‘हो बावु म भुटान फर्किन चाहन्छु’ दामोदर अधिकारीले लामो सुस्केरा हान्दै भने । २० वर्षअघि भुटानबाट लखेटिएर झापाको माइधार हुदै मोरङको पथरी शरणर्थी शिविरमा बस्दै आएका उनी अहिले उमेरले मात्र होइन, आफन्तका आधारमा पनि कमजोर बनेका छन । ३ कोरी काटेका दमोदर बा अहिले आफनो सेक्टरमै एक्ला बनेका छन् ।
दश बर्ष अघिसम्म सेक्टरमा मात्र होइन क्याम्पमै चल्तिका थिए दामोदर बा । कसैलाई अप्ठारो पर्यो भने उनी नै अघि सर्थे । राशन चामल बाँड्नेदेखि शिविरका छाप्रो बनाउन पनि उनी नै अगाडि बढ्थे ।
उनको विगत पनि फरक छ । भोटेले भुटानबाट खेदनु अघि साम्ची जिल्लामा हुनेखाने नेपालीमुलका भुटानीमा उनी गनिन्थे । २६ रोपनी जग्गा भएका उनका बगौचामा फलेका सुन्तलाले नै वर्ष भरीको गर्जाे टथ्र्योे । भुटानमै हुदा उनले बिवाह गरे । भुटानबाट लखेटिदा ३ र ५ वर्षका २ दुधे बालक बोकेर हिडेको याद झल्झली आउछ उनलाई ।
भुटानमा प्रजातन्त्र प्राप्तीको आन्दोलनमा लागेका टेकनाथ रिजालको पाटीका सदस्य थिए, उनी । त्यहिकारण भुटानी प्रशासनको तारो बने । साम्ची भरीका नाम चलेकाले पनि उनी माथी भुटानी प्रशासन आक्रमक बनेको थियो । भुटानी सेनाको आक्रमण भएपछि गोठभरीका गाइ वस्तु र खेतभरीका फसल त्यतीकै छाडेर भारतको पानी ट्याङकीसम्म आइपुगे उनीहरु । जंगलै जंगलको बाटो काटन कम्ता कस्टकर थिएन उनीहरुलाई ।
भारत हुदै झापाको माइकिनारमा बस्दा नै उनकी जहानले देहत्याग गरिन् । हैजा फैलिए पछि उनी मात्र होइन, २ छोरा र जहानै विरामी परे । कसोकसो अरु बाँचे पनि उनकी जहानलाई बचाउन सकेनन् । त्यो वेला, दिनदिनै मृत्युवरण गर्ने को संख्या कति हो कति । मधेसको गर्मी, त्यो माथी मान्छे माथी मान्छे । सक्नेले किरियाकर्म गरे, नसक्नेले त्यतिकै छोडे ।
पछि पथरी क्याम्पमा ल्याएपछि उनका छोरा हुर्काउन उनलाई निक्कै सकस प¥यो । नजिकै वस्ने ढुङ्गेलकी छोरी विवाह गरे । विवाह गरे के भन्ने घर भित्राए । शरणार्थी जिवन आफैमा सकसपुर्ण । दाताले भरेर दिएको माना चामलले छोराछोरीको छाक टार्नु पर्ने । भुटानमा हुदा फराकिलो ठाउँमा बस्ने बानी यहाँ चौघेरामा वस्नु पर्ने बाध्यता । कष्ट पनि साह्रै व्योहोर्नु पर्ने । भनि साध्य थिएन । नजिकैको पथरी वजारमा हप्तामा २ दिन हाट लागे पनि उनका लागी त्यो हाट हाटमै सिमित थियो । पछि वस्तीतिर मजदुरी गर्न थालेपछि अलिअलि पैसा हातपथ्र्योे । त्यो पनि केटाकेटीलाई नयाँ लुगा किन्नैमा सिमित हुन्थ्यो । वेला वेला सोच्थे त्यो आन्दोलन नगरेको भएपनि त हुने । फेरी उनको मनमा ज्वालामुखी दन्किन्थ्यो । ‘भोटेको थिचोमिचो सानो थियो । वख्खु लगाउनु पर्ने, आफुले देवता मान्दै आएको गाइको मासु खानु पर्ने ।’ फेरी सम्झन्थे पुर्खाको जन्मभुमीमा आए भनेर के खुसी हुनु यहाँका बासिन्दा पनि हामीलाई तेस्रो मुलुककै जस्तो गर्छन । ‘भुटाने’,‘वगडा चामल’जस्ता उपनामले बोलाउँछन । छेउमै पुग्दा ‘कस्तो गनाएको उसिना चामल’ जस्ता छेडछाडले उनको मन छियाछिया हुन्थ्यो ।
उनलाई त्यो बेलाको समय पनि याद आइरहेको छ । उनको जेठोछोरोले बस्तीकी क्षेत्रीकी छोरी भगाएर ल्याउदा बस्तीका मान्छेले झण्डै उठिवास लगाएका । वस्तीका मान्छेले शिविर घेरेर छोरी निकाल्न लगाएका थिए । उनका छोरा बस्तीकै एक निजी विद्यालयमा पढाउथे । त्यहि पढाउने शिक्षीकाको प्रेममा परेका उनले भगाएर बिवाह गरे । घरमा वस्तीका मान्छेले घेरे पछि दुवै जना ४ वर्ष जति चितवनतिर बसे ।
भुटान फर्किन भुटानी शरणार्थी नेताको आव्हानमा भएको आन्दोलनमा उनी अग्रभागमा थिए । २ जनाले ज्यान गुमाएको त्यो आन्दोलन फगत आन्दोलन मात्र भयो । न भारतले बाटो दियो, न भुटानले माटो दियो । त्यसपछि आन्दोलन भएनन् । भुटानी नेता आर. के. वुढाथोकीको हत्या पछि त दामोदरमा घर फर्किएला भन्ने आश पनि म¥यो । अरु भुटानी नेताप्रति उनको आश स्खलित भएर गयो ।
समय फेरीयो भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नस्थापना पछि वस्ती र शिविरका बीचको सम्वन्ध फेरीयो । हरेक दिन अमेरिका, अष्टे«लिया र क्यानडा उडन थालेपछि विस्तारै उनी पनि एक्लिदै गए । एक दिन उनका जेठा छोरा अमेरिका जाने कागज मिलाउने भन्दै पथरी आउदा उनका जेठानसँगै थिए । तिनै जेठान हुन पहिला बहिनी भगाउदा क्याम्पमा आगो लगाउन अगाडि थिए । धन्न त्यहाँका प्रहरी र शरणार्थीले आगो नियन्त्रणमा लिए, पछि केहि भएन ।
दामोदरले मनमनै सोचे, पैसा भए सी जे पनि जायज हुने रहेछ । उबेला काटोछिनो गर्ने साला जेठानहरु अहिले आन्द्रो जोडिएको जस्तो गर्छन् । जेठा अमेरिका लागेसँगै कान्छोले अष्ट्रेलियाको बाटो ततायो । कान्छाले त बुवा र कान्छी आमालार्ईसँगै जाउ पनि भन्या हो तर दामोदरले नै मानेनन् ।
कान्छी पटीका १ छोरी, १ छोरा उनीहरु मध्ये कान्छो छोरो अलि क्रान्तिकारी स्वभावको । उ आन्दोलन गरेरै भएपनि भुटान फर्किनु पर्ने जोड वलमा थियो । उ भन्थ्यो ‘एक दुइजना गद्दार भुटानी नेताले भुटानी शरणर्थीलाई छिन्नभिन्न बनाएर सधैँ शरणर्थीकै पगरी गुथाउने भए ।’ आफ्ना दाजुहरु अमेरिका र अष्टे«लिया जान लागेको उस्लाई पटक्कै मन परेको थिएन । भुटानी राजाको चालमा विदेशी शक्तिहरु लागे, कान्छो विनोदको सधै गुनासो थियो । विस्तारै उ भुटान कम्युनिष्ट पार्टीको सदस्य बनेछ । पछि भुटानको जयगाँउ नजिकै विष्फोटक पदार्थ सहित पक्राउ प¥योे । भुटानी सेनाको गोलीले उसको चोला उठ्यो ।
छिन्नभिन्न परिवार भएपछि उनकी कान्छी श्रीमति पनि कान्छोसंगै अष्ट्रेलिया उडिन् । वृद्ध अवस्थामा साथ दिने भनेर सोचेकी उनकी जहानले पनि छोडेपछि उनी अहिले फिक्का एक्का भएका छन् । छोरीेले बस्ती कै एक जना प्राध्यापकसँग लगन गाठो कसिन । यो पटक वस्तीका कुनै पनि व्यक्ति दुश्मन बनेन किनकी छोरी पनि अष्टे«लिया जाने कन्र्फम थियो ।
छोराछोरी मात्र तेस्रो देश गएनन् । भुटानदेखिको सधियार गुरुङ्ग जेठा, वेघा काइलो, नरपति बाजेको परिवार पनि अमेरिका गयो । विस्तारै उनीहरु बसेका हट खाली हुदै गए । कतिपय हटमा त खुदुनाबासी र गोल्धापबाट आएकाले भर्न थाले कतिमा आयातित बुहारी र ज्वाईहरु बस्न थाले ।
दाताले दिदै आएको रासन घटाए, मट्टितेल कटाएको निक्कै भएको थियो । अमेरिका पुग्नेका परिवारले पैसा पठाउन थालेपछि शिवीर भित्रै मनिट्रान्सफर खुल्न थालेका थिए । पथरी, दमक जस्ता बजारको व्यापार पनि बढ्न थालेको थियो । शिविर आसपासमै होटल खुल्न प्रतिस्पर्धा चल्न थाल्यो तर दामोदरलाई शिविर झन उराठ र उजाड लाग्नथाल्यो । पहिला जस्तो बुढाबुढी बसेर गफ गर्ने थलो सुनसान बन्न थाल्यो । महेन्द्र राजमार्गसँग सटेको भुटानी शिविरसँगै थिए फुटवल मैदान अहिले त्यहा फुटवल खेल्नेको संख्या नै छैन अहिले । मैदानमा झार उम्रेर जंगल बन्दै थियो ।
फुटवल चौरी खाली हुन थालेको थियो । पहिला जस्तो साग्रीला ए र साग्रीला बि बिचको फुटवल प्रतिष्पर्धा हुदा आफ्नो आफ्नो टोलीलाई हौस्याउने तरुनीतन्नेरीको संख्या थिएन त्यहाँ । सबै भन्दा बढि त दामोदर बाको मन त्यो दिन दुःखेको थियो, जुनदिन सँगै सिगौरी खेलेका नरपति बाजे तेस्रो देश जान आइओएमको सेतो गाडी चढ्दै थिए । साम्चीमा सँगै खेलेको, सँगै हुर्किएको नरपति बा पनि बावुबाजेको थातथलो छोडेर विदेशी भुमीमा जादै थिए । उनको मन त के जान चाहन्थ्यो र उनका छोराछोरी र नाति नातिनाको भविश्यका लागि उनी पथरी छोडदै थिए । टिलपिल आँशु खसाएर नरपति बाजेले भने ‘साइला बाँचे पक्कै भेट होला ।’
दामोदरका चोटमाथि चोट थपिने क्रम जारी थियो । श्रीमति अष्ट्रेलिया हिडेपछि उनको छाप्रो चकमन्न थियो । अतितमा उनका आसपास भएको धारोमा पानी भर्नेको लाइन बिहानदेखि नै लाग्थ्यो । कति पटक त पानीकै लागि भएको आईमाई केटाकेटीको झगडा उनैले छुटयाएका थिए । त्यो बेला वरु रौनक वेग्लै थियो । त्यहि समय भएको भए पनि विरामी हुदा तातोपानी दिने मान्छे त हुन्थे तर अहिले दामोदर बा विरामी हुदा कोही छैनन तातोपानी र औषधी दिने ।
समयक्रम फेरियो, वरीपरी जंगल ढाकियो । भुटानी शरणार्थीका छाप्रा पनि नासिदै आए । बस्तीकाले फेरी के को नाममा त्यहा भवन बनाउन थाले । अहिले त प्रदेश सरकारले नै घोषणा गरेर क्याम्पलाई संग्राहलय बनाउने भन्ने सुने पछि फेरी उनको छाप्रो कता सार्ने हो दामोदरलाई चिन्ता थपिएको छ ।
भुटानमा हालै चुनाव सम्पन्न भयो, प्रधानमन्त्रीमा डा निर्वाचित भए । अब फेरी दामोदर बाको आशा पलाएको छ । साम्ची, जयगाँउ र थिम्पु पुगेर आफ्नौ जन्मभुमीमा मर्ने । भुटानी राजाले मन गरे प्रधानमन्त्रीले काम गरे यहाका भुटानी शरणार्थी शिविरमा बसेका धेरै जनाको सास आरामले जान्थ्यो भन्ने । नेपालको लागि सधैको घाडो भएर बस्न उनलाइ मन छैन । अस्ती एक दिन भेटन म उनको छाप्रामा पुगे । उनी भन्दै थिए, ‘हो म भुटान फर्किन चाहन्छु ।’
–पथरी मोरङ्ग