धरान : सरकारले भोलि देखि फ्रन्ट लाइनमा खटनेहरुलाई पहिलो चरणको कोरोना विरुद्धको भ्याक्सिन लगाउँदै छ ।

प्रदेश १ मा ९६ हजार डोज कोरोना विरुद्धको भ्याक्सिन सोमबार आइपुगे सँगै प्रदेश १ का सबै जिल्ला स्वास्थ्य कार्यालयहरुमा आज बेलुका सम्ममा पुर्‍याई सक्ने गरी भ्याक्सिन पठाई सकिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईँले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार नै मोरङ र सुनसरीमा कोरोना विरुद्धको भ्याक्सिन पठाइसकिएको छ ।

सुनसरीमा चार वटा खोप केन्द्रबाट खोप लगाइने :
सुनसरी जिल्लामा सङ्घीय सरकारले पठाएको खोप आएकै दिन हिजो सोमबार नै ५ हजार ४ सय २० डोज खोप आइसकेको छ ।

जस अनुसार भोलि बुधवार देखि लगाइने पहिलो चरणको खोपका लागि चार स्थानमा खोप केन्द्र तोकिएको छ । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विजयपुर हस्पिटल धरान, इटहरी अस्पताल, सामुदायिक अस्पताल इटहरी र इनरुवा अस्पतालमा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

जस अनुसार सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सबै भन्दा बढीलाई खोप लगाईदैछ । ठुलो स्वास्थ्य संस्था भएकोले प्रतिष्ठानमा धेरैले खोप लगाउन पाउने भएका हुन् । यसै गरी धरान उपमहानगरपालिकाका सबै स्वास्थ्य संस्थामा काम गर्ने, नगरपालिका क्षेत्रमा कार्यरत सफाइकर्मी, एम्बुलेन्स चालक, कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा सक्रियहरूलाई विजयपुर हस्पिटलमा खोप लगाईदैछ ।

यस्तै इटहरीमा पनि इटहरी अस्पताल, सामुदायिक अस्पताल इटहरी र इनरुवा अस्पतालमा खोप लगाईदैछ ।
यो समाचार तयार पारुन्जेल सुनसरी जिल्लामा ५ हजार ४ सय २० डोज भ्याक्सिन आएको भए पनि अहिले सम्म निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सफाइकर्मी, चालक गरी ३ हजार, स्वास्थ्य कार्यालय अन्तर्गत जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरूमा कार्यरतहरू १ हजार ५०, स्वास्थ्य स्यंम सेविका १ हजार १ सय ८३ जना गरी ५ हजार २ सय ३३ जनाको नाम दर्ता भइसकेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीमा खोप लगाउने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिम दिँदै : 
सुनसरी जिल्ला भरीका करिब २० जना स्वास्थ्यकर्मी जो कोरोना विरुद्धको भ्याक्सिन लगाउन खट्नेहरूलाई स्वास्थ्य कार्यालय सुनसरीमा आज अभिमुखीकरण तालिम दिइँदै गरिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख तथा प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखाका प्रमुख सागर प्रसाईँले बताए ।

सुनसरीमा सिडिओको संयोजकत्वमा भ्याक्सिन समन्वय तथा अनुगमन समिति : 
सुनसरी जिल्लामा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको संयोजकत्वमा कोभिड भ्याक्सिन समन्वय तथा अनुगमन समिति बनेको छ ।

यो समितिमा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख, सशस्त्र प्रहरीका सुनसरी प्रमुख, सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख, सुनसरी जिल्ला अस्पताल प्रमुख र जिल्ला समन्वय समितिका प्रमुख सदस्य रहेका छन् ।

यो समितिले भोलि देखि लगाइने कोभिड १९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि समन्वय तथा अनुगमन गर्ने बताईको छ ।