वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका-२ स्थित चतरा अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्र उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा जम्मा ५४ पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
हाल देशभरै रगत अभाव देखिन थालेको सन्दर्भमा रेडक्रसले रक्तदान अभियानलाई निरन्तरता दिँदै आएको छ । अस्पतालमा उपचाररत बिरामी, आकस्मिक दुर्घटना पीडित तथा अपरेशनका क्रममा हुने रगतको आवश्यकतालाई पूरा गर्न स्वैच्छिक रक्तदाताको योगदान महत्त्वपूर्ण मानिन्छ । यसै कारण चतरा अस्पताल र उद्योग वाणिज्य संघ चतरा सँगको समन्वयमा यस पटकको रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्र उपशाखाका सभापति हरिकृष्ण भट्टराईले रक्तदानलाई मानवताको सर्वोच्च दान ठहर गर्दै यसलाई अझ जनस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, 'रक्तदान जीवनदान मात्र होइन, सामाजिक उत्तरदायित्व पनि हो । यस प्रकारका कार्यक्रमले समुदायलाई एक आपसमा जोड्ने काम गर्छ ।'
कार्यक्रम सभापति भट्टराईकै अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य ममता तामाङ, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नं. २ का अध्यक्ष होम प्रसाद गौतम, चतरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन अधिकारी, उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष कृष्ण प्रसाद कटेललगायतका विशिष्ट पाहुनाको उपस्थिति रहेको थियो ।
त्यस्तै विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, स्वयंसेवक र रेडक्रसकर्मीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रमले चतरासहित वराहक्षेत्र क्षेत्रका स्थानीय बासिन्दामा रक्तदानप्रति थप जागरण फैलाएको सहभागीहरूले जनाएका छन् ।
कार्यक्रममा सहभागीहरूले रक्तदानलाई नियमित अभियानका रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे । नगर प्रमुख रमेश कार्कीले स्थानीय तहले पनि यस्ता मानवतामूलक अभियानलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य तामाङले भने, 'समाजलाई सेवा गर्ने सबैभन्दा ठुलो अभ्यास रक्तदान हो । यसलाई अभियानकै रूपमा अगाडि बढाउन आवश्यक छ,' भन्दै निरन्तरताको आवश्यकता औँल्याइन् ।