धरान: मितेरी विकास बैङ्कले मोरङका दुई सामुदायिक विद्यालयलाई कम्युटर प्रदान गरेको छ ।

बैंकले रङ्गेली नगरपालिका ८ दर्वेशामा रहेको महालक्ष्मी माध्यमिक विद्यालय र कानेपोखरी गाउँपालिका ३, तल्लो हरकपुरस्थित शिक्षा सदन माविलाई कम्प्युटर प्रदान गरेको हो । बैंकले बुधबार दुवै विद्यालयलाई ५ ५ वटा कम्प्युटर हस्तान्तरण गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) तुलसी प्रसाद वस्तीले रंगेलीका मेयर दिलीपकुमार अग्रवालको उपस्थितिमा महालक्ष्मी माविलाई कम्प्युटर प्रदान गरेका थिए भने कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेको उपस्थ्तििमा शिक्षा सदन माविलाई कम्प्युटर प्रदान गरेका थिए । बैंकका सञ्चालक किसन मास्के पनि कम्प्युटर हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

महालक्ष्मीका प्रअ ज्योति राजवंशीले बैंकको सहयोगले कम्प्युटरको व्यवहारिक अध्ययनमा सहज बनाउने भन्दै बैंकको सहयोगप्रति आभार व्यक्त गरेका थिए । यस्तै, शिक्षा सदन माविका प्रअ नारायणप्रसाद काफ्ले पनि निजी विद्यालयका सुविधा जस्तै सामुदायिक विद्यालयमा हुदा विद्यार्थीहरुलाई धेरै लाभ पुग्ने बताए । महालक्ष्मीमा ४५० र शिक्षा सदनमा ३०६ विद्यार्थीहरू अध्ययनरत छन् ।

miteeri

मितेरीको मुख्य कार्यालय धरानमा रहेको छ । सामुदायिक विद्यालयमा पनि कम्प्युटरको पढाइमा आवश्यक सामग्री(कम्प्युटर) अभाव हुन नदिन सहयोग गरिएको सिइओ वस्तीले बताए । उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको हो । यसले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर वृद्धिमा लाभ पुग्ने उनले विश्वास व्यक्त गरे । भविष्यमा अन्य सामुदायिक विद्यालयहरुलाइ पनि सहयोग गर्दै जाने वस्तीको भनाई थियो ।