धरान : धरानमा विभिन्न क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरु छन् । त्यस मध्ये अलिक फरक उद्देश्य तथा फरक सोच लिएको धरानमा सृर्जनशिल युवा संगठन पनि छ । विद्यार्थी तथा युवाहरुलाई उजागर गर्ने उद्देश्य बोकेर स्थापना भएको यस संस्थाले युवा श्रष्टा कार्यक्रम २०७६ को आयोजना गरी एक जनालाई सम्मान गरेको छ ।

शनिबार महेन्द्र बहुमुखी क्याम्पस, धरानको कबर्ड हलमा एक कार्यक्रमको आयोजना गरि युवा साहित्यकार तथा कवि (अज्ञात मान्छे) सुरज हुक्पाचोङबाङलाई युवा श्रष्टा सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ कवि बम देवानले खदा र सम्मानपत्रले सम्मान गरेका थिए । उक्त कार्यक्रममा युवा श्रष्ठा सम्मानित सुरजसहित प्रदिप योङहाङ, केजि शुब्बा लगायतले आफ्नो कविता सुनाएका थिए ।

आज भन्दा ३ वर्षअगाडि पब्लिक युवा सृर्जनशिल संस्थाका रुपमा स्थापना भएको संगठन २०७६ सालमा आएर सृर्जनशिल युवा संगठनका रुपमा परिणत भएको हो ।

विद्यार्थी तथा युवाहरुलाई उजागर गर्ने, युवाहरुको नेतृत्वलाई अगाडि बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको सोही संस्थाका सचिव (अलौकिक योद्धा) युवराज राईले बताए । हरेक वर्ष विभिन्न क्षेत्रमा आवद्ध राजनिति, साहित्य, गीत संगीत तथा सामाजिक विद्यामा काम गर्नेहरु मध्ये एक जनालाई युवा श्रष्ठा सम्मान गर्ने गरेको सचिव राईले बताए । उनले भने, ‘विभिन्न क्षेत्रमा युवाहरुको सहभागितालाई एक जुट गराउँदै, कला, संस्कृति, भाषा संरक्षण, सम्बद्र्धन तथा उत्थानका लागि पनि भूमिका निर्वाह गरेका छौं ।’

कार्यक्रम सृजनशिल युवा संगठनका अध्यक्ष सन्जोक हुक्पाचोङबाङको अध्यक्षतामा भएको थियो । यसैगरी कार्यक्रममा बरिष्ठ लोक गायक कृष्ण कुमार लावती, मनि राई ‘गोठाले’, गोपाल प्रयास, इन्दु योन्जन नेपाल, रामबहादुर लिम्बु, लक्ष्मी श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति सागर सरगम चेम्जोङ्ग लगायतको उपस्थिति रहेको थियो ।