विराटनगर : सङ्घीय सरकारले पठाएको ९ हजार ६ सय भाइल कोरोना विरुद्धको भ्याक्सिन सोमबार विराटनगर आइपुगेको छ ।

पहिलो चरणमा वितरणका लागि ९ हजार भाइल (एक भाइलमा १० डोज भ्याक्सिन) विराटनगर आएको हो । विराटनगर आइपुगेको खोप ९६ हजार डोज छ ।

प्रदेशमा पहिलो चरणमा ३५ हजारलाई खोप लगाउने कार्यक्रम छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका विराटनगर आइपुगेको खोप बुधवारबाट लगाउन सुरु गरिनेछ ।

सोमबार नै मोरङ र सुनसरीमा पठाइएको बताउँदै उनले मङ्गलवार अन्य जिल्लामा पठाइने बताए । उनका अनुसार प्रदेश १ मा ३५ हजार ५ सय ७६ जनालाई कोरोना विरुद्धको खोप लगाइनेछ ।

कुन जिल्लामा कति ?

प्रदेश सरकारले निजी तथा सरकारी संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइ कर्मचारीलाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।

पहिलो चरणमा मोरङमा १२ हजार १ सय ५६, सुनसरीमा ५ हजार ४ सय २०, झापामा ५ हजार १ सय ७७, धनकुटामा ८ सय ५८, उदयपुरमा १ हजार २ सय ७६, भोजपुरमा १ हजार २ सय ३५ जनाले खोप लगाउने छन् ।

इलाममा १ हजार ७ सय २४, ओखलढुङ्गामा १ हजार ३ सय ७१, खोटाङमा १ हजार ६ सय १८, तेह्रथुममा ७ सय ९२, सङ्खुवासभामा ९ सय ६१, सोलुखुम्बुमा ७ सय ९२ जना फ्रन्टलाइनरलाई खोप लगाउने तयारी गरिएको छ ।

प्रदेश २ को सप्तरी र सिराहाका लागि पनि विराटनगरबाट नै खोप पठाइनेछ । सिराहामा ३ हजार ९ सय ३० र सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाइने छ । प्रदेश २ का दुई जिल्ला सहित कार्यालयले ४३ हजार २ सय ६० जनालाई खोप लगाउने पराजुलीले बताए ।

खोप लगाउनका लागि प्रदेश सरकारले कर्मचारीलाई तालिम दिइसकेको उनले बताए । प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईँका अनुसार जिल्ला अस्पतालमा रहेका जनशक्तिले खोप लगाउनेछन् ।