झापा : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

दुर्घटनामा घाइते भएका धरान उपमहानगरपालिका-१६ का दीपक क्षेत्रीको पनि उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

अर्का मृतक सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका-१ का ३३ वर्षीय दिलीप राना मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आज अपराह्न करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ क १६८४ नम्बरको ट्रकले सुरुमा प्रदेश १-००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १-०१३-प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परि अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कारमा सवार मृतक दिलीप राना मगरको श्रीमती ३० वर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी २ का ३९ वर्षीय ज्ञान बहादुर कसाई र मोटरसाइकल पछाडि सवार उनकै श्रीमती ३० बर्षीय सोनम श्रेष्ठ रहेको सो कार्यालयले जनाएको छ ।

उनीहरू सबैको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र सो ट्रकका चालक मोरङको विराटनगर महानगरपालिका-१५ बस्ने प्रेम बहादुर वाइबा प्रहरीको नियन्त्रणमा रहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।