धरान(डेस्क):आफ्नै डेराअघि निर्वस्त्र मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शवको पोष्टमार्टम रिपोर्ट आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विज्ञले गरेको पोष्टमार्टम रिपोर्ट जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको छ । उक्त रिपोर्टमा रिनाको मृत्युको कारण माथिबाट खसेर लाग्ने चोटले भएको उल्लेख गरिएको छ । गत शनिबार बिहान आफ्नै डेराअघि रिना निर्वस्त्र मृत अवस्थामा फेला परेकी थिइन् । कतिपय स्थानीयबासीले उनको बलात्कार गरी हत्या गरेको हुनसक्ने आशंका पनि गरेका थिए । तर, पोष्टमार्टम रिपोर्टले भने उनको मृत्युको कारण अग्लो स्थानबाट खसेर बज्रिदा लाग्ने चोटले भएको खुलाएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । ‘माथिबाट झरेर टाउकोमा, छातीभित्रको अंगहरुमा गम्भीर चोटको कारणले मृत्यु भएको रिपोर्ट आएको छ,’डिएसपी श्रेष्ठले भने,‘बलात्कार भएको वा उनी गर्भवती भएको भन्ने आशंकामा पनि त्यस्तो केही छैन ।’

केही दिनअघि उनको हत्या भएको दाबी गर्दै पथरी उद्योग वाणिज्य संघको पहलमा संघर्ष समिति गठन भएको थियो । उनीहरुले प्रहरीले गम्भीर भएर अनुसन्धान नगरेको आरोप लगाउदै आन्दोलन चर्काए । तर, प्रहरीले भने विज्ञ टोली ल्याएर नै घटनाको सबै पक्षबाट सुक्ष्म अनुसन्धान गरिरहेको बताउदै आएको थियो । पथरीको अवस्था बिग्रदै गएपछि जिल्लाबाट डिएसपी नवराज ढुंगाना इलाका प्रहरी कार्यालय पथरीको कमाण्ड सम्हालन आएका छन् । अहिले पनि उनीसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

स्थानीयबासीले कतै बलात्कार गरेर हत्या गरी शव डेरा अघि ल्याएर फालेको अनुमान गरेका थिए । तर, घटनाकै दिन प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतकको कपडा आफ्नै कोठाभित्र खोलेर राखेको खुलिसकेको थियो । साथै, राती करिब ११ बजेतिर छोरासहित नै कोठामा आएर सुतेको पनि खुलेकोले कसैले बाहिर बलात्कार गरेर ल्याएको वा हत्या गरेर फालेको भन्ने प्रहरीले कुनै क्लु फेला पार्न सकेको थिएन । छोराकै वयानअनुसार पनि आमाले मदिरा पिएको र कोठामा पनि वियर ल्याएर आएको खुलेको थियो । तर,स्थानीयबासीले भने उनको हत्या भएको भन्दै आन्दोलन थालेका थिए । मृतकको प्रेमी भनिएका कमल नेपाललाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा राखेको छ ।

मिडियाबाट अफवाह फैलाउने काम भयो

रिना हत्याको बिषयमा शुरुवातदेखि नै प्रहरीले सुक्ष्मढंगले अध्ययन गरिरहेको थियो । तर, ३ तलाबाट आफै खसेर मृत्यु भएको क्लुबाहेक मृतकमाथि हत्या भएको भन्ने संकेत वा क्लु भेटिरहेको थिएन । विभिन्न मिडियामा भने अनेक समाचारहरु आइरहेका थिए । प्रेम सम्बन्धदेखि मास्क लगाएर रिक्सामा केही बोराले बेरेर लैजादै गरेको, मृतकको खुट्टामा हिलो माटो कसरी आयो ? जस्ता कुराहरु निरन्तर प्रकाशन गरे भने युट्युबरहरुले पनि सनसनी र भाइरल बनाए । जसले गर्दा यो घटना अतिरञ्जित हुन पुगेर सामाजिक सद्भाव खलबलिएर शान्ति सुरक्षामा गम्भीर असर पुगेको प्रहरीको निष्कर्ष छ ।

‘प्रहरीले सुक्ष्मढंगले घटनालाई हेरिरहेको थियो । मृत्यु, हत्या वा आत्महत्या केही पनि भनेको थिएन,’मोरङ प्रहरी प्रवक्ता श्रेष्ठले भने,‘अतिरञ्जित तरिकाले पोष्ट र भाइरल बनाएर २, ४ लाइक त बढ्ला तर यसले जनताले पाउनुपर्ने सत्य,तथ्य सुचनाबाट बञ्चित हुन्छ, सामाजिक सद्भाव, शान्ति सुरक्षामा पनि खलल पुग्छ ।’ डिएसपी श्रेष्ठले त्यस्ता पोष्ट र मिडियाहरुलाई पनि सुष्मरुपमा नियमन गरिरहेको बताए । सामाजिक सद्भावमा खलल पुगेको बिषयमा दोषी देखिए कारबाहीको दायरामा पनि ल्याउने उनले बताए । ‘यस्तो गतिविधिले त सञ्चार जगतलाई नै राम्रो हुदैन, अतिरञ्जित गर्दा लाइक त बढ्ला तर विश्वासनीयता विस्तारै हराउछ,’उनले भने,‘त्यस बिषयमा पनि सुक्ष्मढंगले बुझ्दैछौ, दोषी देखिए कानुनी कारबाही पनि गछौ ।’