कति सुन्दर बगर !
बालुवाको ओछ्यान माथि
ढुङ्गै ढुङ्गा सुतेको देख्छु ।
यताबाट हावा उड्छ
उताबाट हुरी कुद्छ
चापमा परेको बालुवा
बतासमा सवार हुँदै
अर्को ठाउँमा थुम्को बन्छ ।
अनि कोही कोही
बगर भो जिन्दगी भन्दै
उदास मनको बिरक्ती बालुवा उडाएर
नदी बालुवाको सम्बन्ध बिर्सिन्छन्
कति सुन्दर बगर !

कलकल जलको साथमा
बैँस धुँदै
सृष्टिको उद्गमदेखि
गन्तव्यको हरेक मोडमा
पानीलाई छेकाछेकी
उर्लँदो जवानी मैथुन गर्दै
बगेर सुतेको छ ।

बिचरा ढुङ्गाहरू
हृदयविहीन बनेर
बालुवामाथि रित्तै सुतेको देख्छु
अनि भन्न मन लाग्छ
धत् ! हरिलट्ठक
कसैलाई कोरा ठानेर 
किन जिस्काउँछस्
कत्रो छ महानता बगरको
अनि मोहनी जिन्दगीको
नगिज्या बालुवालाई
पानीसँगै जिन्दगानी
मोहनीमा तरङ्गित छ ।

धरान-१४ विजयपुर