धरान : ताप्लेजुङको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ ।

आज आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका छन् ।

आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभान बस्तीमा पुगेर बताए । त्यस्तै डेरा भाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिए ।

आगलागी पीडितहरूको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरूको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिए । मुख्यमन्त्री राईले सङ्घीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताए ।

प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री मुख्यमन्त्री राईले पीडित परिवारलाई हस्तान्तरण गरे ।
आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौँ पठाएको छ ।

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगाम लगायत आगलागी बस्ती पुगेका थिए ।