धरान : पर्यटन प्रवद्र्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ 'नेपाल ग्रामीण चलचित्र महोत्सव' हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिनको चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । महोत्सव कहाँ हुने भन्नेबारे केही दिनमा जानकारी दिइने जनाइएको छ ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र (सर्ट फिल्म), डकुमेन्ट्री र फिचर चलचित्रलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकहरूसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

उनले महोत्सवमा विभिन्न भाषाभाषीकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरू समेत समावेश गर्न सकिने बताए । चलचित्र स्क्रिनिङसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसपको आयोजना समेत गरिनेछ । चलचित्र अत्याधुनिक एलइडी स्क्रिन र अत्याधुनिक साउण्ड सिस्टममा प्रदर्शन गरिनेछ ।

प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आम दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कसप तथा मास्टर क्लास हुने, चलचित्रकर्मीहरूको बिचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरक्रिया हुने, उत्कृष्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड वितरण गरिने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।

कार्यक्रम गरिने क्षेत्रको सांस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाइएको छ । नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

त्यस्तै, नेपाली मौलिक तथा गाउँघरमा रहेका विकृति विसङ्गति तथा त्यहाँको कला संस्कृतिको विषयमा चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने, चलचित्र क्षेत्रमा लागेर आफ्नो भविष्य बनाउन चाहने नयाँ बिद्यार्थीहरुलाई नेपालीपन र नेपाली मनको चलचित्र बनाउने विषयको ज्ञान दिने पनि महोत्सवको उद्देश्य हुने सापकोटा बताउँछन् । ‘नेपाल प्राकृतिक रूपमा सुन्दर र विविध कला संस्कृतिले भरिएको देश हो’ सापकोटाले भने, ‘यहाँको सुन्दरता र कला देशमा मात्र नभई विदेशमा समेत पुर्याउने र यो महोत्सवलाई यस पटक राष्ट्रिय रूपमा आयोजना गरे पनि आगामी बर्सहरूमा अन्तर्राष्ट्रिय बनाउँदै लगिने छ ।’

गाउँका दर्शकले कस्तो चलचित्र मन पराउँछन् र कस्तो चलचित्र बने हुन्थ्यो भन्ने आशा राख्दछन् भन्ने जानकारी हुने आयोजक संस्थाले अपेक्षा लिएको छ।

यस किसिमका महोत्सव तथा चलचित्रसँग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य सहरहरूमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनताबिच नेपाली चलचित्र र चलचित्रकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या पनि बढ्ने विश्वास आयोजकमा छ।

त्यस्तै, राजधानीबाट थुप्रै चलचित्रकर्मी तथा कलाकारहरू गाउँ गएर बस्दा, त्यहाँको गतिविधिको प्रचार गर्दा आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने समेत आयोजकको विश्वास छ।