झापा : गत १६ गते मात्र झापास्थित गृह नगर दमकमा व्यस्त भएर काठमाण्डौं फर्किएका प्रधानमन्त्री आज फेरी झापा र मोरङ आउदैछन् ।

झापाको बिर्तामोड स्थित व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि प्रधानमन्त्री ओली आज फेरी झापा आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै सो कार्यक्रममा पूर्व सभामुख सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल, मन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र पूर्व मन्त्री महेश बस्नेतको उपस्थिति रहने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।

उनले भने, “झापामा अहिलेसम्म भएका निजी क्षेत्रको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीले धेरै समय दिने र उच्च पदका व्यक्तिहरूको बाक्लो उपस्थित रहने यो नै पहिलो कार्यक्रम हुने छ । ”

आज बिहान ११ बजे झापाको भद्रपुर विमानस्थलमा अवतरण भएपछि ओलीले दिउसो साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

लगत्तै बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुने उनको निजी सचिवालयले जानकारी दिएको छ ।

सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुन उनी त्यता जाने बताइएको छ । प्रधानमन्त्री ओली आजै साँझ काठमाडौँ फर्कनेछन् ।

Santhal-Basti
एकीकृत सन्थाल बस्तीको नमुना