धरान : मित्र राष्ट्र चीनको बुहानबाट सुरु भएको भाइरसले मलाई पनि भेटेरै छाड्यो  ।

केही दिन अघि सम्म म ठिकठाक नै थिए । मेरो दैनिकी चलिरहेकै थियो । एकाएक पछिल्लो समय मेरो स्वास्थ्यमा समस्या देखियो । विश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसबाट अन्ततः म पनि सङ्क्रमित हुन पुगें ।

कोरोना भाइरस कोभिड-१९ रिपोर्ट पोजेटिभ आएपछि म १४ दिनको लागि घरमा नै होम आइसोलेसनमा बसें । पहिला कोरोनाको डरले त्रसित भएको मन बहलाउन निकै गाह्रो भयो । दैनिक मेरा शुभचिन्तक साथीभाइ आफन्तजनको बोली,फोन सम्पर्क, सन्देश, शुभकामना तथा हौसलाले औषधीकै रूपमा काम गरेको अनुभूति मिल्यो। बिस्तारै-बिस्तारै कोरोना मलाई लागेको भए पनि साथीभाइको सोधी खोजी र शीघ्र स्वास्थ्य लाभको कामना भन्ने सन्देशले मलाई कोरोनासँग जुध्ने ठुलो हिम्मत, आँट र भरोसा मिल्यो ।

असोज १९ गते कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखिएकाले धरान-१७ स्थित एन्फा क्वारेनटाइनमा स्वाब परीक्षण गराएको थिए। रिपोर्टको पर्खाइमा थिए। पहिला पनि  मौसम परिवर्तन हुँदा ज्वरो आउने, घाँटी दुख्ने रुघा मर्गि लाग्ने गर्दथ्यो । त्यसैले रिपोर्ट नेगेटिभ आउँछ, भन्ने कुरामा आफू विश्वस्त थिए ।

२० गते धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताको सम्पर्कमा थिए । दिउँसो फोनमा उहाँले भन्नु भयो-“रिपोर्ट राति आउँछ, आउन साथ म जानकारी गराउँछु।" मैले भने जानकारीका साथ साथै मलाई  रिपोर्ट पोजेटिभ नेगेटिभ जे आउँछ, सो को प्रतिलिपि पनि चाहिन्छ । उपलब्ध गराई दिनु ल सर भने । उमेश सरले 'हुन्छ' भन्नु भयो ।

त्यसै दिन साँझ ७ बजे तिर कपुरी न्युज डटकमका अध्यक्ष मात्रिका प्रसाद नेपाल सरले फोन  गर्दै भन्नु भयो - 'सञ्जीता लु बधाई छ' मैले 'किन सर' ? भने ।  जवाफमा रिपोर्ट पोजेटिभ आएछ, कता छौ अहिले ?  यो कुरा सुनेर रुनु न हाँस्नु भए । तिन छक्क परे । एक छिन त मौन भए । अनि अक्मकिँदै मैले भने उम..  कहाँ आउँछ अहिले रिपोर्ट राति १०/ १२ बजे आउँछ रे  भर्खर मैले उमेश सरलाई सोधेको भने । सरले लु हैन भने  विजयपुर चोकमा गएर नाच न त भन्नु भयो । 

मैले भैरब सरलाई सोध्छु भन्दै फोन काटे । मन मनै सोचे सरले मलाई  त्यतिकै जिस्क्याउनु भएको होला मन चोरेको होला । मैले सोचे कसरी सरलाई  यो कुरा पहिला थाहा भयो ?  उमेश सरले म भन्छु भन्नु भएको थियो । फेरि पनि सोचे हैन मात्रिका सरले यस्तो स्वास्थ्य सँगको कुरामा झुट बोल्नु भयो होला र ? भन्ने लाग्यो  बरु रिपोर्ट छिटो आयो होला की लाग्यो ।

कपुरी न्युजका सम्पादक भैरब आङ्ला सरलाई हो हैन बुझ्न फोन गरे । तर, फोन लागेन । यतिकैमा क्लिक धरान डटकमका सम्पादक रोहित राई सरले कल गरेर भन्नु भयो-बहिनीले पनि स्वाब परीक्षण गराएको थियौँ ? हजुर सर भने । पोजेटिभ आएछ भनेर कल गरेको नि भन्नु भयो । ए.... ला हो र ? भने । झन् मानसिक त्रास पहाड झैँ बन्यो । ला..... अब मलाइ एम्बुलेन्सले लान्छ होला ....मनमनै सोची रहेको थिए ।

रोहित सरले केही हुँदैन बहिनी बेसार पानी गुर्जो खानु भन्नु भयो ।  रोहित सरलाई रिपोर्ट मागे । फेसबुकमा हालिदिन्छु भन्नु भयो । सरले पठाएको रिपोर्ट हेर्न फेसबुक खोले भैरब सरले रिपोर्ट सहितको म्यासेज पठाउनु भएको रहेछ । म्यासेजमा नानी केही हुँदैन  नआत्तिनु नडराउनु  है लेखिएको थियो । फेरि रोहित सरले पठाएको रिपोर्ट हेरे ।

अनि उमेश सरलाई फोन गरे उहाँले रिपोर्टको जानकारी गराउन निकै  अप्ठ्यारो मानेर मात्र रिपोर्ट पोजेटिभ आएको बताउनु भयो । मैले भने सबैलाई लागिरहेको छ । अप्ठ्यारो नमानीकन भन्नु नि पोजेटिभ आयो नि ? मेरो रिपोर्ट सर भने  मेरो कुराले सर हाँस्नु पनि भयो ।

भैरब सरलाई कल गरे । सरले एक दिन हामीलाई  पनि  लाग्छ । सबैलाई लाग्छ । तिमीलाई पहिला लागेको हो नडराऊ केही हुन्न बाबु .... तातो-तातो सुप खानु बाफ लिनु ठिक हुन्छ भन्नु भयो । 

रातको ९ बज्न लागेको थियो । खाना भने रुचेन । दिउँसो सम्म सँगै बसेका परिवार अलगिन थाले । कलहरु म्यासेजहरु सबै तिरबाट आउन थाले । अनि मात्र परिवारमा कोरोना लागेको जानकारी गराए । नडराउनू, मलाई केही हुँदैन, मैले भनेँ.... तर मेरो परिवारले विश्वास गर्नु भएन ।

सम्भवतः उहाँहरूले यतिविधि मलाई अविश्वास गरेको पहिलो पल्ट हो । म कोरोना पोजेटिभ भन्ने खबर वेगमा फैलियो । आइसोलेसनमा खास गाह्रो भएन । स्वाभाविक रूपमा कोरोनाले  शरीर कमजोर हुन्छ, झन् ३ दिन डाइरिया भयो ।  मलाई महिनावारी पनि भएको थियो । कमजोरी अनुभूत भयो । टाउको दुख्यो । जीउ दुख्यो । घाँटी धेरै दुख्यो ......मेरो प्यारो काका/काकी दशरथ / शितु धमलाले मलाई कोरोना केही हैन ज्वरो रुघाखोकी जस्तै हो । पहिला झन् कस्ता कस्ता रोगहरू थिए । तलाइ सुगर प्रेसर  छैन केही हुँदैन भनेर २ जनाले सम्झाउनु भयो । त्रसित मनले अलिकति राहत पायो । अनि मेरो चिन्ता नलिनु लक्षणहरू छैन भने  मैले भन्दा काकाले मलाई माया गरेर भुन्टी भन्नुहुन्थ्यो । काकाले भुन्टी तँलाई के भा को छ र ? निको नहुनलाई ? आराम गरेर यो समयको सदुपयोग गर  न भन्नुभयो ।

काकालाई मैले सोधे म सँग सम्पर्कमा आएका धेरै छन् उनीहरूलाई  जानकारी के भनेर गराउनु ? काकाले तँलाई कस्तो छ ? लक्षणहरू छ ? भन्नुभयो । मैले छैन भने । लक्षणहरू छैन  सामान्य छु सतर्कता अपनाउनु भन हजुहरुलाई लक्षणहरू देखा परे परीक्षण गर्नु भन भन्नु भयो । 

जाँदा सँगै नगए पनि आउँदा चैँ स्कुटरमा सँगै आएकाले पत्रकार दाइ पारस राईलाई फोन गरेर सोधे उहाँको चैँ नेगेटिभ आएछ । दादाले अनि मलाई थाहा थियो ४ चोटि पिसिआर गरिसकेऊ भनेर भन्नु भयो । हाँस्दै भने होलसेलमा परीक्षण गर्दा परेको हो ।

घरमा गाई फर्म र विजयपुरमा सागसब्जी र फलफूल दोकान भएकाले म घरमा नै बस्दा असहज हुन्छ  की भनेर अस्पताल बस्ने की होटलमा बस्ने भन्ने कुरामा आनाकानी भयो ।  पत्रकार महासङ्घका अध्यक्ष अमर खड्का सरले मलाई सोध्नु भयो नडराउनु आत्मबल दरो पार्ने, घरमा समस्या छ भने हामी व्यवस्था गर्छौ । मामु दिदीहरू सुतिसकेकाले अस्पताल, होटल अथवा घरमा नै बस्ने ३ कुरामा निर्णय लिन गाह्रो भयो ।  अमर सरलाई सबै सुतिसक्नु भयो परिवारमा सल्लाह गरेर भोलि भन्छु भने । मात्रिका सरलाई सर कहाँ बस्नु ? भनेर सोधे, सरले अस्पतालमा वा होटलमा बस्दा हेलचेक्राँई हुन्छ, एक्लो महसुस हुन्छ, नजाऊ घरमा बस अन्त नजानु  है भनेर सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष गोविन्द बस्नेत सरले संजीता चिन्ता लिने हैन निको हुन्छ  भन्नुभयो । हामी महासङ्घबाट भेट्नु आउँछौ भन्नुभयो ।  कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेर सरले संजीता  स्वास्थ्य लाभको कामना छ तिमीलाई । बस्ने कुरामा चैँ के गर्ने ? भनेर चिन्ता होला त्यस्तो छ भने हामी सल्लाह गर्छौ भन्नुभयो । महासङ्घले आफ्नै खर्चमा होटलमा पनि राख्छौ भन्नुभयो । अन्य पत्रकारिता क्षेत्रमा आबद्ध अग्रज सर मेमहरूको फोन भने आउने क्रम जारी थियो । रातको ११ बजे छ । निदाउँछु भनेर आँखा चिम्लन्छु खटपटले निन्द्रा भने लाग्दैनथ्यो ।

बिहान भयो । दोकान नखोल्ने निर्णय भयो । सबै परिवारको पिसीआर परीक्षण गर्ने निष्कर्ष भयो । पूर्वानुमान र तयारी नभएकोले परिवारका अन्य सदस्यलाई पनि सर्छ कि भन्ने विषयमा चाहिँ विशेष सजगता र सतर्कता सुरुदेखि नै थियो ।

आफूलाई लागेपछि पनि अरूलाई सर्न नदिने विषय महत्त्वपूर्ण भयो । सधैँ  काम गर्न जाने सबै परिवार  एउटै घरमा देख्दा रमाइलो लाग्थ्यो । तसर्थ सावधानी र सतर्कता अपनाएर सामाजिक दुरी कायम गरेर परिवारलाई पनि सर्नबाट बचाउन सकेकोमा चाही बढी खुसी महसुस भएको छ मलाई अहिले । आइसोलेसनमा बसेपछि चाहिँ घरपरिवारबाट मिल्ने हौसला, सहयोग, मनोबल बढाउने कुरा त छदै थियो । 

मावलकी हजुरआमा भने  चिन्ताले खाना नरुचेको सुने घरकी हजुरआमा पनि फोनमा रुनु भयो । साइला काका काकी पनि चिन्तामा पर्नु भयो । मलाइ कोरोना लागेर म चिन्तित थिए । मेरा आफन्तहरू पनि चिन्तामा पर्ने नै भए ।  उहाँहरूको चिन्ता मेरो लागि हौसला बन्यो ।

उल्लेखनीय समय, साथ र सहयोगहरू :

सुनेको  थिए कोरोना सङ्क्रमण भएपछि कोही भेट्न आउँदैनन् तर,आफूले भोगेको कुरामा फरक पाए । 

१४ नम्बरका वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई मामाहरू पिपला,अमला सुठो आदी लिएर भेट गर्ने आउनु भयो । पत्रकार महासङ्घबाट अमर सर गोविन्द सर एक काटुन् अण्डा लिएर भेट्न आउनु भयो । आइसोलेसनमा  मैले सृजनशील कुरामा समय खर्चिएँ । समयको सदुपयोग गरे । २ वटा पुस्तक पनि पढे । टाइपिङ गर्थे, कविता पनि लेखे ।

ब्लाष्ट राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ सरलाई पनि कोरोना पोजेटिभ भएको थियो । सरले आफ्नो अनुभव सुनाएर ३ पटक बाफ लिनु आत्मबल दरो पार्ने भन्नु  भयो । समय बहलाउन सकस हुँदा मलाई  उहाँले  ४ फिल्म चक डस्टर, अङ्कुर अरोरा मडर केस, जुली एलएलबी र द वइनस्डे  आदी फिल्म हेरे तिम्रो पेसामा थप काम लाग्छ भन्नु  भयो । यसको साथै केही सुन्न मौका नपाएका राम्रा गीतहरू पनि सुने ।

धमलाको घरमा कोरोना छ । दूध नलिनु भनेर हल्ला फैलिएछ ।  घरमा १ हप्ता सम्म दूध बजार पनि लगेनौ । दिनमा ४० लिटर दूधको घरमा विभिन्न प्रकारहरू बनाएर खायौ । दूधका ठेक्काका सबैले सबैलाई कोरोना लागेको छ, ऊ अलग्गै छ भने दूध उनले  छोएको हुँदैन भनेर लिनु भयो । जुन ठुलो गुण थियो ।

म  सङ्क्रमित थिए । सबै कुरा  मलाइ लगभग स्वीकार्य थियो । वास्तवमा म सावधानी साथ बसेको थिए ।  अचम्म भने यस विषयमा परे पढेका शिक्षित वा समाजका अगुवा मानिनेहरू घरको आँगनमा आएर हौसला दिनुको साटो  कोरोनाले कलेजो किड्नी मुटु र फोक्सोमा असर गर्ने १० वर्ष आयु घट्ने बताए । यस्तो कुराले भने मलाई खुब पिरोल्ने गर्दथ्यो ।

पत्रकार रत्न आचार्या , देवेन्द्र कार्की , शेखर योगी , पवन अधिकारी , धनबहादुर पुरी सरहरूले भने  दैनिक रूपमा स्वास्थ्य अवस्था सोधिरहनु हुन्थ्यो ।  सुशीला,मनोलिशा,उषा र मेरिना दिदिहरुले हालेको स्वास्थ्य लाभको कामना अनुशाले फेसबुकमा हालेपछि बाँकी साथीभाइ आफन्तलाई पछि मात्र थाहा भयो । एसपी लोकेन्द्र श्रेष्ठ सरले फोन गरेर कस्तुरी नामको औषधीको नाम भनिदिनु भयो ।

स्कुलका साथीहरू सब्बु बराल , रबिना श्रेष्ठ, रोशनी वि क, सुशीला धमला र सङ्गीता धमला निकै माया गर्थे अनि हौसला हुने कुरा गर्थे । कलेजको मिल्ने साथी सजना लिम्बु काठमाण्डौंबाट धरान आइन् । भिडियो कलमा कोरोना गर्ल भन्दै ठट्टा गर्थिन् ।  मेरो स्वभाव थाहा पाएकाले मलाई मन पर्ने पुराना याद दिलाउने गर्थिन । उनी प्रति पनि कृतज्ञ छु ।

सामाजिक विकास मन्त्रालयबाट पनि कल गरेर मेरो समस्या बुझ्नु भयो । मास्क स्यानिटाइजर औषधी सोध्नु भयो । मैले आफू सँग भएको हुँदा नलिने बताए । धेरै धरै त मेरो परिवार आफन्तजन शुभचिन्तक अनि आफ्नो वडा १४ नम्बर वडा कार्यालय धरान उपमहानगरपालिका सबैप्रति आभारी छु ।

पूर्व डिआइजी  पूर्ण चन्द्र जोशी, सुनसरीका प्रहरी प्रमुख कमल थापा, एसपी विश्व अधिकारी,  डिएसपी ढुण्डिराज न्यौपाने ,डिएसपी  ज्ञानेन्द्र बस्नेत  र इन्स्पेक्टर सरोज खनाल सर सम्म यो कुरा  अनि फोन म्यासेजबाट स्वास्थ्य लाभको कामना आउन थाले जुन आफूले अपेक्षा गरेको थिइन ।

धरानका इन्स्पेक्टर राजन ओली सरले तातो पानीले नाक भित्रको प्वाल र घाँटी सफा गर ,भनेर सुझाव दिए पछि त्यो पनि गरे । मलाई माया गरेर  हौसला सद्भाव दिँदा  मेरो आत्मबल बढ्नु र  ऊर्जा मिल्नुमा हजुरहरु सबैको  उल्लेखनीय भूमिका रहेको महसुस भएको छ । सबै जनालाई एकमुष्ट धन्यवाद !

आइसोलेसनमा खानपान र औषधी :

सबै भन्दा ठुलो यो कोरोना भाइरससँग लड्ने भनेको आत्मविश्वास हो । अर्को शरीरको रोग प्रतिरक्षा प्रणाली हो । मैले दैनिक खानपानमा साधारण खाना, दाल, सुपहरु, बेसार पानी फलफूलहरू, हट लेमन र बिहान बेलुका दूध हरलिक्स नै खाए । 

औषधिमा ट्राफिक कार्यालय प्रदेश नं १ का डिएसपी सुमन तिम्सिना सरले गुर्जो  एक भित्ता, अदुवा बुढी जति मरीच, ५ वटा, ल्वाङ ४ वटा अलैँची ३ वटा, सुकमेल  ३ वटा,  तुलसीको ५ पत्ता , पिपला ३ वटा र बेसार पानी उमालेर तातो पानी सँग मिसाएर १ / १ कप खानु भन्नु भयो त्यही गरे । 

सुनसरी जिल्ला अदालतका न्यायधिस अर्जुन कुमार कोइराला सरले  स्वास्थ्य लाभको कामना भन्नुहुँदै प्राय How is health  sanjita ?  आज तिमीलाई कस्तो छ ? सोध्नु हुन्थ्यो । डाक्टरहरूले  कोरोना हुँदा गर्ने  कुरालाई समेटेको लिङ्कहरू पठाउनु भएको थियो । बाफ लिँदा सन्चो वा पुदिना हालेर लिए , बिहान बेलुका मनतातो पानीले नाकको प्वालहरू सफा गर्ने गरे । अर्को महत्त्वपूर्ण कुरा भनेको शारीरिक व्यायाम हो । पसिना आउन्जेल व्यायाम गरे ।

मनोवैज्ञानिक त्रास :

अहिले विश्वमा कोरोना रोेगहरुको पर्यायवाची शब्द जस्तै लाग्यो । सबैतिर बोलेकाले सुनेकाले आफैलाई लाग्दा डर लाग्यो । आफूलाई नलागुन्जेल डराएको राम्रो किनकि त्यही डरले गर्दा बढी सतर्क भइन्छ र सङ्क्रमणबाट बचिन्छ । तर लागि हाल्यो भने चाही अनावश्यक डराउनु हुँदैन किनकि दह्रो आत्मबलले नै यो भाइरससँग लड्न सकिन्छ यो मेरो अनुभव  पनि हो ।

पेल्नमा चढे पछि डराएर के गर्ने गन्तव्यमा पुग्नै पर्छ, भनेझैँ जब लाग्छ नि भाइरस सँग लड्नै पर्छ । मन दरो बनाउनु पर्छ । कोरोनाबाट थपिएका समाचार भन्दा आज यतिलाई सङ्क्रमण, यतिको मृत्यु भयो भनेर पत्रपत्रिका, टेलिभिजन, मोबाइलमा  समाचार आउँदा बाचिदैन् मरिन्छ,जस्तो  डर लाग्ने गर्दथ्यो ।

तनाव बढी हुने प्रमुख कुरा नकारात्मक सोच हो । त्यसैले नकारात्मकता बढाउने खालको लेख समाचार नहेर्ने,नसुन्ने कोसिस गरेँ । बिदामा बसे जस्तो महसुस भयो । आफ्नै ढङ्गले दिन बिते । नयाँ नयाँ विचार बिस्तारै उत्पन्न भए ।

बिहान बेलुका ध्यान योगा गर्ने, सकारात्मक सोच्ने, सृजनशील कार्यमा लाग्ने अन्त्यमा सबभन्दा आफ्नो आत्मबल बलियो बनाउनु भयो भने कोरोनालाई हराउन सक्षम हुनुहुनेछ,यसलाई यसरी बुझ्दा राम्रो हुन्छ ।

डर चिन्ता हुनु त स्वाभाविक नै हो ।  कुनाकाप्चामा पुगेको भाइरसबाट सम्पूर्ण विश्व त्रसित र ठप्प छ । तसर्थ यसका केही अंश त म सम्म पनि अवश्य आयो तर धेरै होइन २६।५ कोरोना भार ९लोड० छ, यो ठिक हुन समय लाग्दैन सोचे । दिनहरू बिताउन औला भने गन्ने दिन आएनन् ।

कोरोनाबाट जोगिन र सङ्क्रमितहरूका लागि मेरा केही सुझाव :

जसलाई कोरोना लागेजस्तो छ वा लागिनै सक्यो भने तुरुन्तै आफ्नो स्वास्थ्य परीक्षण गर्ने । चिकित्सकको सल्लाह सुझाव लिने ।

साथीभाइ छरछिमेकसँग सोध्ने सल्लाह लिने काम गर्दा धेरै फरक कुरा आउँछन् । कोरोनाले शरीरमा कमजोरपन ल्याउने हुँदा हेलचेक्र्याइँ नगरेको राम्रो हो । पराजित गर्छु भनेर मुकाबिला गरेर बस्नु पर्छ ।

कोरोना १ दुर्घटना जस्तै हो सवारी यात्रु कहिले कहाँ र कसरी दुर्घटना हुन्छ थाहा  नभए जस्तै कोरोना कुन मानिसलाई कुन घरमा कसरी लाग्छ थाहा हुँदैन । हेलचेक्र्याइँ र लापरबाही नगर्ने । बरु पूर्व तयारी गरेर बस्नु पर्छ ।

अहिलेको  नयाँ स्वास्थ्य मापदण्ड र विज्ञहरूका अनुसार १४ दिन आइसोलेसन बसेपछि पिसिआर परीक्षण नगर्दा पनि हुने भनिएको छ ।  वडा कार्यालयबाट होम आइसोलेसनमा बसेको सिफारिस पाए ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट डिस्चार्ज पत्र पाए । आफूले  कोरोनाको काँचुली फेरेर नयाँ जीवन पाएको महसुस गरेको छु । कोरोना सङ्क्रमण भयो भनेर पिर चिन्ता लिनु भन्दा आत्मबल दह्रो पारेर यसलाई पराजित गर्नका लागि साहस गर्नुपर्छ । कोरोना आफै पराजित हुन्छ ।