विराटनगर : विराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा उपचारका लागि ल्याइएका बिरामीको मृत्यु भएको छ ।

आज बिहानको राति करिब १ बजे विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

एम्बुलेन्स लहरीमा ठोक्किए पछि भएको दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगेका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

एक्कासि दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो ।

दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलि देवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् । लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको जनाएको छ ।