धरान : गङ्गा जल ब्रान्डको बोतल बन्द ‘पिउने पानी’ बाहिरबाटै देखिने गरी फोहोरको किरा सहित बजारमा विक्री वितरण भएको समाचार मिडियामा आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रणको टोली सक्रिय भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले सोमबार धरान प्रवेशको मुख्य नाका तीनकुनेबाट भित्रने पिउने पानीको र दूधजन्य पदार्थ अनुगमन गरेको छ ।

अनुगमन टोलीले ८ वटा पानी उद्योगका १५६ वटा जार नष्ट गरेको छ । नष्ट गरिएकामा  इटहरी–२ स्थित गौमुखी गङ्गा जल प्रालीको  ५६ वटा जार  नष्ट गरिएको छ ,जय नेपाल जल उद्योग तरहराका ११ वटा जार ,दिव्येश्वरी जल उद्योग इटहरीका २० वटा जार ,पारिजात जल उद्योगको २९ वटा जार , हलेसी एक्वा तरहराको  ४१ वटा पुरानो जार नष्ट गरिएको छ ।

टोलीले जार लिएर आएका सवारीका कर्मचारीलाई पुरानो र लेबल विनाको जारमा पानी बिक्री नगर्न निर्देशन दिएको छ ।ती उद्योगहरूले उत्पादन गरेको पिउने पानीको जार फोहोर, कुच्चिएको, पुरानो भेटिएपछि जारहरू नष्ट गरिएका हुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरकी खाद्य अनुसन्धान अधिकृत प्रकृति बस्तीका अनुसार ८ वटा पानी उद्योगका १५६ वटा जार नष्ट गरिएको बताइन् ।

उनका अनुसार धरान भित्रिने पिउने पानीका उद्योगहरूको पानी जारमा अधिकांश पुरानो, कुच्चिएको, फोहोर र लेबुल बिनाका जार भेटिएको छ । उनले भनिन् ‘कामै नलाग्ने जार तत्काल नष्ट गरेर लेबुल नभए पनि प्रयोग गर्न मिल्ने जारहरू लेबुल लगाएर मात्र बिक्री गर्न निर्देशन दिएर फिर्ता दिइएको छ ।’

अनुगमन गरिएका ८ वटा कम्पनीका गाडीहरू धरानमा पानी आपूर्ति गर्न नपाई सबै फिर्ता भएका थिए । अनुगमन टोलीका अनुसार गौमुखी गङ्गा जल प्रालि इटहरीको ५६ वटा पुरानो जार नष्ट गरिएको छ । लेवल लगाएर सुधार गर्न र ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

आइतबार गङ्गा जलको पिउने पानीको सिल प्याक बोतलभित्र किरा भेटिएको उपभोक्ताले गुनासो गरेको विषयमा यथार्थ बुझ्न उक्त उद्योगको पानीको नमुना सङ्कलन गरेर लगिएको अधिकृत बस्तीले बताइन् ।

उपमेयर अइन्द्रबिक्रम बेघाले अनुगमन उद्योगी, व्यवसायीहरूलाई दुःख दिन र आतङ्कित गर्न नगरिएको उल्लेख गर्दै उपभोक्ताको स्वास्थ्यको हितको लागि, बजारलाई अनुशासित र मर्यादित बनाउन अनुगमन गरिएको बताए ।

सरकारले तय गरेको मापदण्ड अनुसारका पिउने पानी बिक्री वितरण गर्न व्यवसायलाई उत्प्रेरित गर्न अभियानलाई साथ र सहयोग गर्न व्यवसायीहरुसंग उनले आग्रह गरे ।अनुगमन टोलीले दूधको तत्काल मोवायल ल्याबमा परीक्षण गर्दा मिसावट नभएको पाइएको छ ।

anugaman-2