धरान : सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या पछि त्रसित बनेका मादीवासीको त्रास अझै हराएको छैन ।

एक साता अघि भदौ २१ गते सोमबार बिहान तेजबहादुर कार्की सहित उनको अन्य ५ जना परिवारको सामूहिक हत्या भएको खबरले सबैको ध्यान तान्यो । एकै घर परिवारका ६ जनाको सामूहिक हत्याले मादीवासीमा ठुलो त्रास पैदा गरायो ।

एकै घरका यत्ति धेरै जनाको घर वरिपरि छरपस्ट छरिएका शवहरूले गर्दा खोलागाउका मात्रै होइन मादीवासी सबै अचम्मित भए । यसरी हत्या गर्नुको कारण के हो ? किन हत्या भयो ? भन्ने जस्तो कौतुहलता जाग्न स्वाभाविक थियो ।

सङ्खुवासभाको विकट गाउँ मध्येको एउटा गाउँ मादीको खोलागाउमा घटेको यो घटनाले धेरैको ध्यान तान्यो । गत सोमबार बिहान यत्रतत्र छरिएका शवहरू देखेर प्रहरीलाई खबर गरेपछि चौकी बजारबाट ५ जनाको प्रहरी टोली घटनास्थलमा पुग्यो ।

परिवार नै सखाप हुने गरी घटाइएको यो हत्याकाण्डले मादीवासीको होस हवास नै उड्यो । वंश नै सिध्याउने यो हत्याकाण्डले ५ दिन सम्म अपराधी पत्ता लगाउन नसक्दा स्थानीयवासी झनै त्रसित बने । तालिमप्राप्त कुकुरले समेत अपराधी ठम्याउन नसकेको त्यो घटनाको ५ दिन पछि भने प्रहरीले हत्यारा पत्ता लगाएरै छोड्यो ।

हत्यारा थिए मृतक तेजबहादुर कार्कीकै आफ्नै बडाबाका नाति १३ दिने दाजुभाइ भित्रकै भतिज २५ वर्षीय लोकबहादुर कार्की ।

एकै परिवारको ६ जनाको सामूहिक हत्या पछि घर वरिपरि छरिएका शवहरू देखेका मादीवासीको आँखामा अपराधी पक्रिए पनि त्यही दृश्य झलझली आउने गरेको बताउँछन् ।

मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपलाई समेत त्यो घटनाको झझल्को आउने गरेको बताउँछन् । प्रहरी अनुसन्धानमा सँगै रहेका मेयर लिङ्थेपले भने–प्रहरीको गम्भीर अनुसन्धानले नतिजा निकाले पनि अझै मादीवासीमा डर त्रास कायमै छ ।

एकै जनाले यत्रो हत्या गरेपछि मादीवासीको त्रासलाई कम गराउन अहिले पनि घटनास्थलमा प्रहरीको एउटा टुकडी रहेको छ र पनि बीभत्स हत्याको झझल्को हट्न नसकेको स्थानीय सुमन कार्की बताउँछन् ।

भदौ २१ गते सोमबार बिहान उनलाई सामूहिक हत्याको कारेमा फोनमै आफन्तले जानकारी दिए । उनले पनि पहिले त विश्वासनै गर्न सकेनन् तर घटनास्थलमा आइपुग्दा नसोचेको दृश्य देखेको बताउने कार्कीले सामूहिक दाहसंस्कार पछि मादीको खोलागाउ आफ्नो गाउँ पुगेका उनले सामूहिक हत्याको त्यो दृश्य दिमागमा ताजै नाचिरहेको बताउँछन् ।

सामूहिक बीभत्स हत्या पछि मादीवासीमा त्रास कायमै रहेकोले अहिले पनि गाउँघरका छिमेक भेला भएर सुत्ने गरेको मादी १ का वडाध्यक्ष खेम कटुवाल बताउँछन् ।

अझ अपराधी पाँच पाँच दिन सम्म अनुसन्धानमा खटिएका प्रहरीसँगै थिए । एकै जनाले यत्तिका धेरैको एक्लै हत्या गरे र ? भन्ने प्रश्न मादीवासीमा जिवितैछ । तर प्रहरी अनुसन्धानले सामूहिक हत्याको मुख्य अभियुक्त नै तिनै लोकबहादुर कार्की साबित भए ।

अभियुक्त अहिले प्रहरी नियन्त्रणमा आइसकेका छन् र पनि त्रास हराएको छैन । जब सम्म मादीवासीमा त्रास हट्दैन तब सम्म मादीमा प्रहरी रहने सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीमबहादुर दाहाल बताउँछन् । उनी भन्छन् – फराकिलो घेराबाट अनुसन्धान सुरु गरेको प्रहरीले अन्तिममा केन्द्रबिन्दुमा अपराधी परेरै छाड्यो ।

लोकबहादुरलाई बडाउ तेजबहादुर कार्कीले कहिले कही सम्झाइबुझाई गर्दा त्यही कुरालाई रिसइबी लिएर उनले सामूहिक हत्या सम्म गर्न भ्याएको प्रहरी अनुसन्धानले देखाएको छ ।

उनले ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीय आमा पार्वता कार्की, ५८ वर्षीय श्रीमती मनमाया कार्की, ३२ वर्षीय बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीय नातिनी गोमा कार्कीको बीभत्स हत्या गरेका थिए ।

Hatteyara-Sarbajanik