इटहरी : इटहरी १६ मा १५ वटा घर सहितको व्यवस्थित घरहरू निमार्ण भएका छन् । खेलमैदान, खाने पानी, ट्वाइलेट सहितको बस्ती तयारी अवस्थामा छ ।

१ करोड २३ लाख लागतमा निमार्ण भएको बस्तीमा अहिले झार जङ्गल पलाउन थालेको छ । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत लगानीमा घर निर्माण गरिएको हो ।

राजमार्ग देखी ४ किलोमिटर दक्षिण एकान्त ठाउँमा छ बस्ती । २ वर्ष अगाडी नै तयार भएको बस्ती परिवारको अभावमा अलपत्र परेको छ । छेउछाउका बालबालिका खेल्ने र गाईको चरन भएको छ बस्ती ।

बहुबर्षे सडक निमार्णको क्रममा सडक ओगटेर बसेका स्थानीयलाई सार्ने उपमहानगरको तयारी छ । २ वर्षदेखि खाली रहेको बस्तीको रेखदेख स्थानीय कुमार भुजेलले गरिरहेका छन् । रेखदेख गरेकै आधारमा उनले एउटा घर पाएका छन् । बाकी १४ घरमा बस्ने मुसहरको खोजीमा छ उपमहानगरपालिका ।

निमार्ण समितिका अध्यक्ष शिव नारायण चौधरी रोजगारीको समस्या देखाउँदै मुसहरहरू बस्न नमानेको बताउँछन् । राजमार्ग छेउमा बस्दा रोजगारी पाइने भनेर भित्री बस्तीमा नआएको उनले सुनाए ।

मुसहर समुदायका अगुवा चमरु ऋषिदेव असुविधाको कारण देखाउँदै नबसेको बताउँछन् । राती कोही बिरामी भयो भने अस्पताल पुर्‍याउन नसक्ने भएपछि आफूहरू बस्न नमानेको उनको भनाई छ । “काम गर्न बाहिर गएपछि आउन रात पर्छ । टाढा भएकाले आउन जान सुविधा छैन ।

राती गएर खाना पकाएर खान ढिला हुन्छ । बाढी डुबानको समस्या छ । त्यो भएर हामी जाँदैनौ ।,” उनले भने, “पहिला बनाउने बेलामा हामीलाई नसोध्ने अहिले जबरजस्ती बस भनेर हुन्छ ? राजमार्ग छेउतिर पनि धेरै ऐलानी जग्गा थिए । त्यहाँ किन नबनाएको । हामीलाई किन नसोधेको ? हामी सबैलाई जागिरको व्यवस्था हुनुपर्‍यो । बजार र अस्पताल चाहियो अनीमात्र हामी जान्छौ ।”

बाउ बाजेले बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनले बुढेसकालमा बसाई नसर्ने अडान लिए । उनले गाईबस्तु जस्तो जति बेला ठाउँ नसर्ने भन्दै अहिले बसेकै ठाउँमा घर बनाई दिनुपर्ने बताए ।

चमरुको जस्तै तर्क गर्छीन मल्की ऋषिदेव । उमेरले ७० कटेकी उनी नातिनातिना हेरेर दिन काट्छिन् । छोराहरू नभएपछि छोरीहरूकै भरमा बाचेकी उनलाई पुरानो बस्ती छोड्न मन छैन ।

छोरीहरू छिमेकी बस्तीमा विवाह गरेर गएको कारण आफूले रेखदेख पाएको उनी सुनाउँछिन् । आफुलार्ई सार्ने भए २ घर छोरीहरू पनि सँगै लानुपर्ने उनको अडान छ । सुरुमा आफूलाई नसोधी सरकारले जबरजस्ती गरेर हटाउन खोजेको भन्दै उनले दुखेसो पोखिन ।

स्थानीय सागर फिडमा रोजगारी पाएका उनीहरू बजारमा ज्यामी काम गर्नेगर्छन । राजमार्ग नजिकै बसेका उनीहरूलाई स्थानीय उद्योगले रोजीरोटी पुर्‍याएको छ । जसको लोभमा मुसहर बसाई सर्न मानेका छैनन् ।

उता उपमहानगरपालिकाले वडा नम्बर १६ का अध्यक्ष दीपनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय टोली बनाएको छ । सोही टोलीको प्रतिवेदनको आधारमा बस्ती पुनर्स्थापना गरिने भएको हो । घरबार विहीन गरिब परिवारको छनौट गरी बस्तीमा राख्ने व्यवस्था मिलाइने चौधरीले बताए । उनका अनुसार यो वर्षभित्रै बस्तीमा नयाँ परिवारले प्रवेश पाउने जानकारी दिए ।

मुसहरले बस्ती अस्वीकार गरेपछि बहुवर्षे सडक समेत अन्योलमा परेको छ । सडक खाली गर्ने योजना असफल हुने भएपछि सडक विस्तारमा अन्यौलता देखिएको हो ।

Musahar-Basti-1