धरान : रङ्गशालामा जारी हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको प्रतियोगितामा धरान भेट्रान क्लब टाइब्रेकरबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज आइतबार भएको क्वाटर फाइनल खेलमा लखनपुर भेट्रान क्लबलाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै धरान भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ६० मिनेटको खेलमा धरान भेट्रान र लखनपुर भेट्रान बिच कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा धरान भेट्रानका शिव राई, सचिन्द्र धिमाल, अर्जुन राई, सुमन केसी, भुपेन लिम्बुको प्रहार गोल भएको थियो । लखनपुर भेट्रानका देउमान लिम्बु, पेमा तामाङ, सुवास आङथापोले गोल गरे ।

लखनपुर भेट्रानका तर्फबाट अर्जुन तुम्बापोको प्रहार आउट भएको थियो ।

खेलको म्यान अफ दि म्याच धरान भेट्रानका अशोक लिम्बु घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको भोली सोमबार हुने खेल हाम्रो इटहरी भेट्रान र सिम्रा भेट्रान ढल्केबर बिच हुनेछ ।