काठमाडौँ : नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ बिहीबार बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।
गृह सचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयको तर्फबाट खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उहाँलाई नेपाल प्रहरीको सर्वोच्च पदमा औपचारिक रूपमा स्वागत गरे ।
समारोहमा बोल्दै गृह सचिव दुवाडीले क्षमता, कार्यदक्षता र जेष्ठताका आधारमा खापुङलाई प्रहरी सङ्गठनको सर्वोच्च जिम्मेवारी दिइएको स्पष्ट पारे ।
'मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न अपराध नियन्त्रण गर्नु प्रहरीको मुख्य जिम्मेवारी हो,' उनले भने, 'आम नागरिकले सुरक्षित छु भन्ने महसुस गर्न पाउनु नै हाम्रो सबैभन्दा ठुलो कर्तव्य हो ।'
उनका अनुसार प्रहरी सङ्गठन आम नागरिकको नजिक रहँदै उनीहरूको सु:खदु:खको साथी बन्न सक्नुपर्छ । 'नेपाल प्रहरीको साख अझ उच्च बनाउन सफल हुनुहोस् भन्ने हाम्रो अपेक्षा छ ।'
गृह सचिव दुवाडीले हाल समाजमा नयाँ-नयाँ खालका अपराध गतिविधि चुनौती बन्दै गएको बताउँदै ती सबैलाई नियन्त्रण गरी सामाजिक न्याय स्थापना गर्न प्रहरी सङ्गठनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले सक्दो राम्रो गर्ने तर नराम्रो काम नगर्ने प्रतिबद्धता जनाए ।
'सकल दर्जाको हित र संस्थागत सुधार मेरो प्राथमिकता हुनेछ,' उनले भने, 'अपराध अनुसन्धानमा चुनौती बढिरहेका छन् । कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार आवश्यक छ ।'
तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म आइपुगेको स्मरण गर्दै उनले नेपाल प्रहरीलाई प्रविधि र स्रोत-साधनले सम्पन्न बनाउन निरन्तर प्रयास गर्ने बताए ।
सुशोभन समारोहमा सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, गृह मन्त्रालयका अधिकारीहरू तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।