धरान : सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउँमा एकै परिवारको ६ जनाको ज्यान जाने गरी सामूहिक हत्याकाण्ड भएको आज १३ दिन पुगेको छ ।

एउटा परिवार नै सखाप पार्ने गरी भएको त्यो सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालित भएको थियो ।

तालिम प्राप्त कुकुर सहित सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको विशेष टोली, त्यस पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली र प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डिएसपी लालध्वज सुबेदी र इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली घटनास्थलमा खटेको थियो ।

सङ्खुवासभाको मादी नगरपालिका–१ का तेजबहादुर कार्की सहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा गत भदौ २१ गते सोमबार बिहान शवहरू फेला परेका थिए ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

सामूहिक बीभत्स तरिकाले हत्या गरिएको घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी टोलीलाई तालिम प्राप्त कुकुरले समेत कुनै सङ्केत नगरेपछि अनुसन्धान लम्बिँदै गएको थियो ।

पाँच दिन सम्म अपराधी पत्ता नलाग्दा मादीवासी त्रसित भए । तर प्रहरीले भने अनुसन्धानलाई फराकिलो दायरामा अघि बढाउँदै आफ्नो अनुसन्धानलाई शङ्कास्पद व्यक्तिमा केन्द्रित गर्न थालेको थियो ।

फलस्वरूप घटना घटेको पाँचौँ दिन प्रहरीले मृतक तेजबहादुरकै वडावाका नाति साइनोले भतिज पर्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिन सफल भयो ।

लामो अनुसन्धान पछि लोकबहादुरले घटनामा आफू संलग्न भएको स्वीकारेपछि भदौ २७ गते आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरेर अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्‍यो ।

त्यस पछि अभियुक्तलाई जिल्ला कारागार सङ्खुवासभा चलान गर्‍यो । त्यस पछि पनि प्रहरीले आफ्नो अनुसन्धान जारी राख्नका लागि घटना स्थल प्रहरीले छाडेको छैन ।

तेजबहादुरको बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । प्रहरीले ट्र्याक गर्दा समेत फेला नपरेको मोबाइल लोकबहादुर कार्कीकै घरमा केही दिन अघि फेला पर्‍यो । यसले थप घटनाको बारेमा पुष्टि गर्ने प्रमाण फेला परेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल बताउँछन् ।

मोबाइल अभियुक्त लोकबहादुरको घरमा फेला पर्नुले घटनाको प्रत्यक्षदर्शी (आईवीटनेस) पनि छन् भन्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

यसले गर्दा अभियुक्त लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई जिल्ला प्रहरीमा सोधपुछ भइरहेको छ । यसबाट घटनाको थप सबुत प्रमाणहरू फेला पर्ने अनुसन्धानमा संलग्न प्रहरीहरूको विश्वास रहेको छ ।

मादीमा त्रास कायमै :
सामूहिक हत्याकाण्ड भएको १३ दिन पुग्दा सम्म अझै मादीवासीमा त्रास भने कायमै छ ।

घटनास्थलमा प्रहरी टोली भएको भए पनि अनुसन्धानले अझ के के हुने हो मादीवासीमा कौतुहलता पैदा गरेसँगै राति एक्ले हिँडडुल गर्न समस्या रहेको मादी १ का वडाध्यक्ष खेम कटुवाल बताउँछन् ।

उनी भन्छन् – जिल्लाबाट प्रहरीहरू आइरहने क्रम अझै जारी रहे पनि मादी खोलागाउँवासीमा त्रास कायमै छ । मादी नगरपालिकाका मेयर विदुर लिङथेप भने नगरबासीहरुलाई त्रसित नहुन आग्रह गर्छन् ।

घटनाको अनुसन्धानमा प्रहरी सफल भएको र बाँकी सबुतहरू फेला पर्दै गएकोले सामूहिक हत्याकाण्डको दोषी पक्राउ भइसकेकोले डराउनुपर्ने नभएको मेयर लिङ्थेप बताउँछन् ।