धरान : धरान उपमहानगरपालिका वडा नं. ९ मा 'कर्जा तथा जोखिम व्यवस्थापन' सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समता समाज नेपालको आयोजना र ९ नम्बर वडा कार्यालयको आर्थिक सहायतामा धरान-९ स्थित सगरमाथा होटलमा अन्तरक्रिया सम्पन्न भएको हो ।

धरान वडा नं. ९ मा मात्र करिब २५ वटा सहकारी रहेका छन् । कुनै सहकारी संस्थाहरूको कार्यालय मात्र छ भने केही सहकारीका पदाधिकारी फरार छन् । उपयुक्त ऋणी पहिचान नगरेका कारण सहकारीहरू धराशायी बनेको सहकारी अभियान्ताहरु बताउँछन् ।

स्थानीय तह र सहकारी संस्थाहरूको सहकार्य गरी जनताको विश्वास कसरी जित्ने भन्ने विषयमा छलफल भएको थियो । हाल समस्याको रूपमा रहेको तरलताले सम्पूर्ण सहकारीमा प्रत्यक्ष असर रहेको र सहकारी संस्थाहरूले सामाजिक दायित्व समेत पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

संस्थाका अध्यक्ष खेम रनपहेलीको अध्यक्षता र वडा नं. ९ का वडा अध्यक्ष रत्न बहादुर कटुवालको प्रमुख आतिथ्यता वडा सदस्यहरू र टोल विकास संस्थाका अध्यक्षहरूको आतिथ्यतामा १२ वटा सहकारी संस्थाका २÷२ जना प्रतिनिधिहरू सहभागी भएका थिए ।