पथरी : कोरोना महामारीले विश्वको अर्थतन्त्र र पर्यटनलाई नराम्रोसँग असर गरिरहेको बेलामा मोरङको पथरीशनिश्चरे-२ को 'सेल्फी रोड' यति बेला चम्किएको छ ।

लकडाउनले टाढाटाढाका पर्यटकीय क्षेत्रमा पुग्न नसकिरहेका पथरीशनिश्चरे र उर्लाबारीका बासिन्दाका लागी मोरङको पथरीशनिश्चरे २ को 'सेल्फी रोड' घुम्ने र सामाजिक सन्जाल टिकटक र फेसबुकमा फोटो पोस्ट गर्ने सुन्दर स्थान बन्यो ।

करोना सङ्क्रमणको डरले सरकारले गरेको लकडाउनको समय देखी नै यो सडकमा सेल्फी खिच्ने र टिकटक बनाउनेको भिड नै लाग्ने गरेको छ । हाल यो क्षेत्रमा टिकटक बनाउन दमक देखि इटहरी सम्मका आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।

पूर्व पश्चिम राजमार्गको सुनझोडा पुल नजिकैबाट चौतारी सामुदायिक वनको क्षेत्रमा पर्ने सो सडकको आकर्षण त्यहाँ रहेको सालका बिरुवा र रुख नै हुन् । चौतारी सामुदायिक वनले रोड आसपासका सालका बिरुवा र रुखमा चुना लगाएर आकर्षक बनाए सँगै यो क्षेत्र फोटो खिच्ने र टिकटक बनाउनेको आकर्षणको केन्द्र वनेको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले संसद् विकास कोषबाट सो सडक बनाउन ४७ लाख रुपैयाँ विनियोजन गरे सँगै गत वर्ष यो सडक निर्माण भएको हो । करिब १ किलोमिटर लम्बाई रहेको सडकको दायाँ र बायाँमा रहेका सालका रुखमा पोतिएको सेतो चुनाले थप आकर्षण बनाएको छ ।

सामुदायिक वनले संरक्षित गरेर हुर्काएका साल जातका वृक्षले चर्को घाममा पनि शीतलता प्रदान गर्ने भएकाले पनि यो क्षेत्रमा जाने र घुम्नेको सङ्ख्यामा वृद्धि भएको हो । लकडाउनको समयमा घरमै बसेका स्थानीयवासीले मनोरञ्जनका लागि सो क्षेत्रमा खिचिएका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा लगाउन थाले पछि यो सडकले एकाएक चर्चा पाएको हो ।

मनोरञ्जनकालागि नै टिकटक बनाऊन आउने गरेको प्रवीण कोइराला बताउँछन् । कोइरालाका अनुसार नजिक र आकर्षक क्षेत्र भएकाले पनि यो क्षेत्रले छोटो समयमा नै चर्चा पाएको हो । कसैको पूर्व योजना विना एकाएक स्वतःस्फूर्त सेल्फी खिच्ने र टिकटक बनाउनेहरूको जमात सामाजिक सञ्जालमा देखिन थाले पछि चौतारी सामुदायीक वनले समेत सो क्षेत्रलाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न पहल थालेको छ ।

दैनिक सयौँ मानिसहरू जम्मा हुने भए पछि व्यापारीहरूको ठेला व्यापार समेत फस्टाएको छ । सडक किनारा मै चटपटे,आइसक्रिम पानीपुरी देखी खाजाको व्यापार समेत हुन थालेको छ । दैनिक २ हजार देखी ५ हजार सम्म व्यापार हुने व्यापारीहरू बताउँछन् ।

सामुदायिक वनले १ लाख रुपैंया खर्चेर सिमेन्टका १० वटा आराम स्थल निर्माण गरेको छ । सडकमा दुर्घटना नियन्त्रणका लागी सचेतना वोर्डहरु राख्ने देखी फोहर सङ्कलनका लागी डस्वीनहरु राख्ने कार्य भएको छ ।

वडा नम्बर २ का वडा सदस्य परशुराम न्यौपानेका अनुसार वनसँगको सहकार्यमा वडाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्र विस्तारका लागी पहल थालेको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र पिकनिक स्पोर्ट तयारीका लागी पथरीशनिश्चरे नगरपालिकाले डिपिआर तयारी थालेको न्यौपानेले जानकारी दिए ।

वडाको आर्थिक सहयोेगमा १५ सय फुलका बिरुवा सडकको दायाँ र बायाँ भागमा रोपिएको छ । बिरुवा हुर्किए पछि सो सडक थप आकर्षणको केन्द्र बन्न सक्ने न्यौपाने बताउँछन् ।

तर पनि सडकमा बढेको भिडलाई नियन्त्रण गर्न चासो नदिने हो भने सडक दुर्घटनाको जोखिम समेत बढेर गएको छ ।