कोरोनाको दोस्रो लहर सुरु भए यता फेरि पनि मानिसहरूमा मनोवैज्ञानिक तनाव बढेर गएको छ। कोभिड-१९ महामारीको समय सबैको लागि तनावपूर्ण समय हो।

विपत्तिको बेला सामान्य डर, चिन्ता, बेचैनी, छट्पटी र तनाव हुनु स्वाभाविक नै हो। यसलाई असामान्य अवस्थामा मानिसहरूमा देखिने स्वाभाविक प्रतिक्रिया नै मानिन्छ। 

कोरोनाको सङ्क्रमणको बेला मानसिक तनावका विभिन्न लक्षणहरू देखिन्छन् । तर केही समयपछि धेरै जसोमा तनावका यस्ता लक्षणहरू बिस्तारै आफै कम भएर जान्छन् । तर केहीमा भने मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढेर जान्छ।

तनावको बेला देखिने लक्षणहरू : 
मनमा कुरा खेल्नु, झर्को लाग्नु, रिस उठ्नु, हातखुट्टा वा जिउ काँप्नु, कट्कट् खानु वा झमझमाउनु, शरीर सिरिङ्ग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको पेट दुख्नु, घाँटी वा ढाड दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु, शरीरमा थकान महसुस हुनु, श्वास फेर्न गाह्रो भएको महसुस हुनु, छाती भारी हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, दुबिधामा पर्नु, चाँडै बिर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर, चिन्ता, पिर पर्नु, छटपटी हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक-पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरू तनावको बेला  देखिन सक्छन् ।

तनावपूर्ण वा असहज अवस्थामा देखिने यस्ता लक्षणहरू सामान्य र स्वाभाविक लक्षणहरू हुन। तर यस्ता लक्षणहरू लामो समयसम्म रहिरहे भने मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढ्छ। यस्ता  समस्याले आफ्नो  दैनिक व्यवहार, व्यक्तित्व, सम्बन्ध, सोच, बिचार, भावना आदिमा असर पुर्‍याउन थाल्यो भने चाहिँ मानसिक रोगको रूपमा लिनुपर्छ। 

मानसिक रोगमा  शारीरिक लक्षणहरू : 

मानसिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगमा पनि विभिन्न किसिमका  शारीरिक लक्षणहरू देखिन्छन्।

कोरोनाको सङ्क्रमणको समयमा एन्जाईटी डिसअडर्स (डर, चिन्ता ,बेचैनी ), प्यानिक डिसअडर्स (एक्कासि बिना कारण उत्पन्न हुने अत्यधिक त्रास), कन्भर्सन डिसअडर्स (डर, त्रास, तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या), मानसिक आघात (पिडादायक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग), एक्युट स्टेस डिसअडर्स (तत्कालै देखा पर्ने तनाव जन्य समस्या ), जाँड रक्सी तथा लागू पदार्थको कुलत, एडजस्टमेन्ट डिसअडर्स (समायोजनको समस्या, परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था), डिप्रेसन (नैरस्यता, दिक्दारीपन), सामाजिक सञ्जालको लत, अब्सेसिभ कम्पल्सिभ डिसअडर्स (एउटै सोच वा बिचार आइरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग) तथा अन्य चिन्ता जन्य मानसिक रोगहरूको जोखिम बढेर जान्छ। यी मानसिक रोगहरूमा पनि  विभिन्न किसिमका शारीरिक लक्षणहरू  देखिन्छन् ।

जस्तो:  टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा कट्कटी खाने, झम्झमाउने, रिँगटा लाग्ने, कब्जियत वा  पखाला लाग्ने, पेट फुल्ने वा पेट ढुस्स हुने, उल्टी हुने, वाकवाकी लाग्ने,भोक नलाग्ने, खानाको स्वाद  मीठो नहुने, छाती भारी हुने, छाती दुख्ने, छाती पोल्ने, मुटु चस्किने,मुटु ढुक्ढुक् हुने, जिउ तात्ने वा चिसो हुने जस्ता शारीरिक लक्षणहरू मानसिक रोगमा  देखिन्छन् ।

यसै गरी निन्द्रा नलाग्ने, शरीरमा कमजोरी महसुस हुने, थकाइ लाग्ने,  बेहोस हुने, पसिना आउने, सास फुल्ने, स्वाँ स्वाँ हुने, घाँटी  खसखसाउने, सुक्ने, खोकी लाग्ने, हाई हाई आउने, बाडुली लाग्ने आदि शारीरिक लक्षणहरू मनोरोगमा पनि देखिन सक्छन्। अझ प्यानिक डिसअडर्समा त श्वास नै रोकिए झैँ हुने, श्वास फेर्न कठिनाइ महसुस हुने, अहिल्यै मरिएला जस्तो गरी पीडा र छट्पटीको महसुस हुन्छ।

यस्ता लक्षणहरू  देखिँदा  आफूमा कोभिड-१९ रोग पो  लाग्यो कि भनेर धेरै  व्यक्तिहरू भयभीत  हुने गरेको पनि देखिन्छ।

मानसिक रोगका कारण यस्ता  लक्षणहरू देखिने भएकाले शारीरिक परीक्षण गर्दा भने शरीरमा कुनै पनि खराबी देखिँदैन।

तनाव वा मानसिक रोगका कारण हुने यस्ता शारीरिक लक्षणहरू महसुस गरी आफूलाई कोरोना भाइरस सङ्क्रमण भयो भन्दै परीक्षणका लागि अस्पताल धाउनेहरू पनि धेरै हुन सक्छन् ।

एन्जाईटी डिसअडर्स, प्यानिक डिसअडर्स तथा अन्य चिन्ता जन्य मानसिक रोगमा  बिरामीलाई एक पटक परीक्षण गर्दा चित नबुझ्न पनि सक्छ। उनीहरू आफू कोरोना भाइरसले सङ्क्रमित भएको आशामा गरी पटक पटक परीक्षणका लागि अस्पताल पुग्न सक्छन् । 

कोभिड-१९ र मानसिक रोगमा देखिने शारीरिक लक्षण  उस्तै 

कोभिड-१९ हुँदा ज्वरो आउने , सुख्खा खोकी लाग्ने, सास छोटो हुने वा स्याँस्याँ हुने,श्वास फेर्न कठिनाइ हुने, कोरोना भाइरसका केही मुख्य लक्षण हुन् ।

साथै कोभिड - १९ का केही बिरामीमा 
थकान कमजोरी,टाउको दुख्ने, मांसपेशी दुख्ने, घाँटी दुख्ने,  स्वाद र बास्ना हराउने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राण शक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ। साथै आँखा हल्का रातो हुने, पखाला लाग्ने, उल्टी हुने, पेट दुख्ने र पाचन प्रणालीमा गडबडी हुने जस्ता लक्षणहरू पनि देखिन सक्छन्। 
मानसिक द्विविधामा पर्ने, निन्द्रा नलाग्ने, स्मरण शक्तिमा कमी, मुटुको धड्कन बढ्ने, मुटुको मांसपेशी दुख्ने/पोल्ने, हाछ्यु आउने, घाँटी खसखस हुने र बेचैनी वा छटपटी हुने जस्ता थप लक्षणहरू नयाँ प्रजातिको कोरोना  भाइरस सङ्क्रमितहरूमा देखिएको छ।

कोभिड-१९ मा देखिन लक्षणहरू र मानसिक तनाव वा मानसिक रोगमा देखिने शारीरिक लक्षणहरू झट्ट हेर्दा उस्तै लागे तापनि यी दुई फरक किसिमका रोग हुन । कोभिड -१९ शारीरिक रोग हो भने मानसिक रोग मनसँग सम्बन्धी रोग हो।

कोभिड -१९ वा मानसिक रोगको लक्षण भएको कसरी छुट्टाउने ? 

कसैमा कोभिड-१९ का जस्ता लक्षणहरू देखिएमा वा आफू सङ्क्रमित भएको आशङ्का लागेमा सर्वप्रथम स्वास्थ्य परीक्षण नै गर्नुपर्छ। स्वास्थ्य परीक्षण गर्दा  कोरोना नेगेटिभ देखिएमा यी लक्षणहरू मनोसामाजिक समस्या  वा मानसिक रोगका लक्षणहरू हुन सक्छन् । यस्तो अवस्थामा मनोरोग विशेषज्ञ, मनोविद्  वा मनोपरामर्शदातालाई भेट्नुपर्छ ।

कोभिड-१९ वा शारीरिक रोग लाग्दा यसका लक्षणहरू सीमित हुन्छन् । कोभिड-१९ बाट सङ्क्रमित भएका व्यक्तिहरूले प्राय: समान किसिमको लक्षण महसुस गर्छन्। तर मनोसामाजिक समस्या वा मानसिक रोगमा देखिने शारीरिक लक्षणहरू असीमित हुन हुन्छन् । सबै अङ्ग वा प्रणालीहरूमा लक्षणहरू देखिन सक्छन्। 

मानसिक रोगमा देखिने शारीरिक लक्षण छोटो समयको लागि हुन्छ र यी लक्षणहरू परिवर्तन भई रहन्छन् । तर शारीरिक रोगमा भने निरन्तर २४ औं घण्टा जसो एकै किसिमका लक्षणहरू रहिरहन्छ। 

कोभिड-१९ मा प्राय लक्षणहरू शारीरिक किसिमका हुन्छन् । मनोसामाजिक समस्या वा मनोरोगमा भने शारीरिक लक्षणहरूका साथसाथै मनसँग सम्बन्धी  लक्षणहरू जस्तो:  डर लाग्ने, चिन्ता लाग्ने, मनमा कुरा खेल्ने , मन दुखी हुने , पिर पर्ने आदि जस्ता लक्षणहरू देखिन्छन्।

त्यसैगरि मनोसामाजिक समस्या वा मनोरोगमा व्यवहार सँग सम्बन्धी लक्षणहरू: रुने, एक्लै बस्ने, नबोल्ने, आवश्यकता भन्दा बढी सतर्कता अपनाउने, जाँड रक्सी तथा लागू पर्दाथको सेवन गर्न थाल्ने जस्ता व्यवहार देखाउन सक्छन्।

यसका साथै मनोरोगमा सम्बन्धसँग सम्बन्धी लक्षणहरू पनि देखिन्छन्। जस्तो:  सम्बन्ध बिग्रँदै जाने, जिद्दी पना, अरूलाई विश्वास नगर्ने, अरूसँग टाढिँदै जाने आदि।

निष्कर्षमा शरीर र मन एक अर्काका परिपूरक छन्। मनमा समस्या आउँदा वा रोग लाग्दा शारीरिक लक्षणहरू पनि देखिन्छन् । यसै गरी शरीरमा रोग लाग्दा यसले मनमा पनि असर पुर्याउछ।

निषेधाज्ञाको अवधि भरि फोन मार्फत न: शुल्क मनोपरामर्श सेवाको व्यवस्था मार्क नेपालले गरेको छ। जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

(लेखक मनोविद् हुन् ।उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् । )