धरान : आदिवासी किरात समुदायको उभौली धरानमा ऐतिहासिक स्थल विजयपुरको दरबार स्थल पञ्चकन्या जङ्गलमा सोमवार बिहान किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा र युमा साम्यो, किरात धर्म तथा साहित्य उत्थान सङ्घले पूजा अर्चना गरी मनाएका छन् ।
बनको छुट्टाछुट्टै स्थान र समयमा पूजा अर्चना भएता पनि चुम्लुङ र युमा साम्योको यक्वा तङनाम पूजा स्थल र समय मात्र होइन प्रमुख अतिथि वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई एकै जना परेपछि असमञ्जको स्थिति पैदा भएको थियो ।
जङ्गल बिच एडिबीको खानेपानी ट्रयांकी खन्न रोकिएको स्थलमा चुम्लुङ र साम्योका अगुवाहरू बिहानै तयारीका लागि पुगेका थिए । चुम्लुङको निम्तोमा बिहान साढे ७ बजे पूजा स्थल पुगेका प्रमुख अतिथि वडाध्यक्ष भट्टराई दुईतिर पूजाको तयारी देखेर असमञ्जसमा थिए । 
दुवै संस्थाले आफूले पहिलो निम्तो गरेको दाबी गरेपछि वडाध्यक्ष भट्टराई अन्ततः पालै पालो दुवै संस्थाको प्रमुख अतिथि बन्न तयार भए । उनका अनुसार चुम्लुङका पदाधिकारीहरूले पूर्व स्वीकृति लिएता पनि फोनमा क–कस्ले सम्पर्क गरेका हुन चिन्न सकिएन ।
उनले भने ‘अरू वर्ष एकै ठाउँ मात्र पूजा अर्चना हुने गरेकाले यसपालि पनि चुम्लुङले बिहानै बोलाएकोले आएँ, यहाँ दुईतिर कार्यक्रम देख्दा असमञ्जसमा परेँ ।’
चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले युवा साम्योका पदाधिकारीहरुसंग औपचारिक कार्यक्रम संयुक्त रूपमा प्रमुख अतिथिको आतिथ्यमा गरी मुन्धुमी पूजा अर्चना छुट्टा छुट्टै गर्न पहल गरे । त्यसलाई युमा साम्योले स्वीकार नगरे पछि वडाध्यक्ष पालै पाले प्रमुख अतिथि बनेर औपचारिक कार्यक्रम सम्पन्न गरियो ।
चुम्लुङको कार्यक्रममा वडाध्यक्ष भट्टराईले भने ‘भाषा, धर्म, सांस्कृतिक एकै भएका लिम्बु समुदाय पूजा अर्चनाको कार्यमा विभाजित देखिनु राम्रो होइन ।’ मतान्तरका कुराहरू आपसमा बहस, छलफल गरेर निष्कर्षमा पुग्न समय लागे पनि सार्वजकिस्थलमा विभाजन नदेखाउन आग्रह गरे ।
चुम्लुङ केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले यक्वा तङनामले लिम्बु समुदाय कृषि युगमा प्रवेश गर्दाको प्रागइहिस र प्रकृतिप्रति आस्था विश्वास प्रगाढ रहेको सन्देश दिदैं आएको बताए । 
पछिल्लो समय लिम्बु समुदाय बिच देखिएको मत विपन्नतालाई सकारात्मक परिणाममुखी बनाउन व्यक्तिगत भन्दा संस्थागत  छलफल जरुरी भएकोमा जोड दिए ।
चुम्लुङ धरान उपमहानगर अध्यक्ष तीर्थ मादेम्बाले यक्वा तङनाम सबै लिम्बु समुदायको भएकाले यसमा कुनै विवाद नभएको बताए । उनले सबै साझा पर्व मिलेर मनाउन सके आपसी एकताको सन्देश जान्छ त्यसले भाषा, संस्कृतिको अधिकारका लागि राज्यसँग सङ्घर्ष गर्न बल पुग्ने बताए ।
chumlung11