झापा : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

त्यसो त पछिल्लो समय परीक्षणको दायरा पनि घटेको पाइन्छ । तर, यसो भन्दैमा कोरोनाको जोखिम चाहिँ घटेको भन्न मिल्दैन । हिजोका दिनमा कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले सामाजिक दुरी कायम गरौँ भन्यो ।

तर अहिले सरकार समर्थक र सरकारका विरुद्ध लागेका राजनीतिक दलहरुलेनै यो नियमको धज्जी उडाइरहेका छन् । राजनीतिक दलहरू यति बेला कसले बढी मानिस भेला गर्ने भन्ने होडबाजीमै व्यस्त रहँदा चिकित्सकहरूले भने चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको सङ्क्रमण नेपालमा देखिँदै गर्दा भन्यो, एसएमएस विधि अपनाऔँ । अर्थात् सेनिटाईजर, मास्क र सामाजिक दुरी । सुरु सुरुका दिनहरूमा त यो नियम सबैले पालना गरेनै । तर पछिल्ला दिनहरूमा आएर सरकारले आफैले बनाएको नियमको धज्जी उडाइरहेको छ ।

यसमा सरकार मात्र दोषी छैन । अन्य राजनीतिक दलहरूको पनि सहभागिता उस्तै छ । गाउँ देखी सहरसम्म सरकारको समर्थन र सरकारको विरोधमा दिनहुजसो आजकल प्रदर्शन भइरहेका छन् । प्रदर्शन र विभिन्न सभाहरूमा भेला हुनेहरूले न त मस्कनै लगाएको पाइन्छ न त सामाजिक दुरी नै कायम गरेका छन् ।

कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न र रोकथाम गर्नका लागि विश्वका थुप्रै मुलुकहरूमा जनस्वास्थ्यका नियमहरूको पालनालाई अनिवार्य गरिएको छ र तिनको उल्लङ्घन गर्नेलाई कठोर दण्ड सजायको समेत व्यवस्था गरिएको पाइन्छ । तर नेपालमा स्थिति ठिक उल्टो छ ।

विशेष गरी आजकल दिनहुँ जसो हुने सभा र प्रदर्शनले नेपालमा कोरोना सङ्क्रमणको जोखिमलाई मलजल गरिरहेको आम्दा अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश शर्मा बताउँछन् ।

डा. शर्मा भन्छन्, “कोभिडको जोखिम हटेको र घटेको हैन तर सरकार स्वयम र राजनीतिक दलका नेताहरुनै यसको उल्लघंनमा लागे पछि भोलि पुन अवस्था भयावह हुन सक्छ । अझ नयाँ प्रकारको कोरोना भाइरसको चर्चा चलिरहेका बेला सावधानी अपनाउनुपर्नेमा हेलचेक्र्याइँ बढी भईहेको छ । ”

धेरै देशहरूले जनस्वास्थ्यका नियम पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याएर सङ्क्रमणको सम्भावनालाई न्यून गरिरहेको अवस्था पनि छ । हाम्रो देशमा सरकारले मास्क नलगाउनेलाई कडाइ गरेको छैन । यस्तै सामाजिक दुरीको त कुरा गरी साध्यै छैन ।

सरकारी कार्यालय होस् या त निजी । सामाजिक दुरी कायम भएको भेट्न आजभोलि मुस्किल पर्छ । देख्दा लाग्छ नेपालमा कोरोनाको संक्रमणनै छैन जस्तो । न त यसप्रति सरकार गम्भीर छ न त कुनै राजनीतिक दलहरुनै ।

सम्भवतः त्यसरी कडाइ गर्दा जनता भड्किने र आगामी चुनावमा भोट नपाएर हारिन्छ कि भन्ने डर नेताहरूलाई भएको हुन सक्छ । त्यसैले त नेताहरू स्वयमनै यस्ता कुराको हेक्का राख्न छाड्दै गएका छन् । यस्तो स्थितिलाई जनस्वास्थ्यविद्हरुले चिन्ताको रूपमा लिएका छन् ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि सामाजिक दुरीको महत्त्व धेरै हुने चिकित्सकहरू बताउँछन् । सामाजिक दुरी कायम राख्दा भिडभाडमा यदि कोही संक्रमित ब्यक्ती पनि त्यही छ भने उसबाट अरू मानिसमा सङ्क्रमण फैलने डर कम हुन्छ ।

तर, सामाजिक दुरीको बेवास्ता गरे संक्रमित ब्याक्तीबाट सहजै स्वस्थ ब्याक्तीमा पनि सङ्क्रमण फैलिन सक्ने अवस्था हुने दमक स्थित निम्स अस्पतालका चिकित्सक डा.दिवस केसी बताउँछन् ।

आफैले बनाएको नियम उल्लङ्घन गरिरहेको सरकार अनि त्यही पथमा हिँडेका राजनीतिक दलहले विभिन्न आन्दोलन र समर्थनका कार्यक्रम गर्दा कम्तीमा न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएमा पक्कै पनि कोरोना सङ्क्रमणको जोखिम कम हुने देखिन्छ । यसर्थ यस तर्फ सबैको ध्यान पुग्न जरुरी छ ।