेश घुम्ने त्यसरी स्वदेश वा विदेश घुमेर त्यहाँको प्राकृतिक सुन्दरता, जातीय विविधता, भाषाभाषी, संस्कार, संस्कृति, रीतिथिति, वेषभुषा आदिका बारेमा अनुभव र अनुभूति गर्ने प्रचलन बढ्दो क्रममा रहेको छ ।
नेपालीले पनि पछिल्लो पटक विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गरेर धेरैभन्दा धेरै देशका पर्यटकहरूलाई धेरै भन्दा धेरै सङ्ख्यामा नेपाल भ्रमण गराउनका लागि लागी पर्नुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागको ध्यान जान जरुरी छ ।
यसमा नेपाल पर्यटन बोर्ड (एनटीबी) र निजी क्षेत्रका पर्यटन व्यवसायीहरू जस्तै होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल ट्राभल एन्ड टुर एसोसिएसन (नाट्टा), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए), हिमालयन रेस्क्यु एजेन्सी (एचआरए), एयरलाईन अपरेटर्स एसोसिएसन अफ नेपाल (एओन), ट्रेकिङ एजेन्ट एजेन्सी अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट (नारा), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) लगायत निजी क्षेत्रका पर्यटनसँग आबद्ध अन्य सङ्घ-संस्थाहरुले पहल लिनुपर्ने हुन्छ ।
देशको मुख्य अभिभावक भनेको सरकार हो । त्यसैले गर्दा नेपाली पर्यटन प्रवर्द्धनमा पनि मुख्य जिम्मेवारी लिने र दायित्व निर्वाह गर्ने काम पनि नेपाल सरकारको नै भएकोले गर्दा नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले पनि पहल लिनुपर्ने देखिन्छ ।
आजको जस्तो सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको अवस्था छ । अझ त्यसमा पनि व्यापक प्रचलनमा रहेको फेसबुक, एक्स (ट्वीटर), म्यासेन्जर, वी च्याट, ईन्स्ट्राग्राम, ब्लग, यु ट्युब, टिकटक, ह्वाट एप्स, ईमो, टेलीग्राम लगायत सामाजिक सञ्जाल यसका प्रभावशाली माध्यम हुन ।
नेपालको पर्यटकीय स्थल, प्राचीन सहर, प्राचीन स्मारक, प्राचीन कला, प्राचीन वास्तुकलाका साथै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा अग्ला हिमालमध्ये नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका आठ वटै हिमालका प्रोफाईल, आठ हजार मिटरभन्दा कम, सात हजार मिटरभन्दा माथि उचाइ भएका हिमालका प्रोफाईल छन् ।
सात हजार मिटरभन्दा कम छ हजार मिटर उचाइ भएका हिमालका प्रोफाईल छ । छ हजार मिटरभन्दा कम र पाँच हजार मिटरभन्दा बढी उचाइ भएका हिमालका सामान्य चिनारी र प्रोफाईल बनाएर वेब पोर्टल-वेबसाइटमा राख्न सकेदेखि ‘सुनमा सुगन्ध नै’ हुन्छ ।