इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरी ३ सय जनाको हुलमा राहत बाढ्न गाउँ छिरेपछी बिरोध भएको छ । लकडाउनको समयमा घर बाहिर निस्किन नहुने सरकारको निर्देशन लत्त्याउँदै उनी ठुलो समूह लिएर गाउँ पुगेका थिए ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन एक हप्ता अगाडीबाट लकडाउनको घोषणा भएको छ । जुन अझै एक साताको लागि थप गरिएको छ । अत्यावश्यक अवस्थामा २५ जना भन्दा माथि ३ फिटको दुरी कायम राखेर भेट्न भनिएको छ ।

ठुलो सङ्ख्या लिएर राहत बाढ्न गएका चौधरी विरुद्ध स्थानीयले विरोध समेत गरेका थिए । मेला जस्तै लगाएर राहत बाढेको भन्दै स्थानीय बुझ्नेहरूले भने विरोध गरेका थिए ।
इटहरीको वडा नम्बर १ र १७ को सिमानामा पर्ने मुसहर बस्तीमा मेयर चौधरी आफैँ राहत वितरण गर्न पुगेका बेला कोरोना फैलिने सक्ने भन्दै विरोध भएको थियो ।

Mayar-Food-Distribution

इटहरी उपमहानगरको शनिवार बसेको बैठकले विपन्न परिवारलाई करिब ८०० रुपैयाँ बराबरको तेल चिनी,दाल,नुन चामल वितरण गर्ने निर्णय गरेको थियो ।
पालिकाको निर्णय भन्दै मेयर चौधरीले प्रति परिवार करिब १० केजी.चामल र एक के.जी. नुन का दरले राहत लिएर मुसहर बस्तीमा पुगेका थिए ।

वडा नम्बर १७ का वडाध्यक्ष भगवान् लाल शाहका अनुसार पालिकाको निर्णय अनुसार वडा कार्यालयले सिफारिस गरेपछि मात्रै करिब ८०० बराबरको खाद्यान्न स्थानीयलाई राहत वितरण गर्ने निर्णय भएको हो । तर मेयर साबले आफूलाई थाहा नदिई राहत वितरण गरेको उनले बताए । मेयर चौधरीले गलत तरिकाले जनताको स्वास्थ्यलाई ध्यान नदिई त्रास फैलाएको आरोप लगाए ।

यस्तै वडा नम्बर १ का कार्यवाहक अध्यक्ष निश्चल पोखरेलले पनि कार्यपालिकाको बैठक विपरीत आफूलाई थाहै नदिई राहत वितरण गरेको बताए । वडाको सिफारिसका आधारमा राहत वितरण गर्ने भनिएको तर कुनै खोजी खबर नगरी मेयर चौधरी राहतका लागि आउँदा अचम्म लागेको उनको भनाइ छ ।
उता मेयर चौधरीले भने सके आफैँ आएर राहत वितरण गर्नु तर काम गर्नेलाई विरोध नगर्न सुझाएका छन् ।

भिडियाे साभार : प्रदेश पाेर्टल  (https://pradeshportal.com)