धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टर को श्रीमान् र उपचारमा आएर डिस्चार्ज भएका एक जना गरी दुई जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बायो केमेस्ट्री विभागमा कार्यरत एक जना डाक्टरका श्रीमानमा कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ । उनी केही दिन अघि विरगंञ्ज घर गएर आएको खुलेको छ ।

यसै गरी सर्जरी वार्डको युनिट २ मा उपचार गर्न आएका एक जना बिरामीमा पनि कोरोना पुष्टि भएको छ । विराटनगर निवासी एक पुरुषको शल्यक्रिया गर्नका लागि प्रतिष्ठानमा उपचाररत रहेकोमा उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ । उनको अप्रेसन गर्नका लागि तयारी गरिरहँदा थाईराइड बढेकोले डिस्चार्ज गरिएको क्वीक रेस्पोन्स टिमका डा. विजय खनालले बताए ।

उनका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आएका युवाको एक साता अघि धुलिखेलमा पनि कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर पछिल्लो पटक बीपीमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । उनलाई विराटनगरमै आइसोलेसनमा भर्ना गरिसकिएको बताइएको छ ।

सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकहरूको अहिले कनट्र्याक्ट ट्रेसिङ भईरहेको डा. खनालले बताए ।