विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

अर्को बैठक चैत २ गते दिउसो साढे १२ बजे बस्ने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।
प्रदेश सभाको चौथो बैठक फागुन २० गते बिहीबारका लागि आह्वान गरिएको थियो । मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव टेबल भएर यसअघिको बैठक स्थगित गरिएको थियो ।

नेकपा ओली पक्षीय सांसद विना प्रदेश सभा बैठकमा प्रस्ताव टेबल गरिएको थियो । मुख्यमन्त्री शेरधन राईले फागुन ९ गतेको बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए ।

सभामुखले अविश्वास प्रस्ताव कार्यसूचीमा राखिसकेकाले बैठक स्थगित नहुने जवाफ दिएपछि ओली पक्षीय सांसद बैठकमा आएनन् ।

नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारबाही गरिएका १६ जना सांसदलाई बैठकमा आउनबाट रोक नलगाए सम्म प्रदेश सभा बैठकमा उपस्थित नहुने बताउँदै आएका छन् ।

बिहीबारको बैठकमा पनि ओली पक्षीय सांसद प्रदेश सभा बैठकमा नआउने जनाउ दिएपछि विशेष कारण देखाएर बैठक स्थगित गरिएको श्रोतको भनाई छ । प्रदेश सभामा नेकपा नेकपा दाहाल–नेपाल समूहले गत पुस ११ गते मुख्यमन्त्री राई विरुद्ध अविश्वास पेस गरेको थियो ।