आसफोड: बेलायतवासी याक्थुङ(लिम्बु) समुदायमा साँस्कृतिक जागरण ल्याउन याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले बृहत साँस्कृतिक सम्मेलन गर्ने भएको छ ।
नयाँ पुस्तामा समुदायको साँस्कृतिक ज्ञान हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । आसफोर्डमा सम्पन्न आफ्नो नवौँ वार्षिक साधारणसभामा भावी कार्ययोजना प्रस्तुत गर्दै शाखा अध्यक्ष टङ्क येङ्देनले डिसेम्बरमा हुने चाःसोक तङ्नामका अवसरमा साँस्कृतिक सम्मेलन आयोजना गर्न आफू प्रयासरत भएको बताए । ‘सम्मेलनमा याक्थुङ समुदायका सबै साँस्कृतिक पहिचान झल्काउने प्रस्तुतिहरू हुनेछन्,’ उनले भने, ‘प्राज्ञिक बहसदेखि साँस्कृतिक अुनष्ठानहरू पनि गर्ने सोँच रहेको छ ।’
सम्मेलनमा बेलायतभरका साँस्कृतिक समूहहरूलाई निम्ता दिने बताए । उनले भविष्यमा युवा पुस्तालाई लक्षित गरेर भाषिक र साँस्कृतिक कक्ष सञ्चालन गर्न लागिरहेको जानकारी गराए । आसफोर्ड शाखालाई गत जुलाई चुम्लुङ देनमा सम्पन्न सिसेक्पा तङ्नाम उत्सवका अवसरमा उत्कृष्ट शाखाका रूपमा केन्द्रले चुम्लुङ अवार्डले पुरस्कृत पनि गरेको थियो । सोही दिन आसफोर्ड केलाङ समूहले यूकेव्यापी केलाङ प्रतियोगिताको उपाधि पनि हात पारेको थियो । आसफोर्ड र केन्ट काउन्टी याक्थुङहरूको सघन बसोबास भएको क्षेत्रमा पर्छ ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि चुम्लुङ यूकेका उपाध्यक्ष छत्र वनेमले सँस्कृति संरक्षणमा संस्थागत भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनले याक्थुङ समुदायका विविध विषयहरूमा भइरहेको बहसलाई सकारात्मक रूपमा लैजानुपर्ने बताए । त्यस्तै, महासचिव गणेश इजमले चुम्लुङ देन(जग्गा) खरिद गरेपछि चुम्लुङकर्मीहरूको काँधमा थप जिम्मेवारी बढेको जनाए । चुम्लुङ यूकेका पूर्व अध्यक्ष डम्मर सिङ्गकले युवा पुस्ताको अर्थपूर्ण सहभागिताका लागि युवा कमिटी निर्माण गरेर चलायमान गराउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा केन्द्रीय सदस्य पूर्ण मादेन, सल्लाहकारहरू लोकेन्द्र तबेबुङ, राजेन्द्र खिम्दिङ, देव हुक्पा चोङवाङ, नरेन्द्र मावोहाङ, निर्मल पतङ्वा, लिम्बुवान नागरिक समाज यूकेका महासचिव लाहाङ चेम्जोङ लगायतले विचार राखेका थिए । यसअघि, सचिव दिवस थोप्राले प्रस्तुत गरेको वार्षिक संस्थागत प्रतिवदेनलाई पारित गरिएको थियो । यस्तै, कोषाध्यक्ष सुन्दर लिङ्थेपद्वारा प्रस्तुत कुल ११,१२६.९९ पाउण्डको आय, कुल ४,९७१.८० पाउण्डको व्यय भई कुल ६,१५५.१९ पाउण्डको बचत भएको आर्थिक प्रतिवेदन पनि पारित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष सोदिप थोप्राले स्वागत मन्तव्य दिएका थिए । साधारणसभामा आएका सुझावहरूलाई समेटेर शाखाले एक वर्षको कार्यनीति र योजनाको प्रारुप तयार पार्ने सचिव थोप्राले बताए ।