पथरी : पथरीशनिश्चरे नगर भित्र विदेशबाट आएर घरमै क्वारेन्टाइनमा बसिरहेका नगरवासीको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्यकर्मी सहितको टोली खटिएको छ ।

स्वास्थ्यकर्मी सहितको टोलीले नगरका विभिन्न वडामा पुगेर उनीहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएको छ ।

नगरको ३,६,८ र ९ नम्बर वडामा विदेशबाट हालै आएका र क्वारेन्टाइनमा बसिरहेकाहरूको स्वास्थ्य स्थिति बारे बुझेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए । आचार्यका अनुसार उनीहरूको घरमै पुगेर परिवारका अन्य सदस्यको स्वास्थ्य बारे पनि जानकारी लिइएको छ ।

नगर प्रमुख दिलीपकुमार राई,जनस्वास्थ्य निरीक्षक आचार्य र सम्बन्धित वडाका जनप्रतिनिधि टोलीमा रहेका छन् ।

आचार्यका अनुसार कोरोना सङ्क्रमण भनिएकी महिला सँगै कतार एयरवेज वाट नेपाल आएका २ सँगै ८ जनालाई टाडी स्थित क्वारेन्टाइनमा पठाइएको र उनीहरूको परिवारको बारेमा नियमित स्वास्थ्य अवस्था बारे जानकारी लिइरहेको छ । सो बाहेक हालै विदेशबाट आएका अरू भने स्वयम् क्वारेन्टाइनमा रहेका छन् ।

टोलीले गरेको निरीक्षणमा अहिले सम्म कुनै पनि परिवारका सदस्यमा कुनै स्वास्थ्य समस्या नदेखिएको बताएको छ । यसै बिच नगरभित्रका प्रत्येक वडाबाट विदेश गएर आएकाहरूको तथ्याङ्क सङ्कलन कार्य समेत भइरहेको छ ।