विराटनगर : नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य शेखर कोइरालाले अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत नआउनले भएकोले स्थिर सरकार नबन्ने बताएका छन् ।

स्थिर सरकार नबन्दा सरकारी नीति अस्थिर बन्ने त्यसको प्रत्यक्ष प्रभावले मुलुकको विकासमा अवरोध पुराउने उनको कथन छ ।

मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत नआउँदा सरकार बनाउने र गिराउने खेल चलिरहन्छ । जसले मुलुकको विकासमा अवरोध पुग्छ ।’

सरकार फेरिए पिच्छे नीति फेरिने सरकारले आफ्नो अनुकूल नीति बनाउँदा समस्या आउने भएकाले विकासका कुरामा अवरोध पुग्ने कोइरालाको भनाई छ । उनले अन्य देशमा सरकार परिवर्तन भएपनि नीति भने नफेरिने बताए ।

देशको विकासका लागि संविधान संशोधन गर्न काँग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने कोइरालाले बताए । काँग्रेस र एमाले मिलेकै कारण संविधानसभाबाट संविधान जारी भएको बताउँदै प्रधानमन्त्री को बन्छ भन्ने कुरालाई प्रमुखता नदिई दुई दल मिल्नु पर्नेमा जोड दिए ।

उनले मुलुक आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक र सांस्कृतिक रूपमा कमजोर बन्दै गएको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, मोरङ काँग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङ-६ अध्यक्ष मकर बुढाथोकी लगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

स्थानीय योगमाया कार्की र सोहार्द कार्कीले निःशुल्क रूपमा उपलब्ध गराएको ८ कट्ठा २ धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । ११ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले जानकारी दिए ।

भवन निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।