धरान:धनकुटाको चौबिसे गाउँपालिका ५, राजारानीका समिक्षा देवान एसईई परीक्षा दिएपछि धरान झरेको तीन साता बित्न लाग्यो । उनी हरेक दिन केही नयाँ सामाजिक क्रियाकलाप वा तालिममा सहभागी भएर ज्ञान आर्जन गरिरहेकी छिन् ।

उनीसँगै एसर्ईई दिएर धरान आएकी रजनी लिम्बूको दिनचर्या पनि त्यसैगरी बितिरहेको छ । दुवैले स्कुलमा पढेको किताबी ज्ञान भन्दा यहाँ भिन्नै अनुभव र ज्ञान हासिल गरिरहेका छन् । ज्ञानको दायरा फराकिलो भएको महसुस भएको दुवै बताउँछन् । खासमा उनीहरु धरान जेसिजले आयोजना गरेको टेस्टी टेस्टी मिस एसईई २०१९ मा सहभागी छन् । अडिशनबाट छनौट भएपछि झण्डै तीना साता लामो तालिममा रहदा उनीहरुले आफुमा धेरै परिवर्तनको अनुभूति गरिसकेका छन् । समीक्षा भन्छिन्,‘स्कुलमा पढेको भन्दा धेरै भिन्न खालको ज्ञान पाइरहेका छौ, एकदमै राम्रो भइरहेको छ ।’

मिस एसईईका फाइनलको लागि विभिन्न जिल्लाबाट ३० जना छात्राहरु छनौट भएका छन् । आयोजकले उनीहरुलाई यतिबेला विभिन्न तालिम दिइरहेको छ । परीक्षा दिएपछि रिजल्ट नआउदासम्मको खाली समयलाई सदुपयोग गर्ने र उनीहरुको ज्ञानको दायरा बढाउने, आत्मविश्वास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको धरान जेसिजको भनाई छ । कार्यक्रमको उद्देश्य अनुसार नै आफुहरुले ज्ञान हासिल गरिरहेको मोरङको कानेपोखरी गाउँपालिका ६ की अनिषा श्रेष्ठ बताउँछिन् । ‘नयाँ नयाँ बिषयमा जानकारी पाइराखेका छौ, व्यक्तित्व विकास गर्ने र आफुलाई कसरी प्रस्तुत गर्ने भनेर सिक्ने मौका पाएका छौ,’उनले भनिन् ।

miss see

चौबिसे गाउँपालिकाकी रजनीले पनि जीवनमा पछिसम्म उपयोगी हुने ज्ञान पाइरहेको बताइन् । ‘धेरै लाभदायी तालिमहरु भइरहेको छ, दैनिक जीवनमा काम लाग्ने बिषयहरु सिकिरहेका छौ,’उनले भनिन् । धरान जेसिका अध्यक्ष मनिष शाहीले सुन्दरी प्रतियोगिताकोरुपमा नभै एसईई दिएका छात्राहरुको व्यक्तित्व विकास गराउने र उनीहरुको प्रतिभा प्रस्तुत गर्ने अवसरकोरुपमा कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले भने,‘यो कार्यक्रमलाई ब्युटी पेजेन्ट भन्दा पनि ट्यालेन्ट शो गराउने, उनीहरुको व्यक्तित्व विकास गराएर प्रतिभा उजागर गर्ने अवसर भन्छौ ।’

क्रिएटिभ डाईरेक्टर तथा भूपू अध्यक्ष मानभगत चाम्लिङका अनुसार छनौट भएका छात्राहरुलाई किशोरीहरुमा महिनावारीको क्रममा देखा पर्ने समस्या, लक्षण र त्यसबाट बच्ने उपाय, सृजनात्मक लेखन, उद्घोषण कला, भाषणकला, क्याटवाक रयाम्पवाक, डाईनिङ इटिकेट तालिम, महिला अधिकार, सम्बध व्यवस्थापन (समाज, मिडिया), लाईफ स्किल, आर्थिक साक्षरता, नेतृत्वकला बिकास, सकारात्मक सोच बिकास, प्राथमिक उपचार कोर्ष, कार्यक्रम व्यवस्थापन, उत्प्रेरणा, विपद व्यवस्थापन, आधारभुत पत्रकारिता तालिमलगायतका जिवन उपयोगी तालिम दिइएको छ । ‘यो तालिमहरुले सहभागी छात्राहरुलाई जीवनभरको लागि काम लाग्छ, त्यसैले हामीले बाहिरी सुन्दरता भन्दा पनि बौद्धिक सौन्दर्य बढाउन, उनीहरुको प्रतिभालाई अझै निखार्न ध्यान दिएका छौं,’क्रिएटिभ डाइरेक्टर चाम्लिङले भने,‘यहाँ सिकेको ज्ञानले सामाजिकीकरणमा पनि ठुलो मद्दत पुग्छ ।’

IMG_0171

मिस एसईईको फाइनल जेठ ४ गते हुनेछ । विजेताले उपाधि ताजसँगै नगद ४० हजार र कक्षा ११ र १२ मा छात्रवृत्तिसहित विभिन्न उपहारहरु पाउनेछन् भने फस्ट रनरअपले पनि ताज, नगद ३५ हजारसहित कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनेछन् । यसैगरि, सेकेन्ड रनरअपले पनि ताजसँगै नगद २५ हजार, कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनेछन् । यस्तै, मिस ट्यालेन्ट, मिस व्युटीफूल, मिस फ्रेन्डसीप, मिस क्याटवाक, मिस फोटोजेनिक, मिस डिसीप्लीन, मिस वेष्ट ड्रेसअपलगायत विभिन्न टाइटल उपाधि पनि दिइनेछ ।