धरान : धरान रङ्गशालामा जारी तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिता लिग चरणको खेलमा शनिवार धरान १३ सँग ८-२ गोलको फराकिलो अन्तरमा धरान ५ पराजित भएको छ ।

खेलमा धरान १३ का पाँच जनाले पालैपालो १/१ गोल गरे भने सुशान्त लोहरुङले २ गोल गरे । १ गोल गर्नेहरू हृदय मगर, अविनाश राई, निशान श्रेष्ठ, मिलन लिम्बु, निकोलश राई, सुमन माझी थिए ।

खेलको म्यान अफ दि म्याच धरान १३ का दोर्जे तामाङ घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

निर्धारित ८० मिनेटको खेल अवधिमा धरान ५ का आङछोहाङ लिम्बुले १ गोल, तिल विक्रम लावती १ गोल गरे ।

खेलमा धरान ५ का आमन्त्रित खेलाडी सुवोत्र शाहीले खेलको नियम उल्लङ्घन गर्दै रेफ्रीलाई अपशब्द प्रयोग गरेकाले खेलको ५० औँ रेड कार्ड दिइएको थियो । उनले अर्को खेल खेल्न नपाउने आयोजकले जनाएको छ । 

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिम बिच लिग चरणका खेल चलिरहेको हो ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ ।

सुवास राई स्मृति सुपर-८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७ ले प्रतिस्पर्धा गर्दैछन ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको भोली आइतबार हुने खेल धरान ६ र धरान १८ बिच हुनेछ ।