इटहरी : इटहरी उपमहानगरपालिकामा कर्मचारीको पारिश्रमिक र कार्यक्रमको खर्चले आर्थिक व्ययभार बढाएको देखिएको छ । विगत ५ आर्थिक वर्षको तुलनात्मक रूपमा हिसाब गर्दा पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा अत्यधिक खर्च भएको पाइएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा ६० करोड ७९ लाख ६२ हजार कुल चालु खर्च मध्ये कर्मचारी पारिश्रमिकमा १८ करोड १४ लाख २२ हजार खर्च भएको थियो । त्यस बेलाको बजेटमा आन्तरिक श्रोतबाट ३८ करोड ६४ लाख र सङ्घीय सरकार अनुदानबाट ७७ करोड ९१ लाख प्राप्त भएको थियो । कार्यक्रम खर्च जम्मा ७ करोड ७७ लाख ९५ हजार र विविध कार्यक्रम खर्च २१ लाख ५ हजार भयो ।
सोही आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा भने पारिश्रमिक खर्च २५० प्रतिशत भन्दा बढी छ । कुल ९४ करोड ४८ लाख १७ हजार चालु खर्च मध्ये ४६ करोड १४ लाख १७ हजार कर्मचारीको पारिश्रमिकमा खर्च भएको हो । कार्यक्रम खर्चमा भुक्तानीको समस्यामा बाबजुद पनि १९ करोड १६ लाख १९ हजार र विविध कार्यक्रममा भने ५ करोड ८४ लाख ५९ हजार खर्च भयो ।
गत आबमै पुँजीगत तर्फ १ अर्ब १७ करोड ७७ लाख ८८ हजार खर्च भयो जुन कुल पुँजीगत बजेट २ अर्ब २६ करोड ९४ लाख ८८ हजार को ५२ प्रतिशत मात्र हो । त्यसमध्ये सबैभन्दा धेरै अन्य सार्वजनिक निर्माणमा ५४ करोड ३७ लाख ४३ हजार खर्च भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल चालु खर्च ८३ करोड १२ लाख मध्ये पारिश्रमिकमा ३५ करोड ३ लाख १३ हजार खर्च भएको थियो । त्यस बेला आन्तरिक श्रोतबाट ५६ करोड ४४ लाख ५४ हजार आम्दानी भयो । १ करोड ३० लाखको मेसिनरी औजार, ९२ लाखको सवारी साधन र ५२ लाख ५० हजारको फर्निचर खरिद भएको थियो । कोभिड महामारी भएको कारण उद्धार तथा राहतमा २ करोड ३४ लाख खर्च भएको थियो । कार्यक्रम खर्च शीर्षकमा १४ करोड ३७ लाख ८ हजार र विविध कार्यक्रममा ३० लाख खर्च भएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा ८४ करोड ४४ लाख ८२ हजार चालु खर्चमध्ये ३७ करोड ५७ लाख ८९ हजार कर्मचारी पारिश्रमिकमा खर्च भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा पारिश्रमिकमा दुई करोड बढी खर्च गरेको उपमहानगरपालिकाले अन्य भत्ता शीर्षकमा १ करोड ३७ लाख खर्च गर्यो । १७ करोड ७३ लाख ८ हजारको कार्यक्रम गरेर सोही वर्ष आन्तरिक श्रोतबाट भने ६० करोड ८२ लाख ७० हजार जम्मा भएको देखिन्छ । उद्धार राहत र पुनर्स्थापनामा भने १ करोड ८७ लाख खर्च भयो ।
स्थानीय तह निर्वाचन भएको पहिलो वर्ष २०७९/८० मा पारिश्रमिक खर्च अघिल्ला वर्षहरूको तुलनामा ह्वातै बढ्यो । ८९ करोड ८२ लाख ५१ हजारको चालु खर्च मध्ये ४३ करोड ११ लाख २९ हजार पारिश्रमिकमा मात्रै खर्च भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ५ करोड बढी हो । अन्य भत्तामा भने एक करोड ५३ लाख पुगेको थियो । मसलन्दमा पनि सोही अनुपातको एक करोड ६६ लाख खर्च भयो । १३ करोड ८७ लाख ३४ हजारको कार्यक्रम खर्च भयो ।
आर्थिक वर्ष २०८०/८१ मा ४० करोड ८२ लाख २३ हजारमा सीमित भएको पारिश्रमिक खर्च भयो । कार्यक्रम खर्चमा २० करोड ९१ लाख ५२ हजार पुगेको थियो । पारिश्रमिक तर्फ अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ६ करोडले वृद्धि भएको हो ।
कार्यक्रम खर्च मार्फत उद्घोषण तालिम, क्षमता अभिवृद्धि, प्रशिक्षण लगायत अन्य विभिन्न शीर्षकमा खर्च हुने गरेका छन् । जसको उपलब्धि र प्रभावकारितामा प्रश्न उठ्दै आएको छ । सामाजिक क्षेत्रमा सक्रिय विभिन्न संस्थालाई व्यवस्थापन गर्नको लागि यस्ता कार्यक्रम आयोजना गर्ने गरेको उपमहानगरपालिकाले यस बापत के उपलब्धि भयो भन्ने ठोस आधार तयार पारेको छैन ।