धरान : नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ ।

प्रदेश १ मा पहिलो चरणको कोरोना विरुद्धको खोप २४ खोप केन्द्रबाट ३५ हजार ७ सय ७६ जनाले लगाउदैछन् । प्रदेश १ मा सोमबार आइपुगेको ९६ हजार डोजको कोरोना विरुद्धको खोप प्रदेश नं. १ मा आज देखि पर्सि सम्ममा ३५ हजार ७ सय ७६ जनाले लगाउने प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईँले जानकारी दिएका छन् ।

प्रसाईँका अनुसार सुनसरीमा ४, मोरङमा ४, झापामा ३, इलाममा २ र अरू १० वटा जिल्लामा १, १ स्थान गरी जम्मा २४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । २४ खोप केन्द्रहरूबाट ३ दिनमा पहिलो चरणमा ३५ हजार ७ सय ७६ जनाले खोप लगाउनेछन् ।

खोप लगाउने सबै फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा खटिएकाहरूलाई खोप लगाईदैछ । पहिलो चरण भएकोले सबै खोप केन्द्रहरू स्वास्थ्यको पुर्वधार भएको स्थान स्वास्थ्य केन्द्रहरुमानै तोकिएको छ ।

प्रदेश १ मा आइपुगेको खोपमध्ये प्रदेश २ को सप्तरी र सिराहालाई पनि यहीबाट पठाइएको छ । धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा कोरोना विरुद्धको खोप लगाईदैछ । यसै गरी सुनसरीको अरू २ स्थान इटहरी र इनरुवामा गरी ४ वटा खोप केन्द्रहरूबाट ५ हजार २ सय ३३ जना खोप लगाउने अग्रपंत्तीमा खटिएकाहरूको नाम दर्ता भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अहिले पनि नाम दर्ता गर्ने क्रम जारी रहेको बताइएको छ ।