धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीले सिनेट बैठक अचानक स्थगन हुनुको चित्तबुझ्दो जवाफ दिन माग गरेको छ ।

प्रतिष्ठानस्थित फ्याकल्टीले मंगलबार विज्ञप्ती जारी गर्दै ४३ औं सिनेट बैठक अचानक स्थगन गर्नुको कारण माग गरेको हो । साथै, हठातरुपमा सिनेट बैठक स्थगन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सोसाइटीले जनाएको छ । सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेल र महासचिव डा.एस.पी.रिमालले हस्ताक्षरित विज्ञप्तीमा महिनौं अघि योजनासहित प्रस्ताव गरिएको बैठक रातारात स्थगन हुनु लज्जास्पद घटना भएको पनि उल्लेख छ । प्रतिष्ठानको विभिन्न शाखा र कर्मठ फ्याकल्टीहरुको मनोवल गिर्दो अवस्थामा रहेको पनि उल्लेख छ ।

विज्ञप्तीमा सोसाइटीले ३ वटा प्रश्न उठाएइएको छ । पहिलो बुँदामा रजिष्ट्रार नभै सिनेट बैठक नहुने हो भने बैठकको मिति नै तय नहुनुपर्ने र बैठक बोलाएर सबै सदस्यहरु काठमाण्डौंमा भेला भइसकेपछि एक रातअघि रजिष्ट्रार नभैं सिनेट नहुने वहानामा विना सुचना बैठक स्थगन गर्नु गैरजिम्मेवारपुर्ण कार्य भएको उल्लेख गर्दै भनिएको छ, ‘विश्वविद्यालय जस्तो प्राज्ञिक स्थलमा यी र यस्ता घटनाले कस्तो उदाहरण प्रस्तुत गर्दैछन् ? प्रज्ञस्थल कति हदसम्म उपक्षित छ ? कस्तो भविष्य निर्माण उन्मुख हामी छौं ? भन्ने अनगिन्ती प्रश्नहरु एकैसाथ उब्जिएका छन् ।’

press

यस्तै, विज्ञप्तीमा सिनेट बैठक स्थगत गर्दा प्रतिष्ठानलाई परेको आर्थिक भारको जिम्मा कस्ले लिने ? भन्ने पनि प्रश्न फ्याकल्टी सोसाइटीले उठाएको छ । साथै,प्रतिष्ठानको छवि र प्रतिष्ठामा आँच आएको र प्रतिष्ठानको भावी दीर्घकालिन हितमा पर्न गएको क्षतिपूर्ति कस्ले तिर्ने ? भन्ने पनि सोसाइटीले प्रश्न गरेको छ । प्रतिष्ठानको नियमावलीअनुसार कम्तीमा ३ साताअघि नै सदस्यहरुलाई सुचना दिएर सिनेट बैठक बोलाउने गरिन्छ । यसपटक ४३ औं सिनेट बैठक कार्तिक २२ गतेको लागि तय भएको थियो । बैठकको लागि सबै सदस्यहरु काठमाण्डौं पुगिसकेका थिए । तर, स्वास्थ्य मन्त्री उपेन्द्र यादवले २१ गते अचानक बैठक स्थगित गरेका थिए । प्रतिष्ठानको रजिष्ट्रार पद रिक्त भएको र कानुनी उल्झन हुने भन्दै बैठक स्थगन गरिएको बताइए पनि मन्त्री यादवको स्वार्थ पुरा नहुदा सिनेट बैठक नै अन्योलमा परेको हो ।

मन्त्री यादवले आफ्नो निकट रहेका प्रतिष्ठानका चिकित्सक एवं हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा.बि.एन.यादवलाई रजिष्ट्रार बनाउनको लागि उपकुलपति डा.गुरु खनाललाई सिफारिश गर्न दबाब दिएका थिए । उपकुलपति खनालले मन्त्री यादवको दबाबअनुसार सिफारिश गर्न नमाने पछि उनले सिनेट बैठक नै स्थगित गरिदिएका हुन् । मन्त्री यादवका छोरा र डा.यादवकी छोरीबीच चाडै विवाह हुने बताइएको छ ।