धरान: कला, साहित्य तथा रंगमञ्चको विकास गराउने उद्देश्यले बैशाख ३१ र जेठ १ गते बाल नाटक महोत्सव हुने भएको छ ।

धरान उपमहानगरपालिकाअन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा नगरस्तरीय अन्तरमावि प्रतियोगितात्मक नाटक महोत्सव हुन लागेको छ । प्रतिष्ठानका सदस्य एवं नाटक महोेत्सवका संयोजक गोपाल देवानका अनुसार यो बर्ष महोत्सवको लागि ७ वटा नाटकहरु मात्र छनौट भएको छ । गत बर्ष भने १३ वटा नाटकहरु छनौट भएको थियो । ‘केही नाटकहरु लेखनको विधि, विषयवस्तु र दर्ताको निर्धारित समयभित्र आएनन्,’संयोजक देवानले भने,‘अर्को कारण भनेको विद्यार्थीहरु उत्साहित हुँदा पनि विद्यालयको भने नाटकप्रति उदासीनता हो । नाटकले पढाइमा वाधा पुग्छ भन्ने गलत मान्यता भएर हो ।’

महोत्सवमा नाटकको संख्यामा कमी आएपनि यो बर्ष पुरस्कार राशीमा भने वृद्धि भएको छ । यो बर्ष प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुने नाटकले क्रमशः नगद ३५ हजार, २५ हजार, १५ हजार र १० हजार पाउनेछ भने उत्कृष्ट निर्देशकले नगद १० हजार पाउनेछ । गत बर्ष पहिलो र दोस्रो पुरस्कार क्रमशः २५ र २० हजार थियो । तेस्रो, सान्त्वना र उत्कृष्ट निर्देशकको पुरस्कार भने गत बर्षको समान छ ।

drama1

गत बर्ष धरान १४ स्थित दन्तकाली माविको चंगा चेट प्रथम भएको थियो भने सुनाखरी एकेडेमीको जर्नी अफ मिराले दोस्रो पुरस्कार जितेको थियो । यस्तै, धरान १३ स्थित पब्लिक माविको सपना साकार नामक नाटक तेस्रो हुदा शारदा नमुना बालिका माविको लागुपदार्थ ओसारपसार नाटकले सान्त्वना पुरस्कार जितेको थियो । चंगा चेटका निर्देशक कृष्ण तिम्सिनाले उत्कृष्ट निर्देशकको पुरस्कार पाएका थिए ।

सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राईको प्रमुख आतिथ्यमा हुने महोत्सवमा ३ जना महिला निर्णायक रहने प्रतिष्ठानले जनाएको छ । निर्णायकहरुमा धरानका अग्रज रंगकर्मी शारदा शाक्य र शोभा खजुमसँगै परिवर्तन थिएटर झापाकी रंगकर्मी तथा निर्देशक कविता नेपाल रहनेछन् । शाक्य र खजुम अनामसँग आवद्ध धरानका चर्चित रंगकर्मी हुन् । नाटक मञ्चनअघि धरान उपमहानगरपालिकाको प्रांगणबाट बालहिंसा अन्त्य गरौं, धरानलाई बालंिहसा मुक्त गरौं भन्ने ब्यानरसहित र्याली पनि निकालिने आयोजकले जनाएको छ ।

dramaa

यो बर्ष बिषयबस्तु ‘बाल हिंसा’ रहेको छ । गत बर्षको नाटक महोत्सवको बिषयवस्तु बालअधिकार रहेको थियो । नाटकलाई पढाइको माध्याम मानेर विदेशमा नाटकको प्रयोगबाट पढाइ गर्ने गरिन्छ । तर, नेपालमा भने नाटकले पढाईमा वाधा पुग्ने धारणा छ । कतिपय विद्यालयहरु भने नाटक मञ्चनको तयारीमा लाग्ने खर्च र झञ्झटले पनि पछि हटेको कारण यसपाली संख्या कम भएको प्रतिष्ठानको बुझाई छ । चालिसको दशकमा धरान रंगमञ्चको शहरकोरुपमा चिनिए पनि पछिल्लो समय यहाँको कला, साहित्य र रंगमञ्च विविध कारणले सुस्ताएको थियो । अहिले धरानलाई पुनः रङ्गमचीय क्षेत्रबाट अघि बढाउन रंगकर्मीहरु सक्रिय भएर लागेका छन् भने स्थानीय तहमा जनप्रतिनिधि आएपछि गठन भएको प्रज्ञा प्रतिष्ठानले पनि गत बर्षदेखि बाल नाटक महोत्सव शुरु गरेको हो ।

फाइल तस्बिर: गत बर्ष सम्पन्न पहिलो बाल नाटक महोत्सवमा पहिलो र दोस्रो भएको नाटक मञ्चन गरिदै ।