विराटनगर : त्रिवि प्राध्यापक सङ्घ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् ।
सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव छन् । नयाँ नेतृत्वका लागि आवश्यक ११ सदस्यहरूका लागि शुक्रवार निर्वाचन भएको थियो । सो निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अधिकारी, मेहता, ई. यादव, चौधरी, साहू र चम्लागाईं छ सदस्यहरू विजयी भएका र बहुमत सदस्यहरूको आधारमा पदाधिकारी चयन भएका हुन् ।
अन्य सदस्यहरू नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक सङ्गठनबाट बुढाथोकी, निरौला र रेग्मी एवम् माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनबाट तामाङ र यादव विजयी भएका थिए ।
पद विभाजन पछि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक प्रा.डा. देवेन्द्र अधिकारीले एक समारोहका बिच सोमबार प्रमाणपत्र वितरण गरेका छन् ।