धरान : प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङ र इलाम आउँदै छन् ।

ताप्लेजुङको घुन्सामा निर्मित सामुदायिक स्वास्थ्य चौकी भवनको उद्घाटन र ओलाङचुङगोलाको सशस्त्र प्रहरीको विओपी निरीक्षण गरेर प्रधानमन्त्री ओली इलाम आउनेछन् ।

इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा बीओपी निर्माण भएको छ ।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले सङ्खुवासभा भ्रमण गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा निस्कने छन् ।Ghunsa घुन्साः
करिब ६० घर रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अवस्थित दुर्गम तर सुन्दर पर्यटकीय क्षेत्र हो घुन्सा ।

यहीँ क्षेत्र हुँदै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर पाङ्पेमा जान सकिन्छ । मानवीय जीवनका प्रमुख आवश्यकता ठानिने शिक्षा र स्वास्थ्यका दृष्टिले भर्खर बामे सर्दै गरेको घुन्सामा आज हुने देशका प्रमुख कार्यकारी अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको स्वागतका लागि यतिखेर घुन्सालीमा उत्साह छाएको छ ।

वरिपरि हिमालले ढाकेको र बिचमा घना जस्तै देखिने बस्तीलाई धेरैले घुन्सा उपत्यका भन्छन् । यहीँ घुन्सा उपत्यकामा आज प्रधानमन्त्री ओलीले त्यहाँ स्थापित सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्नेछन् । तर,घुन्सालीको माग भने बेग्लै छ । त्यहाँ उनीहरू १५ शैयाको अस्पताल बनाइदिन प्रधानमन्त्री ओलीसँग हात अघि सार्दै छन् ।

यस बाहेक पर्यटकीय स्थलको प्रवर्द्धन,पर्यटन क्षेत्रको रोयल्टी,बिद्युतीकरण सहितका करिब आधा दर्जन माग उनीहरूले प्रधानमन्त्री ओली समक्ष राख्ने गरी तयारी गरेको स्थानीय हिमाली चुङ्दाक शेर्पाले जानकारी दिए । प्रधानमन्त्री ओलीसँगै आउन लागेका युवा सङ्घका केन्द्रीय नेता क्षितिज थेबेका अनुसार प्रधानमन्त्री ओली सोमबार बिहान ९ बजे घुन्सा आइ पुग्ने छन् ।

बिहानको खानाको व्यवस्था पनि घुन्सामै रहेको छ । त्यहाँ उनले सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन,गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी स्थानीय समुदायसँगको साक्षात्कारमा रहने छन् भने पार्टीका नेता कार्यकर्तासँग पनि उनको भेटघाट कार्यक्रम तय भएको छ । त्यसपछि उनी ओलाङ्चुङगोलामा रहेको सशस्त्र प्रहरीको बिओपी केन्द्र,सीमावर्ती क्षेत्र टिपतालापास लगायतको हवाई निरीक्षणमा सहभागी हुने कार्यक्रम रहेको छ ।

हिउँको कारण प्रधानमन्त्री ओलीले सीमा क्षेत्र र बिओपी केन्द्रको हवाई निरीक्षण गर्ने सम्भावना रहेको थेबेले जानकारी दिए । ओलीका साथ नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, पर्यटन मन्त्री योगेशकुमार भट्टराई, १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत भ्रमणमा सहभागी हुने घुन्सा फउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताइन् ।

घुन्सा फउण्डेसनका अध्यक्ष शेर्पाको अगुवाइमा त्यहाँ सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । नेपाल ट्रस्टकी सदस्य समेत रहेकी सामाजिक अभियन्ता शेर्पाको अगुवाइमा सङ्कलित रकमबाट बनेको स्वास्थ्य संस्था हो । पछि प्रदेश १ सरकारले त्यहाँ आवास कक्ष बनाउन भने सहयोग गरेको छ । ताप्लेजुङको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओली इलामको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

ओलीको स्वागतका लागि सदरमुकाम फुङलिङबाट पूर्व सांसद, प्रदेश सांसद, जिल्ला समन्वय प्रमुख,नगरप्रमुख,गाउँपालिकाका अध्यक्षहरू, सुरक्षाका निकायका प्रमुखहरू र पार्टीका अगुवा कार्यकर्ताहरू घुन्सा पुगेका छन् । ओली सहितको नेताको स्वागतका लागि घुन्सा निकै झकिझकाउ भएको घुन्सा पुगेका पत्रकार महासङ्घ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाक प्रयासले जानकारी दिए ।

Ghunsa-Manch

घुन्सा उपत्यका र प्रधानमन्त्रीको  भ्रमणका लागि बनाइएको मञ्च । तस्बिर : खगेन्द्र अधिकारी