झापा : सवारी चाप र साँघुरो सडकका कारण प्रदेश नं. १ मा दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले चालु आर्थिक वर्षमा भएको सवारी दुर्घटनालाई हेर्ने हो भने पनि दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या अधिक भएको पाईएको छ ।

प्रदेश १ ट्राफिक कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिना प्रदेश १ का १४ जिल्लाका विभिन्न ठाउँमा दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम ल्याएको तर निमार्णधिन सडक र जोखिम मोलेर यात्रा गर्दा समेत ठुलो दुर्घटना हुने गरेको बताउँछन्।

सवारी दुर्घटना बढ्नुमा मादक पदार्थ सेवन गरी चालकले सवारी सञ्चालन गर्नु, साँघुरो सडकमा तीव्र गति, सवारी साधनको अत्यधिक चाप, बाटो काट्दा सर्वसाधारणको गल्ती जस्ता लगायतका कारणबाट हुने गरेको ट्राफिक प्रहरीको दाबी छ ।

प्रदेश १ का १४ जिल्लामध्ये पनि सबै भन्दा बढी तीन जिल्लामा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ। सुगम जिल्लाको रूपमा मानिएको सुनसरी, मोरङ, र झापामा अत्यधिक दुर्घटना हुने गरेको हो।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिना ‘प्रदेश नं. १ का अन्य जिल्लाको तुलनामा सुनसरी, मोरङ र झापामा बढी दुर्घटना हुने गरेको र यसको प्रमुख कारण भनेको सवारी चाप, साँघुरो सडक र मापसे गरी सवारी चलाउँनुनै रहेको बताउँछन् ।

ट्राफिकको काम राजश्व सङ्कलन गर्ने मात्रै

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखी चालू आर्थिक वर्षको पौष मसान्त सम्म १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय र यस मातहतका १४ जिल्लामा रहेका विभिन्न ट्राफिक प्रहरी पोस्टहरूले ५५ करोड ९० लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको देखिन्छ।

तर सोही अवधिमा प्रदेश १ का विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या १४ सय ४ जना छन् । ट्राफिक प्रहरीको मुख्य काम राजश्व सङ्कलन गरेर हरेक वर्ष राजश्व वृद्धि गर्ने हो या दुर्घटना न्यूनीकरण गर्ने ? यो पनि एउटा प्रश्न जटिल रूपमा तेर्सिएको छ। तर, यसतर्फ सम्बन्धित पक्षले गहिरो अध्ययन गरेको भने देखिँदैन । जसका कारण सवारी दुर्घटना र मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा असर परिरहेको छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले उपलब्ध गराएको यो तथ्याङ्क हेर्नुस्

आर्थिक वर्ष      कारबाही      राजश्व(रुपैयाँमा)      दुर्घटना सङ्ख्या    मृत्यु   गम्भीर    घाइते     सामान्य घाइते
०७५/०७६     २५९४७७         १६७५९८५००     १२९८                     ३७३        ९३४                 १३९२
०७६/०७७      २२४९१०         १४५७४१५००      १३२२                     ३३२        ७९१                 १४०९
०७७/०७८     २५४३९४         १५९७११०००       ३१३१                     ४४४       १०८३                ३७९३
चालु.आ. व.   १३१५७६        ८५९६४५००       १९१३                     २५७        ५९५                 २७५०