इटहरी : सुन्दरहरैचा नगरपालिका २ का दयाराम फुयाँल पुराना कुखुरा पालक कृषक हुन् । विगत १५ वर्ष देखी कुखुरा पाल्दै आएका विगतमा पेसा प्रति उनी धेरै उत्साहित र खुसी थिए । विदेश जानुभन्दा बरु नेपालमै केही गरौँ भनेर फुयाँलले बोइलर कुखुरा पालन सुरु गरेका थिए ।
अघिल्ला वर्षहरूमा देखिने बर्डफ्लुले समेत कुनै असर नगरेको उनलाई लकडाउनले भने ठुलो क्षति पुर्यायो । लकडाउनको कारण खुवाउने दाना पाउन छाडेपछि उनले कुखुरा मारेर पुर्ने निर्णय गरे । तिन वटा खोरमा रहेका १५ सय बढी कुखुरा मारेर खाल्डोमा हालेका हुन् ।
‘केही दिन पालौभने चारो छैन बेचौँ भने बजार छैन । 'केही सीप नलागेपछि मन दह्रो बनाएरै पुर्ने निर्णय गरेको हुँ' उनले भने, ‘गाउँमा बाढ्नेकी भन्ने कुरा पनि भयो । तर पछि कुनै कारण हैजा फैलियो भने कुखुराको कारण सबै मान्छे बिरामी भए भन्ने आउँछ भनेर पुर्नु नै उपयुक्त लाग्यो ।’
१५ सय कुखुरा नष्ट गर्दा ६ लाख बराबरको घाटा भएको उनी बताउँछन् । अन्तिममा रहेका ५० वटा पनि गाउँलेलाई सस्तो दाममा दिएर उनले खोर खाली गरेका छन् । विगत १५ वर्षको अनुभवमा यस पटक धेरै कुरा सिकेको उनी बताउँछन् । लामो समय बजार नखुल्दा पनि कुनै घाटा नहुने गरी व्यवसाय गर्नुपर्ने उनको बुझाइ छ । बोइलरकै ठाउँमा लोकल कुखुरा पाल्दा यो समस्या नहुने उनी सुनाउँछन् ।
फुयाँल मात्र हैनन् सलपुरका महेन्द्र लिम्बुले पनि ३ हजार कुखुरा गाडेका छन् । उनको समस्या पनि फुँयालको जस्तै हो ।
बजारमा चारो नपाउने पाए पनि लकडाउनले बजार निस्कनै नपाउने भएपछि पुर्नुको बिकल्प नदेखेको उनको भनाइछ । बोइलर कुखुरा लामो समय पाल्दा झन् धेरै घाटा हुने भएकोले थप घाटा हुन नदिन यो निर्णय गरिएको उनले सुनाए ।
व्यवसायमा घाटा भएपछि त्यसको क्षतिपूर्ति व्यवसाय बाटै गर्नुपर्ने भएकोले लिम्बु र फुयाँल दुवैले लोकल कुखुरा पालन गर्ने सोच बनाएका छन् । स्थानीय स्तरमै घाँस र चारो उत्पादन गरी लोकल कुखुरा पालन गर्ने सोचमा पुगेका हुन् ।