जेष्ठ ५ गते शनिबार घडीमा विहान ७ बजेको छ । कोठा बाहिर पानी परिरहेको छ, मन भने भारी भारी । किन मन भारी ? प्रश्न उठ्न सक्छ । भन्न मन छ, तर समय, परिस्थिति र बाध्यताले गर्दा शब्दमा बयान गर्न सकिरहेको छैन ।
विहानको आठ बजे घरबाट पानी माथि दौडनका लागि पानी सँगसँगै घरबाट निस्किएँ । हाम्रो यात्रा थियो, सप्तकोशी नदीस्थित चतराको पुलदेखि राजाबास हुँदै उदयपुर, सप्तरी र सुनसरीको सिमानामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन गर्ने । मनमा केही आशा थियो कि त्यो शनिबारको यात्रा सार्थक बन्नेछ, केही उत्साहित भएको थिएँ । उक्त अवलोकन भ्रमण इटहरीको प्रिमिएर होटल स्कुलले लगेको थियो । स्कुलका विद्यार्थी, अन्य शिक्षक तथा हामी केही पत्रकारहरु रहेका थियौँ । ४ वटा वोटमा गरी करीब ३५ जनाको समूह थियो हाम्रो ।
मानिसको जीवन नदीसँग सामाजिक, सांस्कृतिक र धार्मिक कुराहरु गाँसिएका हुन्छन् । मनमा कता कता डर पनि थियो किनकि सप्तकोशी नदी तिब्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी भएको कारण तर र्याफ्टिङ गर्दा डराउन नहुने कुरा पनि थियो । अरुण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी र इन्द्रावती गरी सप्तकोशी नदी भएको हो । सात वटा मुख्य सहायक नदी मिलेर बनेको सप्तकोशी नदी ।
सुनसरीको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्ने यो नदी कोशीब्यारेजको ५६ वटा ढोकय हुदै भारत प्रवेश गर्छ । भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिसिन्छ । यहि छ, श्रीलङ्का टापु, जो राज्यविहिन छ अहिलेपनि । यो नदीको बहाव निकै तेज छ । मनमा डर थियो, कतै नदीमा डुबिने पो हो की ? तर लाइफ ज्याकेट लगाएपछि जतिसुकै गहिराइमा रहेको नदीमा पनि नडुबिने रहेछ । यी कुरा रिभर डिप रयाफ्टिङले जान्ने अवसर दियो ।
जिन्दगीको पहिलो र्याफ्टिङ यात्रा थियो । त्यसैले मन पुलकित थियो । र्याफ्टिङ गर्नु अघि हामीलाई ब्रिफिङ गराइयो । अर्थात पानीमा के गर्न हुने, के नहुने भनेर निर्देशन भयो । कस्तो पानीमा मज्जा हुन्छ, र्याफ्टिङ यो कुरा सिक्ने अवसर पाउनु सुखद कुरा थियो । ता कि यसपटक मात्रै हैन अरु नै बेला र्याफ्टिङ जाँदा पनि काम लाग्ने कुरा सिकाइयो । केही प्राविधिक कुराहरु सिकेपछि जीन्दगीमा पहिलोपटक र्याफ्टिङका लागी बोटमा चढ्यौ । दिउँसोको १२ बजेको समयमा चारवटा बोटमा करीब ३५ जनाको समूह थियौ ।
हामी सिधै चतराको पुलबाट नभएर त्यहाँबाट जेटबोटमा बराहक्षेत्र जाने र त्यहाँबाट बोटमा र्याफ्टिङ गर्ने कुरा थियो तर केही प्राविधिक कारणले गर्दा सोही ठाउँबाट बोटिङ गर्नुपर्ने भयो । अरु अनुभवी मानिसहरुको लागी त्यहाँबाट गर्नु खासै मज्जाको बिषय थिएन तर मेरो लागि भने कतिबेला पानीमा पौडी खेलौ जस्तो भएको थियो । हामी बोट चढेको केही समयपछि चतराको पुल नजिकै पानीको छाल तिब्र गतिमा थियो, र्याफ्टिङ गर्दा यसलाई र्यापिड भनिदो रहेछ । हामी त्यहाँ पुग्नै लाग्दा गाइड गरेर लगेका दाईहरुले नडराउनुहोस्, केही हुँदैन मजाले समात्नु भन्नु भएको थियो । बरु त्यसो नभनेको भए डर लाग्ने थिएन । हामी र्यापिडमा पुग्यौ, पानी माथी र पानी मुनी हुँदा असाध्यै मज्जा आयो । तर डर कति लाग्यो भन्ने कुरा शब्दमा बयान गर्न सक्दिन । कतिपय कुराहरु शब्दमा बयान गरिरहनु पर्दैन या भनौ बयान गर्न सकिँदैन । त्यो यात्रानुभूति मेरो लागी त्यस्तै क्षण बनेर उभिइदियो ।
म यात्रामै रहँदा सोचिरहेको थिएँ कि हामी जीन्दगी बाँचेका मात्रै रहेछौ । जीन्दगीको रमाइलो भने लिएका रहेनछौ । यो अनुभूति हुनु मेरो लागी स्वभाविक हो । प्रिमिएर होटल स्कुलका सिइओ सुनिल भुषाल र मर्निङ टाइम्स पत्रिकाका सम्पादक सागर भट्टराईले मलाई र्याफ्टिङ लगेर जीवनकै मनोरञ्जन प्रदान गर्नुभएकोमा कृतज्ञ छुँ ।
र्याफ्टिङबाटै पानीमा हाम फालिरहनुभएका सरहरु देखेर मलाई पनि पानीमा हाम फाल्न मन लागिरहेको थियो । तर कसैले मलाई तपाईले जीवनमा नजान्ने कुरा के हो ? भनेर प्रश्न गर्छ भने त्यो हो पौडी खेल्नु । मलाई पनि त्यस्तै भईरहेको थियो । कहिल्यै पौडी खेलिएको छैन, कतै डुबिने पो हो कि तर लाइफ ज्याकेटको सहाराले त्यसो नहुनेमा म विश्वस्त थिएँ ।
केही समय सबैजना नदीमा झरेर पौडी खेलेपछि म पनि शुरेश बस्नेत (रिभर डिप र्याफ्टिङ सञ्चालक ) सरसँगको सहारामा पौडी खेल्ने भएँ । डर पनि लागिरहेको थियो । शुरुमा त मुखमा पानी समेत खाएको हुनाले केही असहज भयो । त्यसपछि भने आँफैमा आत्मविश्वास पलायो । केही समय पानीमुनी रहेँ । पानीसँगै नाचिरहेँ, पानीसँगै जिस्किरहेँ । पानीका माछाहरुसँग लुकामारी खेलेर केही बेरपछि बोटमै चढियो । अब भने अघि भारी भारी भएको मन शान्त, मौन थियो । मनमा रहेका पीरहरु त्यहि नदीमा बगाइसकेको थिएँ, पर–पर ।
हामी २ बज्दा सुनसरीको सिसौघाटमा पुग्यौ । त्यहाँ खाना बनाएर खाने कुरा थियो । त्यहाँ रहेका माझीदाईहरुसँग कोशीको बारेमा केही कुराहरु गर्यौँ । उनीहरु कोशीमा माछा मार्न थालेको बषौ भईसकेछ । भेट भएको केही समयमा नै पाँच केजीको माछा मारेर हाम्रो अगाडि ल्याउनु प्रमाण थियो उनीहरुको । बर्खायाममा भने कोशीमा बाढी आउने हुँदा माछा मार्न नपाउने दुःखेसो पोख्छन् उनीहरु । माछा मार्ने भए पनि कसैले कम पैसामा माग्ने तथा केहीले धम्की दिने गरेको समेत माझीहरुर सुनाउँछन् । कोशीमा यसरी जीवन बुन्नेहरु पनि यहाँ रहेको कुरा जान्न पाइयो । उनीहरु आफ्नो छोराले बिदेशबाट पैसा पठाउने र माछा मार्न नजानु भन्दा रहेछन् । त्यै पनि पहिल्यैदेखि गरिखाको पेशा छाड्न नसक्ने उनीहरुले सुनाए । सोही ठाउँमा पसल सञ्चालन गरेर बसेका एक युवक पनि बर्खायाममा निकै समस्या हुने सुनाउँछन् । यसका लागि स्थानीय सरकारले कुनै पनि काम नगर्नु दुःखद् कुरा थियो ।
हामी त्यहाँको केही कुराहरु अवलोकन गरी खाना खाएर पुन र्याफ्टिङ गर्ने भयौै । अब भने अझ मज्जा हुनेवाला थियो । हामी बसेको बोट चै कोशीमा पल्टाउने योजना बनायौ । पानीमा बोट पल्टाउँदा सास नलिनु र सास नफेर्नु कठिन कुरा थियो । हामी चढेको केही समयपछि हाम्रो बोट पल्टियो पानी मुनी, केहीबेर बस्दा मुटु च्युँच्युँ भयो । डरले मुटु काम्न थालिसकेको थियो । केही समयपछि भने पानीमाथी नै तैरिन थालियो । शुरेश सरले मलाई सहारा दिइरहनुभएको थियो । नदी तीब्र गतिमा भएको कारण म निकैबेर पानीमै बगिरहेँ, निरन्तर निरन्तर । करीब आधा घण्टा पानीमा पौडिरहेपछि पुन : बोटमा चढियो, मन त्यसै फुरुङ्ग थियो ।
हामी प्रकासपुर पुगेर बसबाट घर आउने पुर्वयोजना थियो । त्यसपछि निरन्तर प्रिमिएरका बिद्यार्थीहरु, पत्रकार र शिक्षकहरुसँग हामी र्याफ्टिङ गरिरह्यौ । त्यो बेलासम्ममा ६ बजिसकेको थियो । कोशी नजिकैको डुब्दै गरेको घामसँगै म पनि डुबिरहेको थिएँ, भोली उदाउने आशमा । समय अभावका कारण हामीले कोशीटप्पुको अवलोकन गर्न पाएनौ, हामी ७ बजे प्रकाशपुरबाट घर फर्किने भयौ । करीब ७ घण्टा पानीमाथी र पानीमुनी दौडदाँ निकै यादगार भयो, त्यो समय । यी कुराहरु शब्दमा लेख्दै गर्दा म त्यहिँ पुगिरहेजस्तो भान भईरहेको छ । हरेक यात्रा यादगार बनेर बसेको छ मुटुमा ।
तिनै यादगार बनेको यात्रा सम्झिरहँदा म यतिबेला सोचिरहेकोछु फेरी र्याफ्टिङ जान पाए !