नयाँ वर्ष आउनुभन्दा १० दिन जति अगाडि वैशाख १ गते बनभोज जाने तरखर हुन्थ्यो । हामी गाउँमा भएका केटाकेटीहरु मिलेर १०, २०, ५० रुपैँया उठाउथ्यौँ र, बनभोजलाई चाहिने सामान किन्न जान्थ्यौँ । गाउँका ८, ९ जना भुराभुरीहरु मिलेर हामी वैशाख १ गते विहानै घरबाट स्टिलको थाल र बटुको बोकेर बनभोज जान्थ्यौँ । कसैले घरबाट कराई, कसैले भाडाँ त कसैले डाडु र पनिउँ बोकेर हिड्थ्यौँ । घरदेखि १ किलोमिटर पश्चिम ‘केप्छाकी टाहार’ सम्म । आहा ! त्यो वैशाख १ गते ।
अहिले यी स्मृतिहरु कम्प्युटरको किबोर्डमा लेखिरहँदा ती दिनहरुले झक्झकाईरहन्छन् । २०६४/०६५ सालताका कुरा गर्दैछु म । त्यो बेला हामी स्कूलमा पढ्दा लप्सीको दानाले गुच्छा खेलेको कुराले झक्झकाउँछ यो नयाँ वर्षमा । गुरास ढकमक्क फुलेको, अैसेलु फक्रिदै गरेको, घंगरुले नयाँ पालुवा दिईरहेको र उत्तिसको रुखले नयाँ पात दिईराखेको, पारी भीरमा खर काट्ने बेला भएको ।
यी कुराहरुले त झन् नयाँ वर्षको आगमन भईरहेको आभास हुन्थ्यो । नयाँ वर्ष आउनु भन्दा अगाडि बार्षिक परीक्षाको समापन हुनु र घरमा उमारिएको साग बोकेर हरेक महिनाको २० गते लाग्ने सप्तमी बजारमा बेच्न जानु । त्योबाट भएको आम्दानीको केही रुपैँयाले डोनट र हलुवा किनेर खानु । घर फर्किने बेला राजेश हमाल, बिराज भट्ट, रेखा थापा, निखिल उप्रेती, रमित ढुङ्गाना लगायत कलाकारहरुको पोष्टर किनेर फर्किनु । त्यतिबेला ती कलाकारहरुको माग बढ्दो थियो भनेर यी कलिला दिमाखलाई के थाहा ? त्यै पनि पोष्टर किनिन्थ्यो । अनि घर पुगेपछि भर्खरै चिचिला लाग्दै गरेको आल्चा खाँदै साथीहरुलाई गफ लगाउनुको मज्जा । आहा त्यो नयाँ वर्ष ।
अहिले ती स्मरणहरुले मनको ढोका ढक्ढकाउँछ । अहिले ती पोष्टर किनेर साथीलाई म ठूलो मान्छे भनेर भन्ने दिन पनि कता गायब भए ? दिन, महिना सँगै समय र परिस्थििति पनि फेरिदोँ रहेछ । त्यो यता एक दर्जन बढी त पात्रो नै फेरिए । चार वटा पात्रो त आँफैले निकालिसकिएको रहेछ । हिसाब गर्दै जाँदा समयले पनि कति छिटो नयाँ वर्ष दिएर जान्छ र ल्याईदिन्छ जीन्दगीमा पुराना दिनका यादहरु र बनाईदिन्छ भावुक । अहिले सोच्छु जीन्दगीमा कहिल्यै पनि फिल्म नहरेका हामीलाई कसरी थाहा भयो होला तिनै हिरो हिरोनी हुन् । तिनै मानिसको पोष्र्टर टाल्दा सबैले पत्याउँछन् ।
ती स्मृतिहरु अब सम्झनामा मात्रै हैन, इतिहास बनेर उभिईरहेका छन् पुराना पात्रोहरुमा । त्यो समयमा कहिल्यै प्रेम पत्र लेखिएन । हुन त अहिले नि कहाँ लेखेको हो र ? तर, सधैँ नयाँ वर्ष आउनासाथ आफ्नो प्रेमी प्रेमिकासँग नयाँ नयाँ ठाउँ घुम्न जाने । रमाईलो गर्ने । आहा यी दिनहरु सम्झदा....।
स्कुल पढ्दा कलिलो दिमाग छदाँ सँगै पढ्ने साथीहरुसँग बोल्न पनि लाज लाग्थ्यो । अहिले ती साथीहरु कता होलान् ? कस्ता भए होलान् ? यी प्रश्नहरु कहिलेकाँही अनुत्तरित बनेर दिमाखमा आउँछन् । अहिले सहर रेडिमेट शुकामनाले भरिएको छ । सहर र गाउँको अन्तर हरेक कुरामा फरक हुँदो रहेछ । गाउँमा प्रत्येक दुःखमा साथ दिने मान्छे भेटिन्छन् त सहरमा प्रत्येक पाईलामा दुःख दिने । खैर केही छैन, छाडिदिउँ यी कुरा
बरु कवि भुपी शेरचनले भनेजस्तो–
‘....फेरि एकचोटि
भयानक बमहरु बोकेर, उडिरहेका हवाइजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।’
कवि शेरचनले लेखेको ‘नयाँ बर्ष’ शीर्षकको कविता जति पटक पढेपनि मिठास हुन्छ । प्रत्येक नयाँ वर्षमा उनका कविताले एकपटक मन हल्याएर जान्छ । उनले भनेजस्तै तपाईँलाई नयाँ वर्षको शुभकामना । र, अन्त्यमा विगतका वर्षहरुमा भए गरेका नराम्रा काम क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् । तपाईँ र तपाईँको परिवारमा दीर्घायुको हार्दिक शुभकामना ।