धरान : कोरोना महामारीका कारण ६ महीनादेखि ठप्प रहेका आन्तरिक उडानहरु सोमवारबाट शरू हुँदैछन् ।

असोज ५ गतेदेखि उडान शुरू हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्सले गत शुक्रवारदेखि नै बुकिङ खुला गरेका थिए । आइतवारसम्म ७० देखि ७५ प्रतिशत सीट बुकिङ भइसकेको विमान कम्पनीहरूले बताएका छन् । श्री एयरलाइन्सले भने १२ दिनपछि मात्रै बुकिङ खुला गर्ने कम्पनीले जानकारी दिएको छ।

नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले मुलुकका देशका विभिन्न १० ओटा गनतव्यमा आन्तरिक तर्फको उडान गर्ने गरी तालिका सार्वजनिक गरेका हो।

सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पुर्‍याइ सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध गरिएको छ । विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दूरी, विमान चढ्नु अगावै ह्यान्ड स्यानिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलसहित उडान हुने गन्तव्य विमानस्थलहरूमा पनि सोहीअनुसार सुरक्षा मापदण्ड लागू गरिएको प्राधिकरणको भनाइ छ ।

वायुसेवा कम्पनीहरूले पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाई भाडा भने नबढ्ने भएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडान हुने वायुसेवा सञ्चालन संघले जानकारी दिएको छ । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए ।

यसअघिको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडानमा ५० प्रतिशत यात्रु राख्ने तर भाडा भने बढि लिन सक्ने निर्णय गरेको थियो । तर, व्यवसायीहरूले भने सरकारको उक्त निर्णय अवैज्ञानिक भएको र ५० प्रतिशत यात्रु राखेर जहाज सञ्चालन गर्न नसकिने अडान लिएका थिए । व्यवसायीहरूको अडान पछि शुक्रवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेको हो । त्यसपछि वायुसेवा कम्पनीहरूले असोज ५ गतेदेखि उडान सञ्चालन गर्न सहमत भएका थिए ।

प्राधिकरणले शुरूको १ साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । अवस्था हेरेर उडान संख्या वृद्धि गरिने कम्पनीहरूले जानकारी दिएका छन् ।

अन्तरराष्ट्रिय उडान भने केही शर्तसहित भदौ १६ देखि सञ्चालनमा आएको थियो । सरकारले अन्तरराष्ट्रिय उडानको हकमा असोज १५ पछि आवश्यकताअनुसार थप गर्ने निर्णय गरेको छ ।

विराटनगरबाट काठमाडौँका लागि पाँच उडान 

कोरोना महामारीका कारण ६ महिना पछि खुलेको आन्तरिक हवाई उडानको पहिलो दिन सोमबार विराटनगरबाट काठमाडौँका लागि पाँच वटा हवाई उडान हुने भएका छन् ।

सोमबार बुद्ध एयरलाइन्सले तीन र यती एयरल्यान्सले दुई पटक उडान भर्ने भएका हुन । विराटनगर विमानस्थलका प्रमुख उत्सव पोखरेलका अनुसार विराटनगरबाट काठमाडौँका छ महिना भन्दा बढी समयपछि पाँच उडान हुदैछन् ।

पाँच उडानका लागि अधिकांश टिकट बुक भइसकेको एयरलाइन्सले जनाएका छन् । विमानस्थल प्रशासनले आन्तरिक उडानका लागि सुरक्षाका पुर्ण सतर्कता अपनाएको जनाएकाे छ ।