हतारो, लतारो, पछारो हुँदै
ज्यान बचाउदैछन् उनी
घाँटीमा स्टेथ बोकी कुद्दै छन्
स्यालुट छ डाक्टरलाई ।।

पछि पर्‍या छैनन्
बिरामी उचाल्न, बोक्न,
राख्न र सान्त्वना दिन
जोड्दै छन् अक्सिजन हतार हतार
स्यालुट छ डाक्टरलाई ।।

सिरियस भए रे बिरामी
हतार गर्दै कुद्दै छन्
परवाह छैन, न हातमा ग्लोब्स्
न फेस सिल्ड न पिपिई
स्यालुट छ डाक्टरलाई ।।

परिवार छन् उनका पनि
रोएका छैनन् उनी
सम्हालिँदै, सम्हाल्दै, सम्झाउँदै छन्
बिरामी र आफन्तलाई
कस्तो सहनशीलता उनमा
स्यालुट छ डाक्टरलाई ।।

गुमाउँदै छन् ज्यान दिनमा
५०, १००, १५०, २००
निडर भएका छन् उनी
साहस छ उनमा
निस्फिक्री ज्यान बचाउँदै छन्
स्यालुट छ डाक्टरलाई ।।

सोधेका छौँ उनलाई
भोक लाग्या छ भनेर ?
न‌ भोक, न निन्द्रा, न तिर्खा भन्छन्
खटिरहेका छन् ज्यान बचाउन
स्यालुट छ डाक्टरलाई ।।

२४ घण्टा पिपिईमा गुम्सिएर
जोड्दै छन् अक्सिजन
दिँदैछन् औषधि
घण्टा घण्टामा प्रेसर ज्वरो नाप्दै छन्
स्यालुट छ नर्सहरूलाई
स्यालुट छ डाक्टरलाई ।।

भेट्न पाएका छैनन्
परिवार, आफन्त, इष्टमित्र
गुम्सिएका छन् एउटै कोठामा
हेर त पिपिई भित्र बलिन्धरा पसिना
पिडा लुकाइ राखेका छन्
स्यालुट छ डाक्टरलाई ।।

सहेर बसेका छन् उनी
ढुङ्गाले हान्दा, लछार्दा, पछार्दा
परवाह छैन मरे पनि आफू
न त छ आफन्तको
त्यसैले बचाइ रहेछन् बिरामी
स्यालुट छ डाक्टरलाई ।।

सहदैछन् गाली
सहदैछन् पिटाई
तिमि भए कति रिसाउँथ्यौ
पिट्थ्यौ होला अरूलाई
हेर त खै रिसाए उनी ?
स्यालुट छ डाक्टरलाई ।।

भन्दथे २ दिन भो खाना नखाएको
धेरै भो परिवार हेर्न नपाको
हेर त कसरी चित्त बुझाएको
न रोएका छन्
न आत्तिएका नै
स्यालुट छ डाक्टरलाई ।।

स्यालुट छ ती पिपिईमा
गुम्सिएका नर्सहरूलाई
स्यालुट छ ती नि:स्वार्थ डाक्टरहरूलाई
स्यालुट छ नर्सहरूलाई
स्यालुट छ डाक्टरहरूलाई ।।