धरान : निकै लामो समय देखि निर्माण हुन नसकेको धरानको स्मार्ट बसपार्कको योजना बल्ल निर्माण हुने सम्भावना बढेको छ ।

प्रस्तावित बसपार्क निरन्तर विवाद, लगानी अभावका कारण रोकिँदै आएको थियो । स्थानीय जग्गादाताको विवाद समाधान भए पनि लगानीको अभावका कारण योजनामा परिमार्जन गरिएको छ ।

निर्माण सुरु गर्ने प्रक्रियामा लागेको उपमहानगरपालिकाले पछिल्लो योजना अनुसार बसपार्क तिन चरणमा पुरा हुने जनाएको छ । परिमार्जित योजनाको अन्तिम डिजायानमा सहमति जुटाउन सरोकारवालाहरू सँगको छलफलमा नयाँ नक्सा सार्वजनिक गरिएको हो ।

दुई वर्षअघि ६५ करोड लाग्न सक्ने अनुमान गरिएको बसपार्कको योजना पहिलो चरणमा ३० करोडमा पुरा गर्ने लागत अनुमान तयार गरिएको छ । धरान–८ स्थित सुन्दर बस्तीको ३० कट्ठा जग्गामा बसपार्क बन्न लागेको हो ।

उक्त लागत बाहेक बसपार्क बाहिर वरिपरि सडक बनाउन छुट्टै १० देखी १२ करोड लाग्ने धरान उपमहानगरपालिकामा बिहीबार भएको छलफलमा मेयर तिलक राईले बताए । यो योजना कार्यान्वयन भए, धरानमा विवादका कारण रोकिने ठुला योजनाहरू बन्न सक्ने उदाहरण हुनेछ ।

 कस्तो बन्नेछ त बसपार्क ?
प्रस्तावित बसपार्कमा पालो पर्खन एकै साथ ३८ वटा बसहरू राख्न सकिने छ । तत्काल छुट्ने बसका लागि १९ वटा स्टाण्ड रहने छन् । २६ वटा साना जिप लगायतका गाडीहरू पालो लाग्न सक्ने छन् ।

मोटरसाइकलहरूका लागि भूमिगत पार्किङ हुनेछ । बसपार्कको उक्त एरियामा पहिलो चरणमा टर्मिनल भवन निर्माण गरिने छ । भवनमा त्यहीँ बास बसेर बिहानै अन्यत्र जाने यात्रीहरू लाई बास बस्न लजको व्यवस्था हुनेछ । १६ वटा टिकट काउन्टर, प्राथमिक उपचार कक्ष, सुरक्षाकर्मी आवास, रेस्टुरेन्ट, स्नान घर लगायतको व्यवस्था हुनेछ ।

पहिलो चरणमा ३ करोड ६५ लागको लागतमा टर्मिनल भवन बन्ने छ । भवन बनेपछि बसपार्क सञ्चालनमा आउने छ । इन्जिनियर सुरज श्रेष्ठका अनुसार दोस्रो चरणमा ४० करोड लागत जुटाएर बसपार्कको विकास गरिने छ । तेस्रो चरणमा ५१ करोड खर्च हुने अनुमान गरिएको छ । बहुवर्षिय योजनाको रूपमा अघि बढाइने बसपार्क निर्माण पुरा गर्न हालको अनुमान अनुसार ९४ करोड लागत रहने बताइएको छ ।

यसअघि प्रदेश १ सरकारले नियुक्त गरेको परामर्शदाता काठमाण्ड्रू ललितपुर स्थित ऋषिकेश सर्भिस प्रालिले बसपार्कको डिजाइन तयार गरेको हो । डेढ वर्ष अघि तयार गरिएको डिपिआरमा ४३ करोड २ लाख ९५ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो ।

इन्जिनियर श्रेष्ठका अनुसार उक्त डिपिआर अध्ययन गर्दा बसपार्क निर्माण गर्दा चाहिने मुख्य सामाग्री फलामे डन्डी रडको रकम नै उल्लेख नभएको पाइएको थियो । तत्कालीन बजार भाउ अनुसार उक्त फलामे रडको मूल्य करिब १२ करोड रुपैयाँ हुन्छ । त्रुटिपूर्ण डिपिआरमा छुटेका कुराहरू थप गर्दा बसपार्कको लागत ६५ करोड अनुमान गरिएको थियो ।

पछिल्लो डिपिआर उपमहानगरपालिकाका प्राविधिकहरूले तयार गरेका हुन । परिमार्जित डिजाइनमा लागतको हिसाबले प्राविधिक कुराहरू मात्र परिवर्तन गरिएको बताइएको छ ।

टर्मिनल भवन बाहेक बसपार्कको पार्किङ एरियाका निर्माण पछिल्लो चरणमा गरिने गरी लागत घटाइएको हो । मेयर राईका अनुसार प्रस्तावित पहिलो चरणको योजना सङ्घीय सरकारले ५० प्रतिशत सशर्त अनुदान, ५० प्रतिशत उपमहानगरको लगानीमा निर्माण हुनेछ ।

धरानमा व्यवस्थित बसपार्कको कुरा २०५०/०५९ देखी प्रबल भएको हो । तत्कालीन नगरपालिकामा अन्तर्राष्ट्रिय दातृसंस्था जीटिजेड परियोजनाले हालको बसपार्क लाई सुन्दर बस्ती जग्गा विकासको योजनाको रूपमा अघि सारेको थियो । त्यहाँ बसपार्क समेत निर्माण गरिने प्रस्ताव राखिएकोले दाताहरू बाट प्राप्त जग्गा एकीकृत गरी धरान बसपार्कको योजना अघि सारिएको हो ।

तत्कालीन सरकारले दाताहरूको जग्गा एकीकृत गरी निःशुल्क अधिग्रहण गरी राजपत्रमा समेत प्रकाशित भयो । तर लामो समय सम्म पनि बसपार्क नबनेपछि दाताहरूले जग्गा फिर्ता गर्न माग गर्दै आन्दोलन सुरु गरे । बसपार्क बन्ने भनिए पछि त्यहाँ नगरपालिकाका कर्मचारी समेतले जग्गा खरिद गरे । उक्त कुराले आन्दोलन लाई थप बल पर्‍यो । दाताहरू बसपार्क बनाउन दिने र नदिनेमा विभाजित भए ।

पछिल्लो समय प्रदेश सरकारको सहयोगमा बसपार्क बनाउने भनी दुई वर्षअघि २०७५ माघमा उपमेयर मञ्जु भण्डारीले शिलान्यास गर्दा दाताहरूले विरोध प्रदर्शन गरेका थिए । त्यस बेला बसपार्कको डिपिआर नै तयार भएको थिएन । शिलान्यास भए पनि डिपिआर नबनेकाले सरोकारवालाहरू त्यहाँ बसपार्क बन्ने कुरामा आशङ्का बढेको थियो ।

उपमेयर भण्डारीले छलफलमा भनिन् ‘जग्गा दाताहरूको विवाद सकिएको छ, उनीहरूको मुख्य माग त्यहाँ सडक बन्नु पर्छ भन्ने छ, त्यो माग नगरपालिकोले पुरा गर्दैछ ।’ अघिल्लो डिपिआर त्रुटिपूर्ण भएकोले सङ्घीय सरकारका अधिकारीहरुले पनि योजनामा आशङ्का गरेको उनले बताइन् ।

Smart-Buspark2

२०२२/०२३ साल तिर धरान–विराटनगर कच्ची सडक हुँदा चल्ने २/४ साना बसहरू तत्कालीन बजार अड्डा भनिने आहिलेको भानुचोकमा स्टाण्ड लाग्थ्यो । साठिऔँ वर्ष देखी बसपार्क बन्दै आएको भानु चौक अत्यन्तै साँघुरो भएकोले नयाँ र व्यवस्थित बसपार्क चाहिएको हो ।

राष्ट्रिय यातायात व्यवसायी महासङ्घ प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठ भन्छन् ‘डिमान्डको आधारमा अहिलेको बसपार्क पनि राम्रो व्यवस्थापन नभए साँघुरो हुन्छ ।’ नेपाली यातायात व्यवसायका विज्ञ हिरा उदासले भने भानु चौकको ६ कट्ठा बाट ३० कट्ठामा बसपार्क बन्नु सहज र सुविधाजनक हुने बताउँछन् ।

धरानमा कुनै पनि ठुला योजना आउँदा विवाद हुने गरेकाले लगानीकर्ता, सरकार समेत उदासीन हुँदै आएको छ । योजनाहरूप्रति दलहरू पनि राजनीतिक मुद्दा बनाउने पूर्वाग्रह दोहोरिदैं आएका बेला बसपार्क निर्माणमा सहमतिमा आएको बुझिन्छ ।

काँग्रेस, नेकपा साथै जनता समाजवादी, लिम्बुवान, जनमुक्ति पार्टिका नेतृत्वले छलफलमा सुझाव दिए विवाद निकालेनन् । समाजवादीका अध्यक्ष ताजुब लिम्बुले भने ‘स्थानीय समुदायको विवाद मिल्यो भने आपत्ति भएन ।’

दलहरू यसरी नै राजनीतिक मुद्दा बनाउने पूर्वाग्रह बाट मुक्त भए धरानका ठुला योजना खानेपानी, जलाधार क्षेत्र, एयरपोर्ट लगायतका विवादहरूले सकारात्मक बाटो लिन सक्ने छ । मुलुकमा सङ्घीयता आएसङै धेरै ठाउँमा तिनै तहका सराकारका ठुला योजनाहरू बनेका छन् ।

धरानमा भने पुराना योजनाहरू पनि विवादका कारण अघि बढ्न सकेका छैनन् । मेयर राई भन्छन् ‘धरानका योजनाहरू लाई पक्ष विपक्ष भएर होइन वस्तुनिष्ठ भएर हेर्नसके सहमति जुट्छ ।’

Smart-Buspark3